क्रिकेट प्रशिक्षण मैदानमा प्रतिबन्ध गर्दा खेलाडीहरू प्रशिक्षणबाट बञ्चित «

क्रिकेट प्रशिक्षण मैदानमा प्रतिबन्ध गर्दा खेलाडीहरू प्रशिक्षणबाट बञ्चित

पोखरा नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा रहेको क्रिकेट प्रशिक्षण मैदान विगत दुई महिनादेखि पूर्णरूपमा प्रतिबन्ध गर्दा खेलाडीहरूले प्रशिक्षण गर्नबाट बञ्चित भएका छन् । स्थानीय माछापुछ्रे क्रिकेट क्लबमा आबद्ध करिब २२ जना खेलाडी हाल विगत दुई महिनादेखि उक्त प्रशिक्षण केन्द्रमा प्रतिबन्ध लगाएसँगै हाल खेलाडीहरू प्रशिक्षण गर्न नपाएको क्लबका अध्यक्ष दिपेश खत्रीले बताए ।
उनले भने, “हामी खेलाडीहरू भएकाले खेल खेल्न पाउनुप¥यो, हाम्रा एकेडेमीका खेलाडीसहित विभिन्न समयमा हुने जुनियर तथा सिनियर प्रतियोगिताहरूसमेत हाल मैदान बिना प्रभावित भएका छन् ।” क्लबले विगतका केही वर्षदेखि केन्द्रलाई वार्षिक रूपमा उक्त मैदान भाडामा लिँदै आएको छ । गत वैशाखदेखि एक वर्षका लागि क्लबले १ लाख ८१ हजारमा भाडामा लिएको हो ।
नगरविकास प्रशिक्षण केन्द्रमा प्रदेश नम्बर ४ को प्रदेशसभा र सचिवालय भएकाले हाल सुरक्षाको दृष्टिले गर्दा पनि सञ्चालनमा रोक लगाइएको केन्द्रका निर्देशक हरिकृष्ण कोइरालाले बताए । उनले भने, “नगर विकास प्रशिक्षण केन्द्रमा हाल प्रदेशसभा र सचिवालय भएकाले सुरक्षाको दृष्टिले गर्दा पहिलाको जस्तो सहज छैन, यद्यपि खेलाडीहरूको प्रशिक्षणका लागि क्लबले पनि पछि हामीसँगै खासै सम्पर्क गरेको छैन, यदि उनीहरूलाई मैदान आवश्यक भएमा हामीले छलफल गरी कुनै निष्कर्ष दिन सक्छौं ।” कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले घाँसे मैदानको रूपमा रहेको उक्त नगर विकास प्रशिक्षण केन्द्रको मैदानमा हाल प्रशिक्षण हुँदै आएकाले त्यसलाई प्रशिक्षण हुने वातावरण मिलाउन उनले माग गरेका छन् । पोखरा रंगशालाको क्रिकेट मैदान पछिको दोस्रो मैदान तथा प्रशिक्षण मैदानको रूपमा रहेकोले उक्त मैदानको अति आवश्यक हुने उनले जनाए ।
उक्त मैदानमा क्रिकेट प्रशिक्षण गर्दै आएका राजु थापाले विगत दुई महिनादेखि प्रशिक्षण गर्न नपाउँदा आफूहरूलाई नरमाइलो अनुभव भएको बताए । उनले भने, “प्रदेशसभा भएको उक्त क्षेत्रमा हामीलाई कुनै समयमा मात्र खेल्न मिल्ने गरी वातावरण मिलाएको खण्डमा हाम्रो प्रशिक्षण अभियान जारी रहन्थ्यो, यस विषयमा सरोकार निकायको ध्यान जाओस हामीलाई खेल्ने वातावरण मिलाइदिनु होला ।” पर्वत घर भएका थापाले आफूहरू जस्ता धेरै खेलाडीहरू नगरप्रशिक्षण मैदानको अभावमा हाल कुनै ठाउँमा पनि प्रशिक्षण गर्न नपाएको गुनासो गरे । माछापुछ्रे क्लवका उत्पादन राष्ट्रिय खेलाडी करण केसी हुन भने हाल उक्त क्लबमा थापासहित सान्तोन पौडेललगायतका खेलाडीहरू हाल प्रशिक्षण मैदानको अभावमा निराश भएका छन् । प्रदेश नम्बर ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेत, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल उक्त प्रशिक्षण मैदान खेलाडी उत्पादन गर्ने भएकाले प्रशिक्षण गराउन दिने पक्षमा रहेका छन् ।

दीननाथ बराल 

प्रतिक्रिया दिनुहोस्