पुस्तक आयातमा कर होइन भन्सार «

पुस्तक आयातमा कर होइन भन्सार

आन्तरिक राजस्व विभागले पुस्तकमा कुनै पनि कर नलगाइएको स्पष्ट पारेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रसले सरकारले पुस्तकमा कर लगाइएको भन्दै सडक र सदनमा आवाज उठाइरहेको बेला आन्तरिक राजस्व विभागले भने कुनै पनि कर नलगाइएको जनाएको हो ।
सरकारले चालू आर्थिक वर्षदेखि सबै किसिमका पुस्तकको आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेको छ । सघीय बजेटमार्फत घोषणा गरिएको भन्सार महसुल फिर्ता लिनुपर्ने माग भइरहँदा सरकारी अधिकारीले त्यसबारे औपचारिक रूपमा बोलेका हुन् ।
आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोदबहादुर कुँवरले बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँग करदातालाई शिक्षा प्रदान गर्ने विषयमा सम्झौता गर्दै पुस्तकमा कर नभएर भन्सार महसूल लगाइएको बताए ।
उनले अन्तर्राष्ट्रिय व्यापारलाई व्यवस्थित गर्न तथा राष्ट्रिय उद्योगको संरक्षण गर्न भन्सार महसुल लगाउनु पर्ने भएकाले पनि यस्तो निर्णय गरेको स्पष्ट पारे । सरकारले पुस्तकको आयातमा भन्सार महसुल लगाएपछि नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक सघंले पनि अर्थमन्त्रीसमक्ष असहमति जनाइ सकेका छन् । सो क्रममा सघंले संयुक्त राष्ट्रसघीय निकाय युनेस्को, इन्टरनेशनल पब्लिशर्स एसोशिएशन र द फेडरेशन अफ पब्लिशर्स एन्ड बूकसेलर्स एसोशिएशन इन इण्डियालाई पत्राचार समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्