वीरगन्जमा एकदिने नवउद्यमी हाटबजार «

वीरगन्जमा एकदिने नवउद्यमी हाटबजार

वीरगन्ज-विभिन्न व्यवसायमार्फत उद्यमी बन्न चाहनेहरूका लागि र विद्यार्थीहरूलाई पनि उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यले वीरगन्जमा एकदिन नव उद्यमी हाट बजारको आयोजना गरिएको छ । नयाँ सोच भएका नव उद्यमीहरूलाई व्यवसाय गर्न सहयोग गर्ने,, तथा पर्सा उद्यमशीलता विकासका लागि संलग्न सरोकारवालाहरूको सञ्जाल विस्तार र विकास गर्न वीरगन्जमा पहिलो पटक नव उद्यमी हाट बजारको आयोजना गरिएको हो ।
वीरगन्ज उद्योग वाणिज्य संघ, वीरगन्ज पब्लिक कलेज र अन्तप्रेरणा प्रालिको सहकार्यमा अयोजना गरिएको नवउद्यमी हाट बजारमा २० उद्यमीहरूले उत्पादन गरेको वस्तु तथा सेवाहरूको प्रदर्शनी गरिएको थियो । हाट बजार प्रदर्शनीमा झन्डै ४ सयभन्दा बढीले अवलोकन गरेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले जानकारी दिए । सूचना प्रविधि, मिथिला पेन्टिङसहितको हस्तकलाका सामग्री, शिक्षा, कृषि व्यवसाय, टिफिन सर्भिस, कंक्रिट उद्योगले उत्पादन गरेका इन्टरलक इट्टा तथा कलेजमा अध्ययनरत विद्यार्थीहरूले नयाँ अनुसन्धानबाट तयार पारेको प्लास्टिकको वैकल्पिक प्रयोगका वस्तुको उत्पादनको विषयमा पनि प्रदर्शनीमा जानकारी गराइएको थियो । हाट बजारले उद्यमीहरूलाई आ–आफ्नो वस्तु तथा सेवा, ग्राहकको आवश्यकता र चाहनाबारे अझ बढी जानकारी पाइने र सोहीअनुसारको उत्पादन गरी बजारमा ल्याउन सहयोग पुग्ने तथा ग्राहकहरूलाई पनि स्थानीय स्तरमा नै सबै प्रकारका सेवा तथा वस्तुहरूको सहज उपलब्धताका बारेमा जानकारी हुने वीरगन्ज पब्लिक कलेजका कार्यकरी निर्देशक प्राध्याक डाक्टर दीपक शाक्यले बताए ।
अहिलेका विद्यार्थीहरूले अध्ययनपछि के गर्ने भन्ने अन्योलता हटाउन अध्ययनकै क्रममा आपूmलाई उद्यमशीलतामा प्रवेश गर्न सहज बनाउने अभ्यासको थलो भएको उनले बताए । नवउद्यमी हाटबजारबाट उद्यमीहरूले आफ्नो बजारको पहिचान गरी सम्भावित ग्र्राहकहरूका बारेमा अझ राम्रोसँग अवगत गराई नवउद्यमीहरू लगायतका साझेदार संस्थाहरूसँग जोड्न साथै उनीहरूको न्यूनतम उत्पादन र योजनाहरूलाई पनि बजारमा ल्याउने नै मुख्य उद्देश्य रहेको अन्तरप्रेरणा प्रालिका नीरज खनालले बताए । नवउद्यमी हाट बजारको आयोजना पछि त्यसमा प्रदर्शन गरिएका उत्कृष्ट उद्यमी र संस्थालाई बिजनेस इन्कुवेसन प्रोग्राममा सहभागी गराएर उद्यमीहरूलाई लगानीद्वारा पनि सहयोग गर्ने खनालले बताए । हाटबजारको वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले पनि अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्