विकास र समृद्धिका लागि सबै एकमत «

विकास र समृद्धिका लागि सबै एकमत

धनगढी-सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताले विकास र समृद्धिका लागि एकमत रहेको र रहिरहने प्रतिबद्धता जनाएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्य प्रवद्र्धनमा सुदूरपश्चिम साहित्य समाजले धनगढीमा आयोजना गरेको विश्व नेपाली साहित्य महोत्सवमा बहस गर्दै नेताहरूले विकासको सवालमा आफूहरू सधैं एकमत रहेको बताउँदै एकता र सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाएका हुन् । महोत्सवको अन्तिम दिन मंगलबार नेकपाका प्रदेश सहइन्चार्ज तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपाका प्रदेश अध्यक्ष तथा पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री कर्ण थापा र नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय पूर्वजलस्रोत तथा सिंचाइमन्त्री एनपी साउद र पूर्वयातायातमन्त्री रमेश लेखकले ‘अस्तित्वमा एकता ः हिजो, आज र भोलि’ शीर्षकमा बहस गरेका थिए ।
सो क्रममा उद्योगमन्त्री भट्टले पश्चिम सेती, पञ्चेश्वर र चिसापानी–कर्णाली बन्ने सपना आफूले मार्न नसक्ने बताए । “यी आयोजनाहरू बन्छ भन्ने सपना मैले देखेको छु,” उनले भने, “देखेको पसना मार्न मिल्दैन । बरु त्यसलाई साकार बनाउन लाग्नु पर्छ । हामीले त्यसका लागि प्रयत्न गरिरहेकै छौं ।”
उद्योगमन्त्री भट्टले सरकारले पश्चिमसेती र एसआर ६ का लागि लगानी बोर्डमार्फत लगानी जुटाउने काम भइरहेको बताए । उनले पश्चिम सेती अहिलेसम्म नबन्नुका कारणको समीक्षासमेत सरकारले गर्न थालेको र कारण पहिल्याएर समाधान गरिने बताए ।
कञ्चनपुरको दोधारा चाँदानी कञ्जभोजमा निर्माण गर्न लागिएको सुक्खा बन्दरगाहका लागि भारतसँग नाका खोल्न छलफल भइरहेको बताउँदै उद्योगमन्त्री भट्टले भारतले नाकासम्म रेलमार्ग समेत ल्याइदिने सहमति जनाएको बताए । उनले दैजीछेला र डुडेझाडी औद्योगिक क्षेत्र, हरैया विशेष आर्थिक क्षेत्र, धनगढी–अत्तरिया औद्योगिक करिडोरमा लगानी गर्ने उद्योगीहरूलाई विद्युत् महसुलमा छुट, करमा छुट, जग्गाको भाडामा छुट दिने विषयमा मन्त्रालयले गृहकार्य सुरु गरेको बताए । उनले ७० वटा औद्योगिक ग्रामका लागि ४२ वटा स्थानीय तहले एमओई गरेको र २८ वटाले डीपीआर तयार गरेर अगाडि बढिसकेको बताए ।
अबको आर्थिक विकास उद्योगबाट सम्भव रहेको बताउँदै उद्योगमन्त्री भट्टले त्यसका लागि पूर्वाधार निर्माण गर्न मन्त्रालयले काम गरिरहेको बताए । उनले विकास र समृद्धिको सवालमा पहिलेदेखि नै सुदूरपश्चिमका नेताहरु एकमत रहेको दाबी गर्दै सहकार्यको पनि खाँचो रहेको बताए । “म शान्ति प्रक्रियामा आएदेखि नै सबै पार्टीका सबै नेताहरुसंग विकासका लागि छलफल गरिरहेको छु,” उनले भने, “यसमा कसैले पनि विमति छैन । सहकार्य गर्ने सवालमा तलमाथि परेको हुन सक्छ । यसलाई सुधार गर्दै लग्ने कुरा हुन्छ ।”
