बजारमा कृत्रिम अभाव, सरकार भन्छः पर्याप्त स्टक छ «

बजारमा कृत्रिम अभाव, सरकार भन्छः पर्याप्त स्टक छ

कोरोना भाइरसको सन्त्रास बढ्न थालेपछि बजारमा अत्यावश्यकीय वस्तुको कृत्रिम अभाव हुन थालेको छ । छिमेकी मुलुक चीन हुँँदै विश्वका ८० मुलुकमा कोरोना भाइरस फैलिएसँगै बजारमा खाना पकाउने एलपी ग्यास, मास्क, सेनिटाइजरलगायतका अत्यावश्यकीय वस्तुको कृत्रिम अभाव हुन थालेको हो । बजारमा खपत बढेसँगै व्यवसायीले अभाव देखाएर बढी मूल्यमा बिक्री गर्ने गरेका हुन् ।
बजारमा अभाव हुने आशंकमा उपभोक्ताले सामान खरिद गर्न थालेका हुन् । बजारमा अभाव हुनसक्ने आंशकामा उपभोक्ताले चामल, ग्यास, दाल, तेल र नुन लगायतका अत्यावश्यक भन्डारणगरेर राख्न थालेका हुन् । व्यवसायीले अत्यावश्यक वस्तुको मूल्यसमेत बढाएर बिक्री गर्न थालेका छन् । उपभोक्ताले आवश्यकता भन्दा बढी खाद्यान्न स्टक गरेपछि सरकारले स्टक पर्याप्त रहेको भन्दै नआत्तिन उपभोक्तालाई आग्रह गरेको छ । अहिले बजारमा मास्क, सर्जिकल सामानको भने अभाव देखिएको छ । अभाव देखाएर व्यवसायीले महँगो मूल्यमा बिक्री गरिरहेका छन् ।
“उपभोक्तामा त्रास फैलिएकाले अभाव हुने आशंकामा उपभोक्ताले चाहिनेभन्दा बढी सामान खरिद गर्न थालेका छन्,”उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले भने, “कोरोना भाइरसको कारण देखाएर व्यवसायीले अत्यावश्यक वस्तुमा कृत्रिम अभाव गराएका छन्।” कोरोना भाइरसको त्रासले उपभोक्ताले बढी सामान खरिद गर्न थालेपछि व्यवसायीले अत्यावश्यक वस्तुका सामानमा कृत्रिम अभाव गराएको उनको भनाइ छ ।
उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारसँग पर्याप्तमात्रामा खाद्यान्नको मौज्दात रहेकाले बढी खरिद गरेर संचित नगर्न उपभोक्तालाई आग्रह गरेका छन् । “खाद्यान्न, नुन, तेल, खाना पकाउने एलपी ग्यास पर्याप्तमात्रामा रहेकाले अभाव हुँदैन,” मन्त्री भट्टले भने, “अभाव देखाएर कालोबजारी गरेको भेटिए तत्काल कारबाही गर्छांै ।” सरकारी संस्थानसँग खाद्यान्नको मौज्दात पर्याप्त रहेको बजारमा अभाव नहुने हुँदा नआत्तिन मन्त्री भट्टले उपभोक्तालाई आग्रह गरेका छन् ।
“खाद्यान्न आपूर्तिमा कुनै समस्या नभएकाले ६ महिनाको लागि पर्याप्त मौज्दात छ,”मन्त्री भट्टले भने, “नुन ९ महिनालाई पुग्छ, ग्यास १ महिनालाई पुग्छ ।” ग्यासको आयात नियमितरुपमा भइरहेकाले अभाव नहुने हुँदा धेरै सामान भन्डारण नगर्न उनको आग्रह गरे ।
नेपाल आयल निगमसँग पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भण्डारण ६८ हजार ३ सय ६४ किलोलिटर छ।खाद्यसामग्रीको व्यापार गर्दै आएको सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसनसँग १० महिनालाई पुग्ने नुन मौज्दात छ। साल्ट ट्रेडिङका अनुसार १ लाख ५९ हजार टन नुन मौज्दात छ। हाल नेपालमा मासिक १६ हजार टन नुन खपत हुँदै आएको छ। कर्पोरेसनले ६ महिनालाई पुग्ने आयोडिनयुक्त नुन मौज्दात राख्नुपर्ने व्यवस्था छ।कर्पाेरेशनसँग गोदाममा हाल २ हजार ५ सय टन र ७ हजार ५ सय टन बाटोमा रहेको समेत गरेर जम्मा १० हजार टन चिनी आफूसँग रहेको दाबी गरेको छ। चिनी उद्योगीसँग १ लाख १ हजार टन चिनी स्टक रहेको जनाइएको छ। मुलुकमा वार्षिक सरदर २ लाख ५० हजार टन खपत हुने गरेको छ। मुलुकको आन्तरिक उत्पादन १ लाख ८० हजार टन छ भने वार्षिक ७० हजार टन विदेशबाट आयात हुन्छ।
यस्तै , खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २५ हजार ६ सय ६९ टन चामल स्टक छ। यो खाद्यान्नले तीन महिना सजिलै धान्छ। त्यस्तै सिमी र तिते फापर गरि १ सय ३० टन मौज्दात रहेको कम्पनीले जनाएको छ। पछिल्लो एक सातामा खाद्यान्नको माग पनि अस्वभाविक रुपमा बढेको छ। सरकारले मास्क र सेनिटाइजरको आयातमा खुकुलो बनाएर आपूर्ति बढाउने प्रक्रिया अगाडि बढाइसकेको छ भने आफ्नो संयन्त्रलाई बजार अनुगमनमा समेत पठाइसकेको छ।
यसैबिच नेपाल उद्योग वाणिज्य महासंघले यतिखेर विश्वभरीनै उद्योग व्यवसाय खासगरी सेवा क्षेत्रका पर्यटन उद्योग, औषधिजन्य उद्योगहरूमा यसको असर पर्ने र विस्तारै अन्य उद्योगहरूमा समेत गम्भीर समस्या पर्दै जाने र त्यसको प्रभाव नेपालमा समेत पर्ने अनुमान गर्न सकिने हुनाले कठिन परिस्थितिमा सबै उद्योग व्यवसाय-उद्योगी व्यवसायी क्षेत्रले आ–आफ्नो ठाउंबाट प्रभावकारी ढंगबाट सहयोग गर्न आब्हान गरेको छ ।
अत्यन्त कठिन परिस्थितिमा पनि जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गरेको निजी क्षेत्रको विगत समेतलाई मध्यनजर गर्दै अत्यावश्यक वस्तुहरू जस्तो मास्क, सेनेटाइजर लगायत औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थहरूको व्यवस्थापन, विक्रिवितरण र ढुवानी कार्य पारदर्शी र प्रभावकारी ढंगबाट गरी आम जनतालाई सेवा दिन महासंघ आफ्ना सदस्य संघ-संस्था, उद्योग प्रतिष्ठानहरू-उद्यमी व्यवसायीहरू आव्हान पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्