गर्भवती र सुत्केरीलाइ बाख्रा उपहार

पोषण अबस्थामा सुधार गर्ने लक्ष्य
जुम्ला–कर्णालीका महिला तथा बालबालिका कुपोषणको सिकार हुनुको मुख्य कारण, गरिबीनै हो । कम उमेरमै बिवाह गर्ने, बच्चा जन्माउने, आर्थिक अबस्था कमजोर भएकै कारण पोषिलो चिज खान नपाउने घरको उत्पादनले ४-५ महिना नधान्ने समस्याले कर्णालीका गर्भवती, सुत्केरी महिला, बालबालिका कुपोषित हुने गरेका छन् । गर्भवती र सुत्केरी हुँदा माछा मासु, सागपात खानु हुदैन भन्ने गलत मानसिकता त छदै थियो ।
तर त्यसमा पनि अधिंकाश महिलाको आर्थिक अबस्था कमजोर भएकै कारण माछा मासु खाने कल्पना गर्दैनथे । जसका कारण बच्चा रुष्टपुष्ट नहुने, आमालाई प्रजनन स्वास्थमा समस्या आउने भईरन्थ्यो । यस्तै समस्यालाई मध्यनजर गर्दै, जुम्लाका स्थानीयतहले गर्भवती तथा सुत्केरी आमालाई विभिन्न प्रोत्साहनका कार्यक्रम गर्दै आएका छन् ।
जसमा चन्दननाथ नगरपालिकाले सुत्केरीलाई न्यायो झोला कार्यक्रम देखि सुत्केरी निमन्त्रणा कार्ड कार्यक्रम संचालन गरेको छ । भने यहाँको तातोपानी गाउँपालिका वडा नं. ४ ले पोषणमा बृद्धि गर्न गर्भवती तथा सुत्केरीलाई भाले देखि बाख्रा बितरण गरिरहेको छ ।
२० जनालाई बाख्रा वितरण
स्वास्थ्य संस्थामै सुत्केरी गराउनु र पोषण स्थितीमा सुधार होस भन्ने लक्ष्यका साथ वडाका दलित विपन्न परिवारका २० जना गर्भवती तथा सुत्केरी महिलालाई बाख्रा वितरण गरिएको ४ नम्बर वडाध्यक्ष धिरज जैशीले बताए ।
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत वडाका विपन्न तथा दलित परिवारका २० महिलालाई बाख्रा उपहार स्वरुप उपलब्ध गराइएको हो । अध्यक्ष जैशीले भने, स्वास्थ्य संस्थामै सुत्केरी गराउनुहोला, र गराउनु भयो भन्दै प्रोत्साहन गर्न तथा दलित, विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन उपहार स्वरुप बाख्रा दिइएको हो । उनले भने, गरिबीका कारण दलित तथा विपन्न परिवारका गर्भवति तथा सुत्केरी महिलाले पोषिलो खानेकुरा पाउँदैनन् । सुत्केरी तथा गर्भवति अवस्थामा आवश्यक पर्ने पोषण आहार परिपुर्तिका लागि बाख्रा उपलब्ध गराएका हौँ ।
वडाको गिडीखोला, हाकु, जैतपुर, पाण्डेवाडा र गौतमवाडा गरी पाँच बस्तीका दलित विपन्न महिलालाई बाख्रा बाडिएको हाे । व्यवसायिक रुपमा बाख्रा पालनमा ध्यान पुगोस र सुत्केरी तथा गर्भावस्थामा मासुजन्य बस्तुको आपुर्ति सहजहोस् भन्नका बाख्रा वितरण गरिएको बहुक्षेत्रिय पोषण कार्यक्रमकी सहजकर्ता पार्वती गौतम (विष्ट)ले बताईन् ।
बाख्रा वितरण कार्यक्रमले आमाको आयस्तर बढाउन र कुपोषणदर घटाउन मद्धत मिल्ने विश्वास गरिएको छ । तातोपानी गाउँपालिका जुम्लाका उपाध्यक्ष गंगादेवि उपाध्यायले भनिन, बाख्रा वितरकले व्यावसायिक रूपमा महिलाहरुलाई पशुपालनमा लाग्न र कुपोषणमा सुधार गर्न सघाउ पु-पाउनेमा जोड दिने छ । कामका लागि विद्यालय छोडेर बालश्रममा परेका र पर्नसक्ने जोखिम रहेका बालबालिकाका परिवारलाई आम्दानी अभिवृद्धि गर्न पनि बाख्रा वितरण गरिएको हो उनको भनाई छ । मासु खान तथा पालनका लागि उन्नत जातमा बाख्रा वितरण गरेका छौ । पशु शाखा प्रमुख विष्णुवहादुर रावलले भने, प्रति बाख्रा १२ हजार ७ सय रुपैया मुल्य परेको हो । सबै गरी २ लाख ५४ हजार बराबरका बाख्रा वितरण गरिएको छ ।
आर्थिक स्रोत कमजोर भएका महिलाहरुको जीवनस्तर उकास्न यसले मद्दत पुर्याउन विश्वास गरिएको छ । घासँ, विउ, भिटामीन, जुकाको औषधी पनी वितरण गरिएको हो । सुनौला हजार दिनका आमा र बच्चाको स्वास्थ्य तथा पोषणमा सुधार गर्ने लक्ष्य रहेको छ ।सहजकर्ता पार्वती गौतम (विष्ट)ले भनिन, यस अघि वडामा भएका सुनौला हजार दिनका आमालाई बाख्रा उत्पादन गरी स्वास्थ्यमा सुधार र कुपोषणको दर न्यूनीकरण गर्न हुने कुखुरा समेत वितरण गरिएको थियो ।
बाख्रा पाउँदा गर्भवती तथा सुत्केरी महिला खुसी भएका छन् । स्थानीय दलित महिला मायादेवि कामीले अब यहि बाख्रा पालेर व्यवसाय गर्ने तथा त्यसकै पैसाले पोषिलो चिज खाने बताईन् । अब केहि आयआर्जनका गर्ने सोच पलाएको छ । स्थानीय सरकारले विपन्न समुदायको महिलाको पिर बुझेको मायादेवि कामी जस्तै २० जना महिला खुसी छन् ।