कोरोना रोक्न गण्डकी प्रदेशले माग्यो १ अर्ब ३४ करोड «

कोरोना रोक्न गण्डकी प्रदेशले माग्यो १ अर्ब ३४ करोड

पोखरा – गण्डकी प्रदेश कोरोना भाइरसको उच्च जोखिममा रहेकोले त्यसको नियन्त्रण र रोकथामका लागि उच्च स्तरीय निर्देशक समिति तथा समन्वय समिति गठन भएको छ । प्रदेशको बिहिबार बसेको मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङको संयोजकत्समा २६ सदस्यीय समिति चयन गरेको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए ।
प्रदेशका ६ जना मन्त्री, पोखरा महानगरका प्रमुख, जिल्ला समन्वय समिति कास्कीका प्रमुख, प्रदेशका निती तथा योजना आयोगका उपाध्यक्ष, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव, चारै सुरक्षा निकायका प्रमुख, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पतालका निर्देशकहरु, नागरिक समाजका अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्ष, प्रदेश उद्योग बाणिज्य संघका अध्यक्ष, मुख्य न्यायाधिवक्ता लगायत सदस्य रहेका छन् ।
त्यसै गरी बैठले प्रदेशका मुख्य सचिवको संयोजकत्वमा १७ सदस्य प्रदेश स्तरिय समन्वय समिति समेत चयन गरेको छ । उक्त समितिको सदस्यमा ६ वटा मन्त्रालयका सचिव, कास्कीका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य निर्देशक, चार सुरक्षा निकाय प्रमुख सहितका रहेका छन् । उक्त समितिले प्रदेशमा कोरोना भाइरसको नियन्त्रण र रोकथामको लागि आवश्यक योजना सहितको सचेतना कार्यक्रम गर्ने भएको प्रवक्ता बस्नेतले जनाए ।
सरोकारवाला निकायसँग छलफल गरी केही दिनमा केही योजना ल्याउने तयारी गरिएको उनले बताए ।
प्रदेश सरकारले सरुवा रोग तथा संक्रमण फैलिन सक्ने रोगको उपचारको लागि अस्पताल निर्माण गर्न संघिय सरकारसँग एक अर्व ३४ करोडको प्रस्ताव सहितको बजेट पेश गर्ने बैठकले निर्णय गरेको प्रवक्ता बस्नेतले बताए । आइसोलेसन रुमको लागि एक सय शैया र क्वारेनटाइन २ सय शैयाको अस्पताल निर्माण गर्न उक्त प्रस्ताव पेश गरिएको उनले जनाए ।
पर्यटकीय नगरी पोखरामा सडक मार्ग हुँदै भित्रिने विदेशी पर्यटकहरुको लागि हालसम्म उनीहरुको स्वास्थ्य परिक्षण गर्ने कुनै हेल्थ डेस्क स्थापना गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्