व्यवस्था फेरिए पनि महिलाको अवस्था उस्तै

कर्णालीको घरबार, खेतीपाती सबै महिलामा निर्भर छ । गरिबी धान्न नकसेपछि खर्चको जोहो गर्न कालापहाड जानु कर्णालीका पुरुषको पुख्र्यौली पेसा जस्तै भएको छ । कर्णालीका नागरिक विगतदेखि अहिलेसम्म दिन गुजारा गर्न कालापहाडको सहारा लिनु, राज्यले गरेको सौतेनी व्यवहारको उपज हो । यस्तै कर्णाली एक पिछडिएको क्षेत्र । केन्द्रले जहिले पनि कर्णालीलाई रोग, भोक र अशिक्षाको संज्ञा दिने गरेको ठाउँ ।
गरिबीको चपेटाबाट अरुभन्दा बढी कर्णालीका महिला पीडित छन् । पुरुष प्रायः बाहिर रहने र महिलाहरूले घर सम्हाल्ने कथा पनि पुरानै छ । एक हात सहर क्षेत्रका महिला आत्मनिर्भर भए पनि अधिंकाश महिलाका दुःख भने उस्तै छन् । बिहान बेलुका के खाउँ भन्ने अवस्था नभए पनि मिठो मसिनो खान अहिले चाडपर्व नै कुर्नुपर्ने जुम्ला तातोपानी गाउँपालिका–२ की लाटी नेपालीले बताइन् । देशमा व्यवस्था फेरिए पनि आफूजस्ता निमुखाको अवस्था नफेरिएको उनको गुनासो छ ।
विभिन्न संघसंस्थाले गर्ने कार्यक्रमले गरिबहरूको जीवनस्तरमा खासै प्रभाव पारेको छैन । अर्की स्थानीय महिला छुमकलीले कामीले भनिन, जति चिप्ला कुरा गरे पनि धनी धनी बन्दै जाने र गरिब झन गरिब बन्ने हाम्रो देशमा आफूहरूजस्ता बाँचे पनि मरे पनि केही फरक नपर्ने भन्दै जनप्रतिनिधिसँग गुनासो पोखिन । उनका दुई छोरा छुट्टिएर बसेका छन् ।
श्रीमान् हुन्जेलसम्म कालापहाडको कमाईले पाले, तर श्रीमान् स्वर्गीय भएपछि गरिबीपनले छोयो, काम गरौ शक्ति छैन, नगरांै के खाने, दयामायाको जवाना रहेन, साह्रै मुस्किलले बाँचिएको छ । यो पनि छुमकलीकै दृष्य हो । यस्ता समस्याले च्यापिएका महिला कर्णालीमा कम छैनन् । कालापहाडको समस्याले कुनै बेला मर्दा लास उठाउने पुरुष पनि हुदैनन् । भएका पनि सबै वृद्ध हुन्छन । सिजाकी जडेनी थापाले भनिन, “कति चोटी आफूले लास बोकेको छु ।”
कमाउन कालापहाड गएको श्रीमान्ले समयमै केही पठाउँदैनन् । चाहिएको बेला साहुको ढोका ढक्ढकाउने अवस्था पुरानै छ । छोराछोरीको पढाइ लुगालत्ता, चाडपर्व मनाउँदा फेरि महिलालाई सास्तीले छोड्दैन थापाले बताइन् । गरिबीले गर्भवती अवस्था पनि भन्न पाइँदैन । सकि नसकी काम गर्नैपर्छ ।
घरमा सघाउने अरु नहुँदा गर्भवती भएका बेला कुनै प्रवाह नगरी जस्तोसुकै काम गर्छन् कर्णालीका महिला । घरदेखि बाहिरको कामबाट केहिले फुर्सद नहुने गाउँका महिला धुलो धुँवाबाट झन पीडित छन् । वृद्धादेखि गर्भवती भएको बेला पनि महिला ओदानमा खाना पकाउनु पर्ने स्थितिले विगतका महिलामा धेरै समस्या थियो ।
स्थानीय सरकारले रोजगारी दिन सकेन
स्थानीय तहले हजारौंको संख्यामा रोजगारी सिर्जना गरे पनि महिलाहरू भने समेटिएका छैनन् । विभिन्न विकास निर्माणका काममा युवालाई प्राथमिकता दिएका कारण महिला रोजगारीबाट वन्चित छन् । समान कामको समान ज्याला पाउने थाहा पाएपछि पनि आफूहरू स्थानीय तहका कुनै काममा नलागेको तातोपानीकी मायादेवी बुढाले बताइन् । युवासँगै काम गर्न नसकिने उनको भनाइ थियो । तर स्थानीय सरकारले महिलाको क्षमताले गर्न सक्ने खालका काम गर्न दिए सहज हुने स्थानीय महिलाको अपेक्षा छ । हरेक स्थानीय तहका उपप्रमुख महिला भए पनि महिलाले सशक्तीकरणका लागि खासै पहल गरेका छैनन् । संघीयतामा देश गइसक्दा पनि महिलाहरूको दिनचर्या नफेरिएको कर्णालीका महिलाको दुःखेसो छ ।
गर्भवती आमालाई धुवाँरहित चुलो
‘स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो’ भन्ने मान्यताका साथ जुम्लाको तातोपानी गाउँपालिका–३ को लछिकृत आमा समूहका २५ जना गर्भवती महिलाहरूलाई धुवाँरहित चुलो वितरण गरिएको छ । विगतमा ओदान चुलोमा आगो बाल्दा निष्कने धुवाँले महिलाहरूमा परेको प्रतिकूल असरलाई मध्यनजर गर्दै, कृषि तथा खाद्य सुरक्षा साना अनुदान कार्यक्रमले गर्भवती महिलालाई चुलो वितरण गरेको हो ।
साथमा कुपोषित बालबालिकाको स्वास्थ्यलाई ध्यान दिई धुवाँरहित चुलो, पानी फिल्टर गर्नका लागि फिल्टर, तातो पानी पिउनको लागि किट्ली र डरम दिएको लछिकृत आमा समूहकी अध्यक्ष विमला रावलले बताइन् । कर्णालीका जनताको आयु अहिले ४६ वर्ष निर्धारण गरिएको छ । रोग, भोक, अशिक्षा र गरिबीको मुख्य शिकार महिला नै छन् ।
पछिल्लो सयम विभिन्न निकायले महिलाको सशक्तीकरण स्वास्थ्य सुरक्षाका लागि गरेका प्रयासले आगामी दिनमा विगतजस्तै अकालमै ज्यान गुमाउनु पर्ने अवस्था नरहने रावलले आशा व्यक्त गरिन् । खाद्य सुरक्षा आयोजनाले कर्णालीका विभिन्न क्षेत्रमा आमा समूहलाई चुलो ड्रम दिने गरेको छ । जसअनुसार जुम्लामा पनि दिएको सो आयोजानका प्राविधिक पदम केसीले जनाए । उनका अनुसार २५ जना महिलालाई ८० प्रतिशत अनुदान सहयोगमा आधुनिक हिटर चुलो ड्रम दिइएको हो । यसमा गर्ववती महिलाहरुको स्वास्थ्यमा केही रूपमा भए पनि सुधार गर्ने उनको अपेक्षा छ ।
–सागर परियार