जलजला गाउँपालिकामा कालोपत्रे सुरु

म्याग्दी- पर्वतको जलजला गाउँपालिकाले ग्रामीण भेगका जनतालाई यातायात सेवा सहज बनाउन सडक कालोपत्रे सुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर ४ अन्तर्गत मोहनचोकदेखि फड्केढुंगासम्म ४ किलोमिटर सडकमा कालोपत्रे, ढलान ग्राबेल काम सुरु गरेको हो ।
यस वर्ष गाउँपालिकाले १ करोड ६८ लाख ५५ हजार रुपैयाँको ठेक्का माच्छापुछ्रे निर्माण सेवासँग सम्झौता गर्दै ३ सय २० मिटर सडक कालोपत्रे, ३ सय २० मिटर ढलान, ५२५ मिटर ग्राबेल, जोखिम घर जोगाउन ग्याविङ पर्खाल कामलाई असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिएको जलजला गाउँपालिका सबइन्जिनियर जेपी चौधरीले बताए ।
गाउँपालिकाले वडा नम्वर १, २, ३ र ४ वडाका बासीलाई बर्खायाममा सहज यातायात सेवा पु-याउन लगातर तीन वर्ष यो सडकलाई स्तरोन्नतिमा जोड दिएको छ । २०७४ सालमा सडक फराकिलो बनाउन ५० लाख र गत वर्ष अप्ठेरो ठाउँमा ३ सय ८० मिटर सडक ढलानका लागि बजेट विनियोजन गरेको इन्जिनियर चौधरीले जानकारी दिए ।
माझफाँट, मल्लाज, फड्केढुंगा लगायतको ठूलोबस्तीलाई १२ महिनै सेवा प्राप्त गर्न यो सडक दिगोसँगै भरपर्दो रहेको स्थानीयबासी इन्द्र मगरले बताए । गाउँपालिकाले वर्षैपिच्छे थोरै बजेट विनियोजन गरेर काम गर्नुभन्दा प्रदेश र संघसँग समन्वय गरेर दिगो रूपमा मोहन चोकदेखि फड्के ढुंगा हुँदै मल्लाजसम्म कालोपत्रे काम गाउँपालिकाले योजनाबद्ध रूपमा गर्नुपर्ने स्थानीयको माग छ ।