कोरोनाविरुद्धको लडाइँमा प्रविधि क्षेत्रको साथ «

कोरोनाविरुद्धको लडाइँमा प्रविधि क्षेत्रको साथ

रोगव्याधीको न जात हुन्छ, न धर्म नै । न त देशको सीमानाको बारले छेकेर छेक्न सकिन्छ । कोरोना (कोभिड–१९) भाइरसले विश्व मानव प्रजाति माथि नै आक्रमण गरेको महसुस विश्व समुदायले गरेको छ र सबै क्षेत्रमा कोरोना विरुद्ध अभियानहरू संचालनमा आएका छन् ।
पछिल्लो दशकमा द्रुत गतिमा विश्वभर फैलिइरहेको सूचना प्रविधि क्षेत्र पनि कोरोनाबाट अछुतो रहेन । सूचना प्रविधिको विस्तारमा कोरोनाको नकारात्मक प्रभाव त छँदैछ तर कोरोना विरुद्धको लडाइँमा प्रविधि क्षेत्रको साथ र सहयोग पनि सराहनिय बन्न थालेको छ ।
चीनबाट फैलिएको भनिएको कोरोना जब चीन भित्र मात्र थियो, विश्व समुदायले खासै सावधानी अपनाएको थिएन । पश्चिमा मुलुकका संचारमाध्यममा चीनप्रति सहानुभूतिको साटो कमजोरी औंल्याउनमा व्यस्त रहे । तर, अहिले अवस्था फेरिएको छ । चीनमा कोरोना प्रभाव घट्दो र विश्वभर फैलँदैछ । अब भने विश्वका ठूला संचारमाध्यम पनि कोरोना विरुद्धको लडाइँमा लामवद्ध बनेका छन् भने सूचना प्रविधि उद्योगहरू नै भाइरस विरुद्धको लडाइँका योजनाहरू ल्याइरहेका छन् । यसबीच विश्वभर भेला, सभा, सम्मेलन, सेमिनारहरू कम गर्ने सन्देश गइरहेको छ । नेपालमा सरकारले काम गरिरहेको छ ।
सामाजिक संजाल पनि तातेको छ । विश्व वैंक लगाएतका ठूला निकायले आफ्नो निर्धारित वैठक भर्चुअल रुपमा गर्ने घोषणा गरिसकेका छन् भने ट्वीटरले घरबाटै काम गर्न कर्मचारीलाई भनेको छ । प्रविधिको विकासको भरपूर सदुपयोगको काम यतिबेला भइरहेको छ । कोरोनाको प्रभावपछि प्रविधि क्षेत्रमा कसले के गरिरहका छन् त ? कोरोना कहर र यसको प्रभाव हटाउन प्रविधिको उपयोग र प्रविधि क्षेत्रका कम्पनीबाट भइरहेका प्रयास पनि भइरहेका छन् ।

गुगल : डेभलपर कन्फ्रेस रोकेर कोरोना विरुद्धको प्रचारमा
विश्वभर दर्जनौं उत्पादनसहित हार्डवयर तथा सफ्टवेयरमा काम गरिरहेको कम्पनी हो गुगल । गुगलले हरेक वर्ष गर्दै आएको डेभलपर कन्फ्रेन्स अन्तर्गत यो वर्षको लागि हाललाई स्थगित गरेको छ । कम्पनीले हालै सहभागीहरूलाई ईमेल पठाउँदै यहि मे १२ देखि १४ तारिखसम्म माउन्टेन भ्यूमा आयोजना हुन लागेको आफ्नो गूगल आईआरओ कन्फ्रेन्स स्थगित गरेको हो । “कोरोना भाइरसको चासोका बिचमा र सिडीसी, डब्लूएचओ र अन्य स्वास्थ्य नियमनकारी निकायहरूबाट दिईएको सुझाव अनुसार हामीले गुगल आईरओ इभेन्ट स्थगित गर्ने निर्णय गरेका छौं,” गुगलले भनेको छ । सो कार्यक्रममा सहभागी हुन किनेको टिकटहरूको रकम फिर्ता गरिने र फरक हिसाबले इभेन्टलाई अगाडि बढाउने योजना बनाउने गुगलले भनेको छ । नयाँ सामग्री घोषणा गर्ने कार्यक्रममा वर्षेनी करिब ५ हजार मानिसहरू विश्वभरबाट सहभागी हुने गरेको देखिन्छ । गुगलले कोरोनाको प्रभाव कम गर्न सचेतनाको काम गरिरहेको छ । गुगलले नियमले गर्न नमिले पनि कोरोना भाइरसको विरुद्धको लडाइँमा एक्यवद्धता स्वरुप ह्यान्ड स्यानिटाइजर, ग्लोभ्स, माक्स लगाएतका आवश्यक वस्तुको विज्ञापन डिस्प्लेको काम गरिरहेको छ ।