विकासको निम्ति सुदूरपश्चिमको सोच परिवर्तन भइसकेको बताउँदै उद्योगमन्त्री भट्टले सुदूरपश्चिमको सोच परिवर्तनसँगै सुदूरपश्चिमलाई हेर्ने सोच पनि परिवर्तन हुन आवश्यक रहेको बताए । उनले अहिले पनि काठमाडौंले सुदूरपश्चिमलाई विकासको नजरले नहरेको गुनासो गरे ।
नेकपाका प्रदेश अध्यक्षसमेत रहेका थापाले अबको विकासको मोडेल परिवर्तन गर्नुपर्ने आवश्यक रहेको बताए । उनले दूरदराजमा एकका १० घरका लागि सम्पूर्ण विकास पु-याउनु भन्दा उनीहरूलाई विकास भएको ठाउँमा सार्नु वैज्ञानिक र खर्चको हिसाबले मितव्ययी रहेको बताए ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले विगतमा नेपाली कांग्रेसको सरकारले पनि सुदूरपश्चिमको विकास गर्ने प्रयत्न गरे पनि सार्थक परिणाम ल्याउन नसकेको बताए । पूर्वपश्चिम राजमार्गमा पुल नहुँदा काठमाडौंसँग सुदूरपश्चिम नजोडिएको बेला नेपाली कांग्रेसको सरकारले पुल बनाएर काठमाडौंसंग जोडेको चर्चा गर्दै उनले त्यतिबेला आफूहरू राजनीतिक मूलधारमा समेत जोडिन नसकेको समीक्षा गरे ।
नेपाली कांग्रेसका अर्का नेता तथा पूर्वमन्त्री रमेश लेखकले राजनीतिक एजेण्डा सकिएको बताउँदै अब विकासको गतिमा अगाडि बढ्नुपर्ने बताए । उनले सरकारको गति सुस्त रहेको बताउँदै सुदूरपश्चिमका विकास अगाडि बढ्न नसकेको टिप्पणी गरे । उनले विकास अगाडि बढ्नु पर्नेमा नबढेको चिन्ता व्यक्त गर्नुपरेको दुःखेसो गरे ।
महोत्सवमा मंगलबार नै भएको ‘समृद्धिको सपना’ शीर्षकमा विकासविद महेन्द्र सापकोटासँग बहस गर्दै नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले आकस्मिक सेवा दिने क्षमता विकास गर्नुपर्ने बताए । उनले विकासका लागि सबैको सपना एउटै नहुन सक्ने बताउँदै सबैको सपना एउटै भएकामा राजनीतिक दल पनि एउटै हुने बताए । “यो सम्भव छैन,” उनले भने, “सपना सबैको फरक फरक हुन्छ । तर सबैले सार्थक सपना देख्नुपर्छ । नेकपाको सरकारले सुखी नेपाली समृद्ध नेपालको सपना देखाएको छ । यो सपना सार्थक पार्न सरकारले काम गरेको छैन ।”
विश्व नेपाली साहित्य महोत्सव सम्पन्न
सुदूरपश्चिम प्रदेश सरकारको मुख्य प्रवद्र्धनमा सुदूरपश्चिम साहित्य समाजले धनगढीमा आयोजना गरेको विश्व नेपाली साहित्य महोत्सव मंगलबार सम्पन्न भएको छ ।
फागुन १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको महोत्सव पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समापन गरेको हुन् । महोत्सव समापनको अवसरमा पूर्वप्रधानमन्त्रीले नेपाली साहित्यको नयाँ मार्ग कोर्न महोत्सव सफल भएको टिप्पणी गरे । उनले महोत्सव आयोजकलाई बधाई दिंदै नेपाली साहित्य र विकासका लागि योगदान दिएको भन्दै प्रशंसा समेत गरे ।
समापनको अवसरमा महोत्सव आयोजना गर्नमा सहयोग गर्ने स्थानीय तह, प्रदेश सरकारलगायत निजी क्षेत्र, सञ्चार माध्यम, प्राज्ञलगायत व्यक्तित्वहरूलाई दोसल्ला र सम्मान पत्रसहित सम्मान गरिएको छ । उनीहरूलाई पूर्वप्रधानमन्त्री देउवाले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्