कोरोनाको निहुँमा कालोबजारी «

कोरोनाको निहुँमा कालोबजारी

 
कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा पर्ने दीर्घकालीन असर न्यूनीकरणका लागि सरकारले अहिलेदेखि नै सजगता, सतर्कता र संवेदनशीलता अपनाउनु आवश्यक छ ।

चीनबाट सुरु भएको कोरोना भाइरस (कोविद–१९) को संक्रमणले अहिले विश्वभरि त्रास फैलिएको छ । विश्व स्वास्थ्य संगठनले केही मुलुकलाई उच्च जोखिमको सूचीमा राखेपछि ती मुलुकमा झन् बढी त्रास फैलिएको छ । नेपाल पनि उक्त सूचीमा परेको र चीनबाट नजिकको छिमेकी मुलुकसमेत भएकाले यहाँ पनि कोरोना भाइरसको संक्रमण फैलिने त्रासले मानिसहरू निकै त्रसित भइरहेका छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म (मार्च ५) ९५ हजार २ सय ६५ जना प्रभावित भएका छन् भने ३ हजार २८१ जनाको मृत्यु भइसकेको छ । चीनमा मात्रै ८० हजारभन्दा बढी उक्त कोराना भाइरसबाट संक्रमित भएका छन् भने ३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
नेपालमा पनि केही व्यक्तिलाई कोरोना भाइरस संक्रमणको आशंका गरिए पनि त्यस्तो भाइरस एक जनामा मात्रै भेटिएको पुष्टि भएको छ । संक्रमति विरामी उपचारपछि निको भई घर फर्किसकेका छन् । कोरोना भाइरसको संक्रमणको त्रासले नेपालीहरू निकै त्रसित छन् । विश्व स्वास्थ्य संगठनले नै उच्च जोखिम क्षेत्रको सूचीमा राखेकाले कुनै पनि दिन कोरोना भाइरसको संक्रमणले महामारीको रूप लिनसक्ने भयले मानिसहरू भयभीत छन् ।
कोरोना भाइरसको संक्रमण हुन नदिन र यसबाट बच्नका लागि विभिन्न उपाय अवलम्बन गर्न सम्बन्धित क्षेत्रका विज्ञ तथा सञ्चारमाध्यमहरूले अपिल गरिरहेका छन् । यस्तो अपिलसँगसँगै यस्तो अवस्थामा आावश्यक पर्ने मास्क र स्यानिटाइजरजस्ता वस्तुहरूको अभाव बजारमा देखिन थालिसकेको छ । कोरोना भाइरस संक्रमणले भन्दा पनि त्यसको मनोवैज्ञानिक त्रासले मानिसहरू बढी प्रभावित भइरहेका छन् । केही सामाजिक सञ्जालले पनि कोरोना भाइरसका बारेमा अफवाह नै फैलाउन थालेकाले पनि मानिसहरू बढी मनोवैज्ञानिक त्रासमा परेका छन् । यही त्रासले गर्दा मानिसहरूको दैनिक जीवनशैली नै प्रभावित हुन थालेको छ । मानिसहरूको दैनिक कार्य प्रभावित हुन थालेसँगै यसको आर्थिक तथा सामाजिक असरहरू पनि देखिन थालेका छन् ।
कुनै वस्तुको अभाव हुनासाथ त्यस्तो वस्तु थप सञ्चित गर्न थाल्नु नेपालीको स्वभाव नै बनेको छ । अहिले बजारमा मास्क र स्यानिटाइजरको माग बढेसँगै यसको अभाव पनि देखिएको छ । बजारमा मास्क र स्यानिटाइजरको माग बढेको हल्ला फैलिनासाथ यसको थप सञ्चित गर्न मानिसहरू हतारिएका देखिन्छन् । मानिसको यही स्वभावको फाइदा व्यवसायी तथा व्यापारीहरूले लिने गरेका छन् । मानिसहरूमा परेको मनोवैज्ञानिक त्रास र अभावको बेलामा थप