सिरानचोकमा औद्योगिक ग्राम स्थापनाका लागि सम्झौता «
Logo

सिरानचोकमा औद्योगिक ग्राम स्थापनाका लागि सम्झौता

गोरखाको सिरानचोक गाउँपालिकामा औद्योगिक ग्राम स्थापनाका लागि सम्झौता भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बिहिबार आयोजित कार्यक्रममा सिरानचोक गाउँपालिका–४ को चोरकाटेमा औद्योगिक ग्राम स्थापनाका लागि सम्झौता भएको हो । सम्झौता पत्रमा मन्त्रालयका सह–सचिव शोभाकान्त पौडेल र सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले हस्ताक्षर गरेका छन् । औद्योगिक ग्रामले ४५ रोपनी क्षेत्रफल ओगटने गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । सरकारी मापदण्डअनुसार घना बस्तीबाट १ किलोमिटरको दूरीमा मात्र औद्यागिक ग्राम स्थापना गर्ने र २ सय मिटरको परिधिभित्र मानव बस्ती विकास गर्न नहुने मापदण्ड राखिएको छ । औद्योगिक ग्राम भित्रका कुल जग्गाको ६० देखि ७० प्रतिशत उद्योग स्थापनाका लागि उपयोग गर्नुपर्छ ।
स्थानीय सरकारबाट नै पूर्वाधार विकास गर्ने गरी मन्त्रालयले औद्योगिक ग्रामका लागि ९२ लाख रुपैयाँ अनुदान पनि दिएको छ । उक्त अनुदानबाट स्थानीय सरकारले पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए । सम्झौतापत्रमा उल्लेख भएअनुसार सो रकम सीमा पर्खाल, तारबार, पहुँचमार्ग, प्लट, ११ केभी विद्युत् प्रसारण, वैकल्पिक ऊर्जाको प्रयोग, गोदाम घर, पानीको आपूर्ति, फोहोर व्यवस्थापन लगायतका पूर्वाधार विकास तथा संरचना निर्माणमा खर्च गर्नुपर्नेछ ।
सरकारले स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सिपको परिचालन गरि लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी यस्ता उद्योगको स्थापना, विकास र प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गरी स्थानीय अर्थतन्त्रमा योगदान पु-याउने उदेश्यले औद्योगिक ग्राम स्थापनाको नीति लिएको हो । स्थानीय तहले यस्तो औद्योगिक ग्राममा आवश्यक पूर्वाधार निर्माण गर्ने र त्यहाँ निजी क्षेत्रलाई आकर्षित गरी घरेलु लघु तथा उद्यम प्रवद्र्धन गर्ने सरकारको नीति छ ।
सम्झौताअनुसार गाउँपालिकाले अब १५ दिनभित्र आफ्नो स्रोतबाट डीपीआर अध्ययन सुरु गरी ३ महिनाभित्र सोको स्वीकृति प्रतिवेदनको एकप्रति मन्त्रालयमा बुझाउने गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।

 

प्रतिक्रिया दिनुहोस्