सामाजिक सञ्जालको साथ
आपतकालीन अवस्थालाई लम्ब्याउन वा घटाउनमा सामाजिक संजालको भूमिका बढी रहने गर्छ । सामाजिक संजालको दुरुपयोग गरेर समस्यालाई बढाउने र त्यसको सदुपयोग गरेर घटाउने दुबै खाले जनता विश्वमा छन् । यस्तोमा फेसबुक, ट्वीटर लगाएतका सामाजिक संजालका संचालकहरूको भूमिका पनि उच्च हुन्छ । नेपालमा भूकम्प जाँदा फेसबुक अलर्ट र आफू सुरक्षित रहेको भन्ने स्टाटस लेख्ने व्यवस्था गरेर सहयोग गरेको थियो फेसबुकले । कोरोनाको विरुद्ध लड्न पनि विशेष सचेतना कार्यक्रम घोषणा गर्ने तयारीमा रहेको फेसबुकका संस्थापक मार्क जुकरवर्कले गरेका छन् । यसअघि फेसबुकले पनि कोरोना भाइरसको डरले आफ्नो एफ८ डेभलपर कन्फ्रेन्स स्थगित गरेको छ । कम्पनीका सामान्य भ्रमणका कार्यक्रम पनि स्थगित गरेको ट्वीटरले जनाएको छ । ट्वीटरले कोरोनाका कारण आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न भनेको छ भने सचेतनाका लागि काम गरिरहेको जनाएको छ । कोरोनाका बारेमा विश्वसनिय सूचना मात्र सम्बन्धितसम्म पु¥याउन ट्वीटरले ५० भन्दा बढी देशमा सम्बन्धित देशको आधिकारिक निकायसँगको सहकार्यमा ट्वीटरमा सर्च गर्दा आउने सूचना व्यवस्थित गरेको जनाएको छ ।
फेसबुकले गत महिनाबाटै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सहकार्यमा काम गरिरहेका र फेसबुकमा कोरोनाबारे सर्च गर्ने वित्तिकै प्रयोगकर्तालाई पप–अप नोटिफिकेसनमार्फत विश्व स्वास्थ्य संगठन अथवा स्थानीय सरकारसँग जोड्ने काम भइरहको उनले फेसबुक पोष्टमार्फत नै जानकारी गराएका छन् । यसले प्रयोगकर्ताले पछिल्लो र सही जानकारी पाउन सक्छन् । डब्लूएचओ, सीडीसी, यूनिसेफ लगायत विभिन्न देशका स्वास्थ्य मन्त्रालय र स्वास्थ्य संगठनसँग काम गरिरहेको, डब्लूएचओका लागि निःशुल्क रुपमा फेसबुकमार्फत विज्ञापन गर्ने वातावरण बनाएको, कोरोना भाइरस रोकथामका लागि काम गरिरहेका अन्य संस्थालाई पनि विज्ञापनको लागि क्रेडिट उपलब्ध गराइने जनाएको छ । ‘हाम्रो उत्पादनले कोरोनाबाट बचाउँछ’ भन्दै विज्ञापन गरेको पाइएमा त्यस्ता व्यक्ति र संस्थालाई ब्लक गरिने तथा फेसबुकमा भ्रम फैलाउने सूचना हटाइने पनि फेसबुकले जनाएको छ ।

प्रविधिको उच्चतम उपयोगमा डब्लुएचओ
महामारीको रुप लिइरहेको कोरोना भाइरसको विरुद्धमा विश्वभरको अवस्थालाई नियमन गर्ने प्रमुख निकाय हो संयुक्त राष्ट्र संघको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) । डब्लुएचओले अन्य कुरा सँगसँगै प्रविधिको उच्चतम उपयोगलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । फेसबुक, ट्वीटर, युट्युवदेखि टिकटकसम्ममा डब्लुएचओले प्रत्यक्ष रुपमा सूचना प्रवाह र सचेतनाका सूचनाहरू प्रशारित गरिरहेको छ । कोरोनाको गलत सूचना रोक्न विश्व स्वास्थ्य संगठन अभियान अन्तर्गत संगठनले भिडियो शेयरिङ एप टिकटकबाट भिडियो सन्देश जारी गर्न थालेको छ । “तपाईंलाई विश्वसनीय र समसामयिक सार्वजनिक स्वास्थ्य सल्लाह दिन हामीले टिकटकसँग सहकार्य गरेका छौं । हामी कोरोना भाइरसबाट आफूलाई कसरी बचाउन सक्छौं,” विश्व स्वास्थ संगठनले टिकटक सन्देशमा भनेको छ ।
टिकटकमा डब्लुएचओ युजरनेममा भेरिफाइड एकाउन्ट छ । जसको भिडियोमा संगठनको संक्रमण रोकथाम र नियन्त्रण प्राविधिक अधिकारी बेनेदित्ता एलिग्रेन्जीले कोरोना भाइरस फैलिनबाट कसरी रोक्न सकिन्छ भन्ने गरेको देखिन्छ । अर्को भिडियोमा माक्स प्रयोग गर्ने तरिका सिकाइएको छ । युट्युव भिडियोहरूको तल डब्लुएचओको सन्देशमूलक विज्ञापनका साथै फेसबुक र ट्वीटरलगाएतका साइटमा पनि कोरोना भाइरस सम्बन्धि सचेतना कार्यक्रम दिने तथा भ्रमपूर्ण सूचना कम गर्न डब्लुएचओ लागेको छ । डब्लुएचओले विश्वभरका सुरक्षा सम्बन्धि वस्तु उत्पादन गर्ने कम्पनीहरूलाई विश्वको मागलाई मध्यनजर गरेर उत्पादनलाई ४० प्रतिशतले बढाउन आह्वान गरेको छ । फेसबुकले डब्लुएचओका लागि उपलब्ध गराएको सित्तैमा विज्ञापन गर्न पाउने व्यवस्थाको लाभ उठाउनमा विश्व डब्लुएचओ लागिरहेको देखिन्छ । गुगलमा पनि कोभिड १९ वा कोरोना भाइसर सर्च गर्दा डब्लुएचओको हेल्प साइटहरू अगाडि देखिने बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्