सञ्चित गर्ने मानिसको स्वभावलाई बुझेका चलाख व्यवसायी र व्यापारीहरूले जम्माखोरी र कालोबजारी गरेर अतिरिक्त आम्दानी गर्ने अवसर छोप्छन् । अभावकै बेलामा कालोबजारी गरी बढी नाफा कमाउनु नेपाली व्यवसायी र व्यापारीहरूको प्रवृत्ति नै बनेको छ । व्यवसायी तथा व्यापारीहरूले कोरोना भाइरसको निहुँमा जम्माखोरी र कालोबजारी गर्न सुरु गरिसकेका छन् । परिणामतः बजारमा मास्क र स्यानिटाइजरको अभाव हुन थालिसकेको छ । सरकारी अनुगमनकर्ताले केही विक्रेतालाई कारबाही समेत गरेका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन र यसबाट ठूलो मानवीय क्षति हुन नदिनका लागि केही समय मानिसहरूको भीडभाड हुने सार्वजनिक स्थलहरू जस्तै बजार, स्कुल, कलेज, कार्यालय, सिनेमाघर आदि बन्द
(लकडाउन) गर्नुपर्ने सार्वजनिक अपिलले गर्दा अति आवश्यक र दैनिक आधारभूत वस्तुहरू सञ्चित गर्ने मानसिकतामा मानिसहरू पुगिसकेका छन् । मानिसहरूले नुन–तेल, दाल–चामल, औषधि, इन्धन–ग्यासजस्ता अति आवश्यक वस्तु सञ्चित गर्न थालेसँगै बजारमा क्रमशः यस्ता वस्तुहरूको अभाव पनि देखिन थालिसकेको छ । निश्चित छ, अबको केही दिनमा बजारमा खाद्यान्नलगायतका अति आवश्यक वस्तुहरूको चर्को अभाव हुनेछ । सरकारले यस्ता वस्तुहरूको पर्याप्त मौज्दात रहेको र बजारमा अभाव नहुने भनिरहँदा पनि उपभोक्ताहरू निश्चिन्त बन्न सकेका छैनन् । भोलिका दिनमा त्यस्ता वस्तु सहजै उपलब्ध नहुने भयले अहिले नै सञ्चित गर्नतिर लागेसँगै जम्माखोर र कालोबजारीहरू सलबलाउन थालिसकेका छन् ।
बजारमा वस्तुको अभाव हुनु बढ्दो मागभन्दा पनि जम्माखोर र कालोबजारीकै परिणाम हो भनेर सहजै बुझ्न सकिन्छ । यस्तो अवस्थामा सरकारी अनुगमनको प्रभावकारिता अपेक्षित हुन्छ । तर, बजार अनुगमनमा सरकारको उपस्थिति आमउपभोक्ताले महसुस गर्न सकेका छैनन् । बजारमा वस्तुको अभाव नहुँदै र जम्माखोर र कालोबजारीहरूले वस्तुको कृत्रिम अभाव सिर्जना नगर्दै प्रभावकारी अनुगमन गरेर वस्तु तथा सेवाको सहज आपूर्ति गर्ने र आमउपभोक्ताले सहजै प्राप्त गर्नसक्ने वातावरण सिर्जनामा सरकार प्रतिबद्ध नहुँदा आमउपभोक्ताले समस्या भोग्नैपर्ने अवस्था देखिएको छ ।
हल्लैहल्लाको पछि लाग्ने नेपालीको बानीले गर्दा हल्लाले नै ठूलो मनोवैज्ञानिक असर पार्दछ । त्यसैले हल्लैहल्लाको भरमा जम्माखोर, नाफाखोर र कालोबजारीहरूले रातारात बजारबाट मालवस्तु गायब पार्छन् । हल्लाकै भरमा अति आवश्यक वस्तुहरू सञ्चित गरिराख्न खोज्ने आमउपभोक्ताको बानी र त्यही बानीलाई परख गर्नसक्ने चलाख व्यवसायी र व्यापारीहरूको खुबीले गर्दा उपभोक्ताले महँगीको मार खेप्नुपर्ने र व्यवसायी तथा व्यापारीले अनैतिक नाफा कमाउने अवसरको पुनरावृत्ति मुलुकमा आइपर्ने हरेक असहज परिस्थिति हुँदै आइरहेको छ ।
