उपचारात्मक शिक्षण पद्धतिको महत्व «

उपचारात्मक शिक्षण पद्धतिको महत्व

 
शिक्षण सिकाइपश्चात् सहजै सिकाइमा पछाडि पर्नुको प्रमुख कारणमा बालबालिकाको जन्मजात सिकाइ कमजोरी नभएर परिस्थितिजन्य पनि हुने गर्छ ।

शिक्षकले कक्षाकोठाको सिकाइमा धेरै विद्यार्थीले सिक्ने र पढ्ने शैलीलाई सहजीकरण गर्नुपर्छ । तर, विशिष्ट समस्या भएका विद्यार्थी यस्तो शिक्षण शैलीले मात्र निश्चित विषय वा पाठ सिक्न नसक्ने अवस्थाका हुन्छन् ।

सामान्यतया विद्यालयमा भर्ना भएका अधिकांश विद्यार्थी प्रचलित शिक्षण सिकाइको शैलीमा सहज रूपमा सिक्न सक्ने हुन्छन् । उनीहरूमध्ये धेरै विद्यार्थीमा सिकाइ समस्याहरू रहेको हुँदैन । यस्ता विद्यार्थीहरूलाई उनीहरूले थाहा नपाएका र नसिकेका सीपहरू शिक्षण गर्नुपर्दा पनि नियमित शिक्षण सिकाइकै प्रक्रियाबाट शिक्षण गर्न सकिन्छ । तर, कतिपय विद्यार्थी कुनै एक वा धेरै विषयमा नियमित शैलीबाट गरिएको शिक्षण अभ्यासबाट सिक्न नसक्ने सिकाइ समस्या भएका पनि हुन्छन् । शिक्षण सिकाइपश्चात् सहजै सिकाइमा पछाडि पर्नुको प्रमुख कारणमा बालबालिकाको जन्मजात सिकाइ कमजोरी नभएर परिस्थितिजन्य पनि हुने गर्छ ।
यस्ता खालका सिकाइ समस्या विद्यार्थीहरूमा जन्मैदेखि नआएर तत्कालीन पारिवारिक, सामाजिक, आर्थिक सांस्कृतिक एवम् भौगोलिक परिवेश तथा भावनात्मक अवस्था र शिक्षण सिकाइ शैलीमा देखिएका विविधताका कारण हुने गर्छन् । शिक्षकले कक्षाकोठाको सिकाइमा धेरै विद्यार्थीले सिक्ने र पढ्ने शैलीलाई सहजीकरण गर्नुपर्छ । तर, विशिष्ट समस्या भएका विद्यार्थी यस्तो शिक्षण शैलीले मात्र निश्चित विषय वा पाठ सिक्न नसक्ने अवस्थाका हुन्छन् । त्यसैले यस्ता विशिष्ट सिकाइ समस्या भएको अवस्थामा ती विद्यार्थीहरूलाई कक्षाकोठामा अन्य विद्यार्थीहरूसँग समायोजन गर्न जरुरी हुन्छ अन्यथा त्यस्ता विद्यार्थीहरूमा विद्यालय छाड्ने तथा शिक्षक र अन्य साथीहरूप्रति नकारात्मक धारणा बनाउने, विद्यालयप्रति आकर्षित नहुने सम्बन्धित विषयमा असफल हुने जस्ता समस्या देखा पर्न थाल्छन् ।
सिकाइ प्रक्रियामा यसरी पछाडि पर्न गएका विद्यार्थीहरूलाई लक्षित गरी विशिष्ट शैली तथा विधिको प्रयोगबाट उनीहरूमा गरिने शिक्षण सिकाइ नै उपचारात्मक शिक्षण सिकाइ हो । उपचारात्मक शिक्षणको ऐतिहासिक पृष्ठभूमि उत्तर अमेरिकाको स्वतन्त्रता आन्दोलनसँग पनि जोडिएको छ । सत्रौँ शताब्दीको सुरुवातमा उच्च शिक्षा केन्द्रहरू आमनागरिकका लागि खुला गरिए तापनि सामान्य परिवारमा जन्मिएका युवाहरूले उत्कृष्टता हासिल गर्न सकेनन् र ई.