कालोबजारी छैन : अग्रवाल «

कालोबजारी छैन : अग्रवाल

व्यवासायीले अत्यावश्यक वस्तुको माग र भण्डारण भएको हुनसक्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले कोरोनाको आतंक सिर्जना भएपछि नेपालमा अत्यावश्यक वस्तुको माग र भण्डारण भएको हुनसक्ने उनको भनाइ छ । उनले भने, “तर, यसबारेमा अस्पष्ट र भ्रामक रूपमा प्रचार नगरौं । एक्कासि माग बढेपछि अभाव देखिनु स्वाभाविक हो ।” अग्रवालले अहिलेसम्म अत्यावश्यक वस्तुमा कालोबजारी नभएको जिकिर गरे । उनले भने, “हामीले पनि मनिटरिङ गरिरहेका छौं ।”
उनले विश्वभरि ७७ देशमा कोरोनाको प्रभाव देखिएको र नेपाललाई पनि विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेकोले यसबारेमा अलिक बढी आतंक सिर्जना भएको सुनाए । उनले भने, “अहिलेसम्म यसबाट मर्नेको संख्या ३२ सय नाघेको छ । चीनबाहेक ८० प्रतिशत यसको संक्रमण कोरिया, इरान र इटालीमा देखिएको छ ।”
उनले व्यापारी तथा व्यवसायी साथीहरूलाई समेत आफूहरूले समस्या समाधान गर्नका लागि अपिल गरिसकेको पनि जनाए । उनले कोरोनाको कारण विश्वव्यापी रूपमै अर्थतन्त्रमा नकारात्मक प्रभाव परेकाले नेपालमा पनि यसको प्रभाव पर्नु स्वाभाविक भएको स्पष्ट पारे ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष तथा नेपाल सरकारको उपभोक्ता संरक्षण परिषद्का सदस्य प्रेमलाल महर्जनले नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको सुनाउँदै यसबारेमा अनावश्यक डर, त्रास र भय नफैलाउन आग्रह गरेका छन् । उनले भने, “यसको डर, त्रास र आतंक सिर्जना गरेर अहिले कालोबजारीको थप आतंक मच्चाउने काम भएको छ । यो अत्यन्तै दुःखद् कुरा हो ।’
उनले अहिले साधारण मास्को ३० देखि ४० रुपैयाँ पर्न थालेको र अत्यावश्यक वस्तुमा कालोबजारी गर्नेलाई कुनै पनि हालतमा छोड्न नहुने तर्क गरे । उनले भने, “त्यस्तो कालोबजारी गर्नेलाई कारबाही गर्नुपर्छ ।” उनले तत्काल प्रभावकारी रूपमा बजार अनुगमन गर्नसमेत सरकारलाई सुझाव दिए । यस्तो अवस्थामा कालोबजारी गर्नु भनेको आपत्तिजनक मात्रै नभएर ठूलो अपराध भएको पनि उनले सुनाए । उनले यदि कसैले कालोबजारी गरेको पाए कालोबजारी ऐन–२०३० अन्तर्गत कारबाही गर्नुपर्ने पनि बताए ।
उनले कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणका लागि एकीकृत प्रयास र अनुगमन गर्नुपर्ने पनि सुझाव दिए । उनले भने, “कोरोनाको बारेमा अहिले जसरी सामाजिक सञ्जामार्फत गलत प्रचार भइरहेको छ । यसरी भाइरल गर्ने काम नगरौं ।” उनले बजार अनुगमन व्यापक हुनुपर्ने माग गरे । वाणिज्य विभागसँग अनुगमनका लागि जम्मा १२ जना कर्मचारी रहेको सुनाउँदै उक्त जनशक्ति अत्यन्तै कम भएको पनि महर्जनले औंल्याए । उनले भने, “म सरकारलाई यहीँबाट जनशक्ति थप्नको लागि आग्रह गर्न चाहन्छु ।”

 

प्रतिक्रिया दिनुहोस्