महिला दिवस मनाइयो

१०८ औं अन्तर्राष्ट्रिय महिला दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसै अवसरमा महिला, बालबलिका तथा समाज कल्याण मन्त्राललयले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा गैरआवासीय नेपाली संघ महिला फोरमले सहभागीता जनाएको छ । भृकुटीमण्डपबाट सुरु भएको र्याली भद्रकाली मन्दिर, सहिदगेट, न्यूरोड हुँदै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो ।
‘आर्थिक सशक्तिकरणसहितको जागरण : ग्रामीण तथा सहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने राष्ट्रिय नाराका साथ आयोजना गरिएको र्याली मा सहभागीले ‘महिला हिंसा अन्त्य गरौं, ‘मानव बेचबिखनरहित समाज निर्माण गरौं र ‘घर शान्ति नै विश्व शान्तिको आधार’ लेखिएका प्लेकार्ड बोकेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ महिला संयोजक रजनी प्रधान, ओसेनियाका क्षेत्रिय उपसंयोजक प्रीति शर्मा, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य शान्ति कुँवर थापा, राष्ट्रिय समन्वय परिषद् रसियाका अध्यक्ष रामेश्वर गौतम, राष्ट्रिय समन्वय परिषद् जर्मनीका महिला उपाध्यक्ष राधा सिग्देललगायत सहभागी थिए ।
बाजुरामा पनि महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएको संवाददाता पदम सिंहले जनाएका छन् । दिवस बाजुरा जिल्लाका नौ वटै स्थानीय तहहरुमा जनचेतनामूलक देउडा, सांस्कृतिक झाँकी, सडक नाटक, र्याली आदि कार्यक्रम गरिएको छ ।
सदरमुकाम मार्तडीमा महिला तथा बालबालिका कार्यलयमोको आयोजनामा जिल्लास्थित सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले दिवस सफल पार्न सहभागिता जनाएको महिला तथा बालबालिका कार्यलयकी निमित्त अधिकृत विन्दु वडालले बताएकी छन् ।
यसैबीच अन्तर्राष्ट्रिय पदक विजेता पुनम रावललाई गृह जिल्ला बाजुरामा सम्मान गरिएको छ । राष्ट्रिय युवा परिषद जिल्ला युवा समितिको कार्यालय बाजुराले सम्मान गरेको हो । पुनमले भारतको नयाँ दिल्लीमा भएको प्रथम इन्डियन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा पहिलो पदक हात पारेकी थिइन् ।उता, नारी दिवसकै डडेल्धुराको परशुराम नगरपालिकामा जनस्तरबाट सञ्चालित त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडामा निर्मित छात्रावास भवनको नेपालका लागि जापानी राजदूतले उद्घाटन गरेको संवाददाता हरिश चन्दले जनाएका छन् । ग्रामिण क्षेत्रका महिलाहरु विविध कारणले शिक्षाबाट वञ्चित रहेको अवस्थामा नारीहरुले पनि सजिलै पढ्न पाउन् र उच्चशिक्षा हासिल गर्न सकुन् भन्ने उद्येश्यका साथ छात्रावास निर्माण गरिएको हो ।
क्याम्पसलाई जापान सरकारको राजदूताबासबाट ८५ लाख ५९ हजार र पूर्वसभासद आरजु देउवा राणाको निर्वाचन क्षेत्र विकास कोषबाट ४० लाखको सहयोग भएको क्याम्पस सञ्चालन समितिका अध्यक्ष दल बहादुर साउदले बताए ।