सं. १६३० देखि उपचारात्मक शिक्षाको अभियान सुरु गरिएको थियो, जुन अहिले पनि त्यत्तिकै महŒवपूर्ण रूपमा रहेको छ । यो पद्धति शैक्षिक न्याय स्थापनाका लागि एक महŒवपूर्ण कार्यक्रम सावित भएको छ । विशेषतः गरिबी, अभाव, वञ्चितीकरण, विभेद र कमजोर शैक्षिक एवं पारिवारिक पृष्ठभूमि भएका विद्यार्थी र सम्पन्न तथा सुविधाप्राप्त सूचना तथा सीपमा पहुँच भएका विद्यार्थीमाझ सिकाइने स्तरमा आउन सक्ने फरकपनालाई सम्बोधन गर्न उपचारात्मक शिक्षण सिकाइ बढी प्रभावकारी भएको मानिन्छ । नेपालको सन्दर्भमा उपचारात्मक शिक्षण सिकाइको आवश्यकता र अभ्यास अनौपचारिक रूपमा निकै लामो समयदेखि हुँदै आएको पाइन्छ । विद्यार्थीहरूलाई विशेष ट्युसन तथा कोचिङ कक्षाहरू सञ्चालन गर्ने, नजानेका विषयमा विद्यार्थीहरूले शिक्षकसँग थप वैकल्पिक समयमा सिक्ने वा कमजोर विद्यार्थीहरूलाई थप उपायहरूको अवलम्बन गर्न प्रेरित गर्ने अभ्यास नेपाली समाजमा पुरानै चलन हो, तर उपचारात्मक शिक्षण सिकाइको व्यवस्थित र प्रभावकारी रूपमा नियमित शिक्षण सिकाइ कार्यक्रमको अङ्गका रूपमा अभ्यास हुन थालेको करिब आधा दशक मात्र भएको छ ।
उपचारात्मक शिक्षण सिकाइलाई विद्यालय क्षेत्र सुधार कार्यक्रममा स्पष्ट रूपमा उल्लेख गरिए तापनि यसको अभ्यास भने प्रभावकारी रूपमा हुन सकिरहेको छैन । विद्यालय क्षेत्र सुधार कार्यक्रमले उपचारात्मक शिक्षणलाई विद्यार्थीहरूमाझ समान अवसर प्रदान गर्न, प्रगतिदर बढाउन तथा शिक्षाको गुणस्तरीयता कायम गर्न उपचारात्मक शिक्षण सिकाइलाई एक महŒवपूर्ण कार्यक्रमका रूपमा स्वीकार गरेको छ ।
उपचारात्मक शिक्षण सिकाइ विद्यालय शिक्षाको सन्दर्भमा विश्वव्यापी रूपमा नै निकै सान्दर्भिक मानिएको छ । यस प्रक्रियाको सन्दर्भ र महŒव हाम्रो जस्तो देशका विद्यार्थी र शैक्षिक प्रक्रियामा अझ महŒवपूर्ण र सान्दर्भिक हुन जान्छ । परम्परागत सांस्कृतिक मान्यताका कारण अधिकांश बालबालिका महिनावारी भएको अवस्थामा मासिक रूपमा ३ देखि ५ दिनसम्म विद्यालय जाँदैनन् र गयल हुन्छन् । त्यस्तो अवस्थामा उनीहरूको छुटेको पढाइलाई कसरी समेटेर अघि बढ्ने भन्ने समस्याको समाधान उपचारात्मक शिक्षण सिकाइले दिन्छ ।
विद्यालय छाड्ने बालबालिकाहरूमा विद्यालय छाड्ने सोच÷विचार गर्नुको मुख्य कारण लगातार अनुत्तीर्ण हुने र पढाएको कुरा बुझ्न नसक्नु हो । यसलाई रोक्न कम्तीमा पनि उत्तीर्ण हुने वातावरणको निर्माण गर्न लाग्नुपर्छ । विद्यालयमा भएका जान्ने र नजान्ने अनि अनुत्तीर्ण भइरहने विद्यार्थीहरूमाझ शिक्षकको समान सकारात्मक दृष्टिकोण कसरी जन्माउन सकिन्छ र उनीहरूलाई विद्यालय शिक्षामा कसरी अगाडि बढाउन सकिन्छ भन्ने विद्यालय शिक्षाको महŒवपूर्ण सवाललाई उपचारात्मक शिक्षण सिकाइले सम्बोधन गर्न सक्ने कुरामा दुईमत हुन सक्दैन । उपचारात्मक शिक्षण सिकाइ शैक्षिक न्याय स्थापित गर्ने एक विधि पनि हो ।
