घूस दिने रकम उत्पादनमा लगाऊ : प्रधानमन्त्री

भ्रष्टाचारका कारण मुलुकको विकास निर्माण र व्यापार–व्यवसाय नै प्रभावित भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कर्मचारीलाई घूस नदिन व्यवसायीलाई चेतावनी दिएका छन् । प्रधानमन्त्रीले घूसबिनै काम गरिदिने भन्दै यो रकम उद्योग व्यवसाय विस्तारमा लगाउन सुझाव दिए भने मन्त्री यादवले घूस दिनेको कामै नहुने र कारवाही गरिने चेतावनी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले आगामी ५ वर्ष सुशासनको वर्ष हुने भन्दै घूसखोरी रोक्ने बचन दिएका हुन् । उनले भने, “आउने ५ वर्ष हामी असाधारण ढंगले सदुपयोग गर्दैछौं, यो अवधि सफलताको अवधि हुनेछ, उपलब्धिको अवधि हुनेछ, परिवर्तनको अवधि हुनेछ ।” प्रधानमन्त्रीले कम दरमा टेन्डर हात पारेर विभिन्न बहानामा काम नगर्ने निर्माण व्यवसायीलाई पनि चेतावनी दिँदै गुणस्तरीय विकास निर्माणमा कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाए ।
सम्बोधनका क्रममा कर्मचारीलाई घूस दिने काम बन्द गर्न मन्त्री यादवले उद्योगी व्यापारीसँग पटकपटक आग्रह गरे । उनले कर्मचारीलाई पेश्कीस्वरूप घूस दिने उद्योगी व्यापारीको काम आफूले नगर्ने घोषणा गर्दै घूस खाने कर्मचारीमाथि निर्मम रूपमा प्रस्तुत हुने चेतावनी दिए । भ्रष्टाचार मौलाउँदै जानुमा व्यवसायीको ठूलो हात भएको भन्दै उनले अब भने घूस खाने कर्मचारी र दिने व्यवसायीलाई विगतमा जस्तो छुट नदिइने उल्लेख गरे ।
उद्योगी व्यापारीले पालैपालो खादा बोकेर मन्त्रालय आउँदा कामै गर्न नदिएको गुनासो गर्दै खादामा आफ्नो समय खर्च नगरिदिन उद्योगी व्यापारीसँग आग्रह समेत गरेका छन । यादवले नेताहरू मन्त्री बनेपछि असुली गर्न थाल्ने र कर्मचारीले पनि असुलीमा सहयोग गर्ने गरेका कारण भ्रष्टाचार मौलाएको भन्दै घूस खाने र खुवाउनेविरुद्ध कडारूपमा प्रस्तुत हुने बताएका हुन् ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले रोजगारी सिर्जना र निर्यातजन्य वस्तुको प्रबद्र्धनका लागि पर्याप्त विदेशी लगानी आवश्यक रहेको भन्दै लगानी भित्र्याउनका लागि सरकारले कानुनमा सुधार गर्ने बताए । उनले लगानी विस्तारका लागि तयार हुन उद्योगी व्यापारीसँग पनि आग्रह गरे । अर्थमन्त्री खतिवडाले व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रवद्र्धन र लगानी वृद्धिको विकल्प नरहेको बताए । उनले निर्यातको तुलनामा आयात १४ गुणा माथि गएको बताउँदै निर्यात प्रवद्र्धनमा लाग्नुपर्ने बताएका बताए । “सय रुपैयाँको आयात गरेर सात रुपैयाँ बराबरको निर्यात गर्छौ” उनले भने, “व्यापारघाटा पूर्तिको लागि पर्यटक ल्याउँदा वैदेशिक रोजगारमा मान्छे पठाउँदा र विदेशी अनुदान ल्याउँदा पनि पुग्न छोड्यो ।” उनले सम्पूर्ण सेवाले पनि देशको आयातलाई धान्न नसकेको अवस्थामा निर्यात वृद्धिको विकल्प नरहेको बताए । सरकारको पहिलो एजेण्डा निर्यात प्रवद्र्धधन भएको भन्दै निजी क्षेत्रसँग सरकार कहिले पनि प्रतिस्पर्धी नबन्ने बताए । “सरकार तपाईहरूको प्रतिस्पर्धी हुँदैन, सरकार परिपुरक हुन्छ प्रवद्र्धक हुन्छ” खतिवडाले भने । दिगो विकासको लागि प्रत्यक्ष वैदेशिक लगानी र वैदेशिक लगानीबाट निर्यात प्रवर्द्धन गरिने मन्त्री खतिवडाको भनाइ थियो । वैदेशिक लगानी ल्याउनको लागि लगानी बोर्ड ऐन संशोधन गर्न थालिएको र लगानीकर्ताले असहज मानेका अन्य ऐन पनि संशोधन गरिने उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय व्यापार मेला सुरु
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको सातौं संस्करण सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा मेला सुरु भएको हो । मेलामा भारत, चीन, पाकिस्तान र बंगलादेशका व्यवसायीले पनि सहभागिता जनाएका छन् । ३ सय स्टल रहेको मेलामा चीनले मात्र ७४ वटा स्टल राखेको छ । नेपाली व्यापारीहरूले हस्तकलाका सामान, निर्यातजन्य वस्तु, निर्माण सामग्री, सवारीसाधन लगायत वस्तु मेलामा छन् । मेला पाँच दिनसम्म चल्ने छ । महासंघकी अध्यक्ष भवानी राणाले अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको प्रबद्र्धन गर्ने उद्देश्यले विदेशी उद्योगी व्यापारीको सहभागीतामा व्यापार मेलालाई निरन्तरता दिइएको बताइन् । राणाले सुविधासम्पन्न प्रदर्शनी हलको अभावमा वहुराष्ट्रिय कम्पनीलाई मेलामा सहभागी गराउन नसकेको भन्दै सरकारले जिम्मेवारी दिए महासंघ सातवटै प्रदेशमा प्रदर्शनी हल निर्माणका लागि तयार रहेको जानकारी दिइन । कार्यक्रममा अर्थमन्त्री खतिवडाले काठमाडौंको चोभारमा सुविधासम्पन्न प्रदर्शनी हल निर्माणका लागि आवश्यक सबै किसिमको सहयोग गर्न अर्थ मन्त्रालय तयार रहेको बताएका छन । सम्मेलनस्थलसम्म द्रूतमार्ग र वीरगञ्ज रेलको जोड्न सक्ने सम्भावना रहेकाले त्यसतर्फसमेत गृहकार्य अघि बढाइएको उनले जानकारी दिए ।