तीन सहकारीद्वारा करोडौँ रुपैयाँ हिनामिना

झापाको दमक नगरपालिका क्षेत्राधिकार भित्र सञ्चालित सहकारी संस्थाले बचतकर्ताको करोडौँ रुपैयाँ हिनामिना गरेका छन् । नियमन र अनुगमन नहुँदा दमकमा सञ्चालित सहकारी संस्थाले बचतकर्ताको रकम ठगी गर्ने क्रम बढ्दो छ । गत सोमबार मात्र करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा दमकका दुई वटा सहकारी संस्थाका बचतकर्ताले इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएका छन् ।
सञ्चालक समितिका पदाधिकारीको मनपरी, फितलो व्यवस्थापनका कारण दमकमा सहकारी संस्थाबाट पीडित बन्नेहरु बढ्दै गएको हो । दमक नगरपालिका –६ स्थित नारायणी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको करोडौँ रुपैयाँ हिनामिना गरेको आरोपमा इप्रका दमकमा जाहेरी दिएको बचतकर्ताले जनाएका छन् । त्यस्तै, आफ्नो बचत रकम फिर्ता पाउन नसक्ने अवस्था आएको भन्दै दमक नगरपालिका –६ कै स्वर्गपूरी बचत तथा ऋण सहकारी संस्थाका ५१ जना बचतकर्ताले व्यवस्थापक र सेयरधनीविरुद्ध जाहेरी दिएका छन् ।
करोड बढी हिनामिना
दमकको नारायणी बचत तथा ऋण सहकारीमा १३ लाख ६५ हजार रुपैयाँ बचत गरेकी जनीमाया मगरले पछिल्ला केही महिना अघिबाट बचत रकम फिर्ता लिन खोजे पनि नपाएको बताइन् । पटक–पटक रकम झिक्न खोज्दा व्यवस्थापकले लगानी गरेको ठाउँबाट रकम उठेन भन्ने गरेको सहकारीका अर्का बचतकर्ता अमृतबहादुर थापाले बताए । थापाले १ लाख बढी रमक बचत गरिसकेको जनाएका छन् । सहकारीका सञ्चालक समितिका अध्यक्षसहित अन्य पदाधिकारी सम्पर्कमा नै आउन नचाहेको थापा बताउँछन् ।
सहकारीका ५१ जना बचतकर्ताले १ करोड १६ लाख २८ हजार २२५ रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारी सञ्चालक, व्यवस्थापक र कर्मचारीका विरुद्ध जाहेरी दिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बचतर्काले सहकारीका अध्यक्ष घनश्याम नेपाल, उपाध्यक्ष चन्द्रप्रसाद अधिकारी, सचिव अर्जुनबहादुर राउत, व्यवस्थापक भुपालमान कार्की, लेखापाल इन्दिरा रानालगायत विरुद्ध जाहेरी दिइएको स्रोतले बताएको छ ।
बिना सूचना बन्द
दमक नगरपालिका–६ को स्वर्गपूरी बचत तथा ऋण सहकारी संस्था बन्द भइसकेको छ । बचतकर्तालाई कुनै पनि सूचना नदिइ सहकारी बन्द भएको एक बचतकर्ताले बताए । बचतकर्ताको बचत रकम फिर्ता गर्न नसकेपछि कार्यालय नै बन्द भएको हो ।
“दुःख गरेर बचाएको रकम सहकारीमा राख्ने हुँदा सबै हरायो” बचतकर्ता दुर्गा मिश्रले भने, “आफ्नो निक्षेप फिर्ता पाउन नसकेपछि प्रहरीकोमा जाहेरी दिइएका छौँ ।” सहकारीका सञ्चालक समिति अध्यक्ष धिरज बुढाथोकीको निधन भइसकेको र व्यवस्थापकले मनोमानी रुपमा सहकारी सञ्चालन गरेका कारण पैसा डुबेको एक बचतकर्ताले बताए । “कर्मचारीले मेरो नामको किर्ते चेक बनाएर पनि रमक झिकेका रहेछन्” उनले भने, “जम्मा गरेको पैसा पनि देखिदैँन ।” सहकारी २०६९ सालदेखि सञ्चालनमा आएको हो । सहकारी संस्थाले प्रत्येक वर्ष साधरणसभामार्फत् आय–व्यय सार्वजनिक गर्नुपर्ने नियम छ । विगत चार वर्षदेखि सो संस्थाको साधारणसभासमेत गरेको छैन । सहकारीमा कतिको खाता छ भन्ने पनि यकीनसमेत छैन ।
संस्थाका ५१ जना बचतकर्ताले इप्रका दमकमा व्यवस्थापक र सेयरधनीविरुद्ध जाहेरी दिएका छन् । उनीहरुले ३६ लाख लाख, ७७ हजार रुपैयाँ बढी रकम हिनामीना गरेको आरोपमा जाहेरी दिएको इप्रका दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । उनीहरुले व्यवस्थापक सोगनप्रसाद राजवंशी र सेयरधनी शरमान राई, गौरव राजवंशीलगायत विरुद्ध जाहेरी दिएको बुझिएको छ । सहकारी ११ सय बढी सदस्यको लगानी जोखिममा परेको छ । नियमनकारी निकायले चासो नदेखाएका कारण पनि नागरिकको लगानी डुब्ने अवस्थामा पुगेको हो ।
माइपश्चिमका व्यवस्थापक पक्राउ
दमक नगरपालिका–५को माइपश्चिम बचत तथा ऋण सहकारी संस्थाको ४४ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा इप्रका कार्यालय दमकले सहकारीका व्यवस्थापक अमर श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ । गत माघमा सहकारीका उपाध्यक्ष चुडामणि कटुवालले जाहेरी दिएसँगै श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक पण्डितले बताए । “बचतकर्ताले अन्य दुई सहकारीविरुद्ध दिएको जाहेरीको अनुसन्धान भइरहेको छ” पण्डितले भने, “यदि रकम हिनामिना वा ठगि गरेको पाइएमा आवश्यक कानूनी प्रक्रिया अघि बढाउने छौँ ।”
जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकाल भने, सहकारीको आन्तरिक व्यवस्थापन पक्ष नबुझि बचच गर्नु बचतकर्ताकोसमेत गल्ति रहेको बताउँछन् । “सहकारीको नियमन गर्ने पहिलो निकाय भनेकै बचतकर्ता हुन्” ढकालले भने, “नबुझि सहकारीमा लगानी गर्दा पनि बचतकर्ता ठगिन पुग्छन् ।” झापाको दमकमा मात्र बचत तथा ऋण, बहुउद्देश्यीय लगायतका ७५ वटा भन्दा बढी सहकारी रहेका छन् ।