अभावकै बेला अनुगमनकर्ता निकायको स्वार्थी मनोवृत्तिले गर्दा अनुगमनकार्यसमेत प्रभावित हुन सकेको पाइँदैन । व्यवसायी तथा व्यापारीहरूको मिलिभगतबाट सरकारको नियामक निकायसमेत प्रभावित पार्ने र नियमन तथा अनुगमनका क्रममा नियमन तथा अनुगमनकर्ताहरू त्यस्ता व्यवसायी र व्यापारीहरूको प्रलोभनमा सजिलै फस्ने प्रवृत्तिले गर्दा आमउपभोक्ताले वस्तुको अभावसँगसँगै चरम महँगीको सामना गर्नुपर्ने अवस्था छ । व्यवसायी तथा व्यापारीहरूको प्रलोभनबाट केही सरकारी पदाधिकारीले व्यक्तिगत आर्थिक लाभ हासिल गर्ने कारणबाट आमउपभोक्ताले बजारमा कृक्रिम अभाव र महँगीको नाउँमा थप आर्थिक भार बहन गर्नुपर्ने अवस्था हाम्रो देशको नियमित आकस्मिकताजस्तै भएको छ । सरकारका जिम्मेवार पदाधिकारी, जनप्रतिनिधि र उपभोक्ता हक र हितको वकालत गर्दै हिँड्ने अभियन्ताहरूसमेत व्यक्तिगत स्वार्थले लिप्त भइदिने प्रवृत्तिले आमउपभोक्ताले वस्तुको अभावसँगसँगै थप मानसिक तनाव र हैरानी बेहोर्नुपर्ने र आर्थिक भारसमेत बहन गर्नुपर्ने अवस्था दोहोरिंदै आएको छ । अब यो कोरोना भाइरसको निहुँमा पनि यही प्रवृत्ति दोहोरिने निश्चित छ ।
कोरोना भाइरसकै कारण नेपाली बजारमा असामान्य अवस्था आउने सम्भावना प्रबल बनिसकेको छ । आज मास्क र स्यानिटाइजरबाट सुरु भएको कृत्रिम अभाव र कालोबजारीको क्रम भोलि खाद्यान्नलगायतका अति आवश्यक वस्तुमा पनि देखिनेछ । बजारमा असामान्य अवस्था आउनसक्ने सम्भावनाप्रति गम्भीर भएर सरकारले उत्पादन, आयात र आपूर्ति व्यवस्थापनतर्फ सजगता, सतर्कता, सक्रियता र संवेदनशीलता अपनाउनुपर्ने अपेक्षा आमउपभोक्ताको हो । तर, सरकारको सजगता, सतर्कता, सक्रियता र संवेदनशीलता अझै देखिएको छैन । केवल बजारमा आपूर्ति व्यवस्था सहज छ र अभावको अवस्था आउन दिइने छैन भनेर सरकारले आमउपभोक्तालाई विश्वस्त तुल्याउन खोजिरहेको छ । तर, उपभोक्ता विश्वस्त र निश्चिन्त हुन सकेका छैनन् । जम्माखोर, नाफाखोर र कालोबजारीहरू सक्रिय भइसक्दा पनि सरकार सक्रिय नहुनुले उपभोक्ताले समस्या झेल्नुपर्ने निश्चित देखिन्छ । ‘सामान नथुपार्नु’ र ‘कारबाही गर्छु’ भन्ने सरकार जिम्मेवारमन्त्रीहरूको अभिव्यक्तिले मात्रै सरकारको जिम्मेवारी पूरा भएको ठान्नु भ्रम हो, गलत हो । प्रभावकारी बजार अनुगमन गरी वस्तुको आपूर्तिलाई सहज र सरल बनाउनु अहिलेको मुख्य आवश्यकता हो । गृह मन्त्रालयले कालोबजारीविरुद्ध कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन त दिएको छ । अब त्यो कत्तिको प्रभावकारी कार्यान्वयन हुन्छ, त्यो भने हेर्न बाँकी नै छ ।
