साझा यातायातले अशोक लेल्यान्डको सेमि–लो फ्लोर बस सुरु गर्यो «

साझा यातायातले अशोक लेल्यान्डको सेमि–लो फ्लोर बस सुरु गर्यो

सार्वजनिक यातायातको क्षेत्रमा नौलो प्रस्तुति गर्दै आएको साझा यातयातले नेपालमा पहिलो पटक अशोक लेल्यान्डको सेमी–लो फ्लोर बस सञ्चालनमा ल्याएको छ । यसले युरोपियन स्टाण्र्डडको बसहरू सार्वजनिक यातायातको रूपमा सञ्चालन हुनसक्छ भन्ने प्रमाणित गरिदिएको छ । बुधबार एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र साझा यातायातका अध्यक्ष कनकमणी दीक्षितले संयुक्त रूपमा अशोक लेल्यान्डले उत्पादन गरेको सेमी–लो फ्लोर ‘जन बस’ सञ्चालनको सुभारम्भ गरेका हुन् ।
कार्यक्रममा साझा यातायातका अध्यक्ष कनकमणी दीक्षितले अशोक लेलैण्डको जन बस विश्वकै पहिलो सिंगल स्टेप, फ्रन्ट इन्जिन, फुल्ली फ्ल्याट फ्लोर बस रहेको बताए । उनले उपत्यकामा चार स्टेप उक्लिएर बसमा चढ्नु पर्ने बाध्यताबाट मुक्ति दिन यो एक स्टेपमा नै बसमा चढ्न सकिने सेमी–लो फ्लोर बस सञ्चालन गरिएको र यसमा भएको फुल एयर सस्पेन्सनले गर्दा यात्रुहरूलाई आन्ददायी यात्राको अनुभवदिन सकिने उल्लेख गरे । “अशोक लेल्यान्ड लि, भारतका प्रबन्ध निर्देशक बिनोद दसारी आईएमई मोर्टसको कार्यक्रममा नेपालमा आएको समयमा आफूसँग भेट भएको र सोही समयमा अशोक लेल्यान्डले आफ्नो पेटेन्टराइट भएको विश्व कै पहिलो फ्रन्ट इन्जिन भएको सेमी–लो फ्लोर बस सहुलियत मुल्यमा उपलब्ध गराउने बताएका थिए,” दीक्षितले भने, “साझा यातायातले सोही अनुसार काठमाडौं महानगरपालिकाको सहयोगमा वास्तविक मूल्यको एक तिहाइ मूल्यमा यो अशोक लेल्यान्डको सेमी–लो फ्लोर बस आयात गरी सञ्चालन गरेको हो ।”
सोही कार्यक्रममा आईएमई समूहका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साझा यातायातसँगको सहकार्यमा सार्वजनिक यातायातको क्षेत्रमा अशोक लेल्यान्डका उत्कृष्ट बसहरू सप्लाइ गर्न पाएकोमा आफू गौरवान्दित महसुस गरेको बताए । अशोक लेल्यान्डको नेपालको लागि अधिकृत बिक्रेताको रूपमा आईएमई मोर्टस भएकोले साझा यातायातले सञ्चालन गरिरहेका सबै अशोक लेल्यान्डका बसहरूलाई बिक्री पछिको सेवा सजिलैसँग उपलब्ध गराई रहने प्रतिबद्घता ढकालले व्यक्त गरे । अशोक लेल्यान्ड भारत कै पहिलो इलेक्ट्रिक बस ‘सर्किट’ समेत निर्माण गरि सकेको हुदाँ नेपाल जस्तो विद्युतीय सम्भावना बोकेको देशमा इलेक्ट्रिक बस सञ्चालन गर्ने प्रक्रिया सुरु गरेमा आईएमई मोर्टसले त्यसमा सहकार्य गर्न सक्ने जानकारी गराए ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले साझा यातायातसँग सहकार्य गरेर उपत्यकामा सार्वजनिक यातायातको स्थिति सुधार गर्ने दाबी गरे । यात्रीको आरामदाई सफरमा विशेष ध्यानदिएर बनिएको ‘जन’बस उक्लिन सजिलो र बस्दा खेरी पर्याप्त लेग रुम भएको छ । चौडा ढोकाहरूले गर्दा चढ्न ओर्लिन पनि सजिलो बनाइएको छ । जुन बसमा भएको अर्को प्रमुख विशेषता यसको युनिक फिचर अटोमेटेड म्यानुयल ट्रान्समिसन रहेको छ जसले गर्दा चालकलाई गेअर शिफ्ट र क्लच सञ्चालन गर्नु नपर्ने र बढी समय सडक माध्यान केन्द्रित गर्न मिल्ने छ । साथै फ्रन्ट भिउक्यामेराले गर्दा चालकले आफ्नो गाडीभन्दा अगाडि रहेको गाडीभन्दा परसम्म देख्न सक्ने छ जसले गर्दा साँघुरा बाटहरूमा पनि सुरक्षित रुपमा गाडी चलाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्