Logo

खानेपानी शुद्धताको प्रत्याभूति

बढ्दो जनसंख्या र उपलब्ध स्रोतको खाडलका कारण दशकौंदेखि काठमाडौं उपत्यकावासीले खानेपानीको समस्या झेल्दै आएका छन् । उपत्यकाको  खानेपानी समस्या समाधान गर्ने उद्देश्यसहित २०५५ सालमा सुरु गरिएको मेलम्ची खानेपानी आयोजना अझै पूरा भएको छैन । आव ०५८÷५९ देखि भौतिक निर्माण थालिएकोमा सुरुमा ०६४÷६५ भित्र आयोजना सम्पन्न भइसक्ने लक्ष्य राखिएको थियो, तर प्रगति नभएपछि पटक–पटक म्याद बढाउँदै २०७४ चैत मसान्त भन्न थालिएको छ । वैशाखमा मेलम्चीको पानी आए पनि उपत्यकावासी सबैको पानीको आवश्यकता त्यसले पूरा गर्न सक्नेछैन, किनकि यसको हाल वितरण प्रणाली उपत्यकाको चक्रपथभित्र मात्र सीमित छ । बुझ्नुपर्ने कुरा के हो भने चक्रपथको २४ किलोमिटरको घेराभित्रको सहरी क्षेत्र मात्र काठमाडौं उपत्यका होइन । उपत्यकालाई दैनिक ३० करोड लिटर पानीको आवश्यकता रहेकोमा तत्कालीन नेपाल खानेपानी संस्थान र हालको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले त्यसको एक चौथाइ पनि पूरा गर्न सकेका छैनन् । विगतमा काँठक्षेत्र भनिने काठमाडौं र ललितपुर महानगरपालिकाबाहिरका नगरपालिकाहरूमा खानेपानी वितरणको ठोस योजना केयूकेएलसँग पनि छैन । त्यसैले त आउँदो मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभामा काठमाडौंको भित्री सहरी क्षेत्रभन्दा बाहिरका उम्मेदवारहरूको चुनावी एजेन्डा नै खानेपानीको आपूर्तिको विषय बनेको छ । मेलम्चीले भित्री उपत्यकामा मात्र पानी आपूर्ति गर्ने तथा काठमाडौं उपत्यकाभित्र पानीका स्रोतहरू सीमित भएकाले कुन स्रोतबाट कहाँ कसरी आपूर्ति गरिने हो भन्ने विषय आउँदा दिनहरूमा निकै ठूलो राजनीतिक मुद्दा बन्न सक्छ ।
केयूकेएलले पानी आपूर्ति गर्न नसकेकै कारण वर्षौंदेखि उपत्यकावासीहरू ट्यांकर र बोतलबन्द प्रशोधित पानीको भर पर्न बाध्य हुँदै आएका छन् । अधिकांश पानी आपूर्तिकर्ता ट्यांकरहरूले उपत्यका वरिपरिकै खोलानाला, पोखरी तथा भूमिगत स्रोतबाट संकलन गरिएको पानी ल्याएर बेच्दै आएका छन् भने बोतलबन्द प्रशोधित पानी उद्योगहरूले पनि भूमिगत पानीलाई नै प्रशोधन गरी बेच्दै आएका छन् । प्राकृतिक मिनरल वाटरका नाममा बेचिने अधिकांश पानी यस्तै प्रकृतिको हुने गरेको पाइएको छ । राम्रोसँग प्रशोधन नगरी सोझै उपभोक्तासम्म पु¥याइने यस्तो पानी हैजा, आउँ, हेपाइटाटिसजस्ता रोगका स्रोतसमेत बन्दै आएका छन् । उपभोक्ताको गुनासोका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गरिएका विभिन्न पानीका बोतलहरूमा इकोलाइसमेतका हानिकारक जीवाणुहरू भेटिनुले यसको पुष्टि गर्छन् ।
पानी मानवजीवनलाई नभइनहुने तत्व हो । यसको उपलब्धता जति जरुरी छ, त्यति नै खानेपानीको स्वच्छतामा ध्यान दिन सकिएन भने अनेकन रोगको संक्रमण बढ्ने जोखिम रहन्छ । पानीमार्फत फैलने रोगकै कारण विश्वमा धेरैको ज्यानसमेत जाने गरेको छ । त्यसैले पछिल्लो समयमा स्वच्छ पिउने पानीको अभियान नै चलाउने गरिएको छ । खानेपानीको स्वच्छताका सन्दर्भमा पछिल्लो समयमा चालिएका केही कदम निकै स्वागतयोग्य छन्, जसमध्ये खानेपानीका ट्यांकरहरूमा पानी परीक्षण गरी स्टिकर लगाउने कार्य, बोतलबन्द पानी उद्योगहरूले गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) मापदण्ड अपनाउनै पर्नेजस्ता व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनले उपभोक्ताले  स्वच्छ खानेपानी पाउने आशा गर्न सकिन्छ । सबैभन्दा ठूलो समस्या दर्तै नभई सञ्चालनमा रहेका पानी प्रशोधन उद्योगहरूले उत्पादन गर्ने गुणस्तरहीन पानीमा देखिएको छ । दर्तावाल र प्रचलित ब्रान्डसँग मिल्दोजुल्दो नाम राखेर उत्पादन हुने यस्ता पानी उद्योगको पनि कडाइका साथ अनुगमन गरिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्