कोरोनाको कहरले मुलुकको अर्थतन्त्रमै असर पार्ने एशियाली विकास बैंकले जनाइसकेको छ । आन्तरिक माग, व्यापार तथा उत्पादन घट्ने, आपूर्तिमा अवरोध, पर्यटन गतिविधिमा कमी, स्वास्थ्यमा असरलगायतका कारण विश्व अर्थतन्त्रमा तीन खर्ब ४७ अर्ब अमेरिकी डलरसम्म क्षति हुनसक्ने आँकलन एसियाली विकास बैंक (एडीबी) ले गरेको छ । यो क्षति विश्वअर्थतन्त्रको ०.४ प्रतिशत हो ।
कोरोनाको असरले नेपालको अर्थतन्त्र पनि नराम्ररी प्रभावित हुने एडीबीले जनाएको छ । एडीबीले कोरोना भाइरसको असरस्वरूप नेपालको अर्थतन्त्रमा करिब ४ अर्ब रुपियाँसम्मको क्षति हुन सक्ने आकलन गरेको छ । कोरोनाकै कारण नेपालको आर्थिक वृद्धिदरको लक्ष्य प्रभावित हुने विश्लेषण नेपाली अर्थविदहरूले गरिसकेका छन् । नेपालमा कोरोना भाइरसको असर पर्यटन क्षेत्रमा सबैभन्दा बढी पर्ने एडीबीले उल्लेख गरेको छ । कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा कुल गार्हस्थ्य उत्पादनको १.७५ प्रतिशत क्षति हुने आँकलन गरिएको छ । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्ने पर्यटन तथा वैदशिक रोजगारमा कोरोनाको गम्भीर असर देखिन थालि नै सकेको छ । कोरोनाकै कारण नेपालको पर्यटन क्षेत्र तितरबितरको अवस्थामा पुगिसकेको छ । पर्यटकमार्फत कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सरकारले घोषित नेपाल भ्रमण वर्षसमेत स्थगित गरिसकेको छ । पर्यटक आगमन ठप्पप्रायः भइसकेको छ भने ‘हामी बाँचे मात्रै पर्यटक आउँछन्’ भन्दै पर्यटक आगमनमा रोक नै लगाउन जनस्तरबाटै आवाज पनि उठिसकेको छ । यस्तो जटिल अवस्थामा पर्यटक नआएकै बेस । तर, यसले नेपालको पर्यटन क्षेत्रमा पार्ने गम्भीर असर भने सोचनीय छ ।
कोरोना भाइरसकै कारण नेपालको वैदेशिक रोजगारी पनि प्रभावित बनिसकेको छ । कोरोना भाइरसका कारण नेपालबाट वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारहरूको संख्या ७५ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताएका छन् । यसको असर आगामी दिनमा नेपालको विप्रेषण आप्रवाहमा अवश्य पर्नेछ । विप्रेषणले नै धानेको नेपाली अर्थतन्त्रमा विप्रेषण आप्रवाहमा कमी आउनासाथ यहाँको अर्थतन्त्रमा पनि संकट देखिन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।
कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा पर्ने दीर्घकालीन असर न्यूनीकरणका लागि सरकारले अहिलेदेखि नै सजगता, सतर्कता र संवेदनशीलता अपनाउनु आवश्यक छ । योभन्दा पहिले सम्भावित लकडाउनका कारण तत्काल हुनसक्ने वस्तुको बढ्दो मागका कारण हुन सक्ने र भइरहेको कृत्रिम अभाव र कालोबजारीलाई नियन्त्रण गरी आमउपभोक्तालाई राहत प्रदान गर्नु सरकारको मुख्य काम हो । उत्पादन, आयात र आपूर्ति व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन सरकार प्रयत्नशील रहनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्