तर, यसले शिक्षा क्षेत्रका सबै समस्यालाई सम्बोधन गर्न भने सक्दैन । यस अभ्यासले विद्यार्थीहरूको सिकाइ अवस्थामा र त्यससँग जोडिएका तत्काल हस्तक्षेप गर्न सकिने सन्दर्भहरूमात्र समेट्न सक्छ । तर शिक्षाक्षेत्रमा देखिएका गरिबी, भौतिक संरचना, पाठ्यपुस्तक अभाव, जातीय एवम् साम्प्रदायिक विभेद, राजनीतिकरण जस्ता समस्यालाई यो अभ्यासले समेट्दैन । उपचारात्मक शिक्षण सिकाइका सहभागी विद्यार्थीहरू न त कमजोर विद्यार्थी हुन्, न त जीवनभर अनुत्तीर्ण विद्यार्थीहरू हुन् । उनीहरू कुनै एक विषय, पाठ वा समस्यामा आफ्नो विशिष्ट सिकाइ शैलीका कारण वा अन्य व्यावहारिक कारणले सिक्न नसकेका विद्यार्थी मात्र हुन् । साथै उपचारात्मक शिक्षण सिकाइ थप शिक्षण पनि होइन, यो त केवल सहयोगी शिक्षण मात्र हो । त्यसैले कक्षागत सिकाइ दोहो-याउने काम यस प्रक्रियामा हुँदैन, बरु फरक शैलीमा र सरलीकृत ढङ्गले निश्चित सिकाइ कठिनाइलाई मात्र सम्बोधन गरिन्छ ।
यस्तो कक्षामा महँगा र अत्याधुनिक शिक्षण सामग्रीभन्दा पनि स्थानीय परिवेशमा उपलब्ध हुने सामग्रीहरूको सिर्जनात्मक प्रयोग तथा स्थानीय घटना, परिवेशका उदाहरण र सन्दर्भ उपचारात्मक शिक्षण सिकाइका लागि बढी प्रभावकारी हुन्छन् । सम्बन्धित शिक्षकले स्थानीय परिवेश सुहाउँदो विभिन्न विधिहरूको प्रयोग गरी सिकाउन सक्छन् । नयाँ एवम् सिर्जनात्मक अभ्यासलाई उपचारात्मक शिक्षण सिकाइको अभिन्न अङ्गका रूपमा लिइन्छ । यो शिक्षण विधि कक्षा शिक्षकको कमजोरी र असफलताका कारणले मात्र आवश्यक पर्ने होइन । असफल र कमजोर शिक्षकले त नियमित कक्षा शिक्षण नै पनि गर्न नपाउनुपर्ने हो । उपचारात्मक शिक्षण सिर्जनात्मक, सहयोगी र सक्रिय शिक्षकको शिक्षण कार्ययोजनाअन्तर्गतको कार्यक्रम हो । सफल र सक्षम शिक्षकले नै उपचारात्मक शिक्षण कार्यक्रमको माग गर्छन्, किनभने ऊ आफ्ना कक्षाका सबै विद्यार्थी सिकाइ उपलब्धिमा सफल हुन् भन्ने चाहना राख्छ । शिक्षण सिकाइलाई गुणस्तरीय र परिणामोन्मुख बनाउन निरन्तर मूल्याङ्कन प्रणाली र उपचारात्मक शिक्षण सिकाइलाई सँगसँगै लैजानुपर्ने पक्षमा जोड दिइएको छ ।
यसै क्रममा विद्यार्थी गुणीय चक्र (एस.क्यू.सी.) को अभ्यास पनि नेपालमा विगत केही वर्षदेखि भएको पाइन्छ । यो अभ्यास अहिले पनि केही विद्यालयहरूमा सञ्चालित छ । विद्यार्थी गुणीय चक्र (एस.क्यू.सी.) उपचारात्मक शिक्षण सिकाइमा प्रयोग गरिएका सफल विधिहरूमध्येको एक विधि हो । यो पद्धतिको सुरुवात जापानका औद्योगिक क्षेत्रहरूमा मजदुर आफैँले आफ्नो कामप्रति कसरी जिम्मेवार बन्छन् र उत्कृष्ट कार्य सम्पादन गर्न सक्छन् भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा भएको मानिन्छ । यो पद्धतिले सम्बन्धित व्यत्ति स्वयम्लाई आफ्नो समस्या तथा कठिनाइ स्तरप्रति सचेत र जानकार हुने, समस्या समाधानका उपायहरू पहिचान गर्ने तथा आत्मविश्वास, उच्च लगत, इमान्दारिताका साथ समूहमा रहेर कार्य गर्ने प्रवृत्तिको विकास गर्छ । यो पद्धतिको प्रयोगले विद्यार्थीको शैक्षिक उन्नतिका साथै व्यक्तित्व विकासमा पनि सहयोग पु-याउँछ ।

प्रतिक्रिया दिनुहोस्