कोरोनाबाट विचलित नहोऔं «

कोरोनाबाट विचलित नहोऔं

‘कालो बादलभित्र चाँदीको छाया’ भनेजस्तै कोरोनाको असरले नेपालको औद्योगिक क्षेत्रमा समस्या देखिए पनि कृषि अर्थतन्त्रमा भने सकारात्मक प्रभाव पनि पार्नसक्छ ।

कोरोना संकट विश्वव्यापी भइरहँदा नेपालमा पनि यसको प्रभाव देखिएकै छ । नेपाल आफैंमा चीनको छिमेकी मुलुक भएको र सतर्कताको अवस्था त्यति प्रभावकारी नभएकाले अन्य मुलुकको तुलनामा जोखिम बढी नै छ । कोरोना भित्रिन नदिने हाम्रो कमजोर संयन्त्र तथा भित्रिहाले के गर्ने भन्ने कुनै पूर्वतयारी नहुँदा विश्व स्वास्थ्य संगठनले पनि अति जोखिमयुक्त मुलुकको सूचीमा राखेसँगै सरकार पनि तातेको देखिन्छ । मुलुकमा पहिलो पटक यस्तो विपद्को व्यवस्थापन गर्नुपर्ने सम्भावित अवस्थामा सरकार अझै अलमलमै देखिएको छ भने राजनीतिक नेतृत्वमात्र नभई प्रशासनिक संयन्त्रमा समेत सुझबुझ देखिएको छैन ।
मुलुक कोरोना संक्रमणको जोखिममा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका छन् । सम्भावित जोखिमका बेला राज्यका सबै अंगको उत्तिकै सक्रियता जरुरी हुन्छ भने मुलुकका कार्यकारी प्रमुखको भूमिका बढी नै अपेक्षित हुन्छ । यस्तो बेला उनले मन्त्रिपरिषद् बैठक राख्नेदेखि आफ्ना सबै खाले कार्यकारी अधिकार कार्यवाहक प्रधानमन्त्रीलाई प्रदान गरेमात्र निर्णयविहीनता र दुर्घटनाबाट मुलुक जोगिनेछ । प्रधानमन्त्रीको स्वास्थ्य मानवीयताका हिसाबले मात्र नभई मुलुककै लागि पनि उत्तिकै महŒवपूर्ण छ, तर उनले यो बेला भरोसा गरेको टिमलाई सम्पूर्ण अधिकार प्रधान गर्नुपर्छ । अथवा कोरोना संकटसँग जुध्न सबै खाले अधिकार र सुविधासहितको ¥यापिड रेस्पोन्स टिम गठन गरेर जिम्मेवारी दिनु पनि उपयुक्त हुन्छ । प्रधानमन्त्रीले आफू निको भएर फर्केपछि सबै जिम्मेवारी सम्हाल्छु भनेर अहिले निर्णय गर्न थाँती राख्ने हो भने भोलिका दिनमा ढिलो भइसकेको हुनसक्ने अवस्थालाई नजरअन्दाज गर्न सकिँदैन ।
कोरोना संकटको असर नेपालका मुख्य श्रम गन्तव्य मुलुकसम्म फैलिसकेको छ । कोरिया, कतार, जापानपछि अन्य मुलुक पनि उत्तिकै जोखिममा रहेकाले ती मुलुकका नेपालीले घर फर्कन चाहेको देखिन्छ । सरकारले चीनको बुहानमा रहेका नेपालीको उद्धार गरेजस्तै ती मुलुकमा पनि सम्भावित संकटको सामना गर्न आफ्ना सबै संयन्त्र तयारी अवस्थामा राख्नुपर्छ । श्रम गन्तव्यमा रहेका नेपालीको आर्थिक अवस्था चीनमा रहेका नेपालीको भन्दा पनि कमजोर रहेकाले सरकारले उनीहरूलाई अभिभावकत्व प्रदान गर्न सक्नुपर्छ । अर्कातर्फ ती मुलुकबाट फर्कन सक्ने ठूलो संख्याका नेपालीलाई क्वारेन्टाइनमा राख्ने स्थानको अभाव समेतलाई दृष्टिगत गरी आन्तरिक तयारी आजैदेखि सुरु गर्नुपर्छ ।
कोरोनाको असरले विकसित मुलुकको अर्थतन्त्र पनि धराशायी हुँदैछ । यसबाट नेपाली श्रमिकको ठूलो संख्याले रोजगारी गुमाउन सक्ने देखिन्छ । नेपालले यो बेला रेमिट्यान्स घट्ने भयो भनेर चिन्ता गरिरहनुभन्दा विदेशबाट फर्केका नेपालीको सीप र श्रमलाई उपयोग गर्ने रणनीति बनाउनुपर्छ । खासगरी कृषिक्षेत्रमा केही प्याकेज कार्यक्रम ल्याएर बाँझो रहेका खेतबारीलाई हराभरा बनाउने उपयुक्त मौका पनि यही नै हुनसक्छ । कृषि उत्पादन आन्तरिक खपतकै लागि हुने र यसबाट आयात प्रतिस्थापनसमेत हुने भएकाले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि यो उचित अवसर पनि हुनसक्छ । ‘कालो बादलभित्र चाँदीको छाया’ भनेजस्तै कोरोनाको असरले नेपालको औद्योगिक क्षेत्रमा समस्या देखिए पनि कृषि अर्थतन्त्रमा भने सकारात्मक प्रभाव पनि पार्नसक्छ । तर, यसका लागि राज्यको ठोस योजना र कार्यक्रम आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्