कोषबिनै करोडौँको काम «

कोषबिनै करोडौँको काम

झापा-मानवीय सेवा प्रवाह गर्ने उद्देश्यले खोलिएका संस्थाहरुमा पहिला रकमको लेखाजोखा हुन्छ । संस्थाको स्थापना गर्न रकम जोेहो गरिन्छ सञ्चालकले ५ लाख, १० लाख, २० लाख वा करोड रुपैयाँ संस्था स्थापनामा खर्चन्छ ।
ठूलो धनराशी खर्चेर खोलिएका यस्ता थुप्रै संस्थाहरु केही समय चल्छन् र धेरै जसो थोरै समयमा बन्द हुन्छन् । केहीकेही संस्था मात्रै उद्देश्य अनुरुप लक्ष्यमा पुग्ने गरेका छन् । झापामा एक पैसा पनि जोहो नगरी खोलिएको एउटा संस्था यति बेला धेरैको आशा र भरोसाको केन्द्र बन्दै गएको छ । खुलेको २ वर्ष पनि नबित्दै यो संस्थाले ११० जनालाई सेवा दिइसकेको छ । अभावमा भएकालाई राहत दिनु, बिरामीलाई उपचारमा सहयोग गर्नु, घर नहुनेलाई घर निर्माणमा सहयोग गर्नु यो संस्थाले गर्दै आएका काम हुन् । संस्था चाहिँ क्यान्सर पीडितलाई सहयोग गर्ने मुख्य लक्ष्यका साथ खुलेको हो ।
यो संस्थाले अन्यलाई पनि सहयोग गरिरहेको छ । गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्था झापा अहिले कुनै कोष बिनानै धेरैको नजरमा परिरहेको छ । अर्काको घरमा हली बसेर स्नातकोत्तर तहसम्म पढे भुपाल बस्नेतले । त्यसअघि नै जीवन संघर्ष सुरु गरेका बस्नेतले यो संस्था खोले । संस्था दर्ता गर्न समिति चाहिने भएपछि ९ जनाको कार्यसमिति बन्यो । संस्थाले केही दिनभित्रै वार्षिक साधारणसभा गरेर २१ जनाको समिति निर्माण गर्ने तयारी गरिरहेको संस्थाका संस्थापक भुपाल बताउँछन् ।
आमाबुबा नै क्यान्सर लागेर बितेपछि उनले संस्था खोल्ने सोच बनाए । मुलुकभर आफ्नो नाममा एक धुर पनि जग्गा नभएका भुपालले उपचार खर्च अभावमा कोही पनि मर्नु नपरोस् भनेर संस्था खोलेको सुनाए । “गरिबी र पछौटेपनले कसैको जीवन त्यसै विलिन हुनु हुँदैन” भुपालले भने, “मैले ०४० सालमा बुवा नरबहादुरको उपचार गर्न नपाएर टुहुरो हुनुप-यो ।” उनकी आमा गंगामाया पनि ०६४ सालमा क्यान्सर कै कारण बितिन् । बुबाआमा दुवैजना क्यान्सरसँग जुद्धाजुद्धै परलोक भएपछि घरबार नभएका भुपाल साँच्चै टुहुरा बने ।
उनी अहिले पनि अविवाहित छन् । सानैमा बुवाआमा बितेपछि उनलाई गरिबी र अभावको राम्रै हेक्का भयो । अनि उनले समाजमा केही गर्नुपर्छ भन्ने सोचले संस्था खोले । बिर्तामोडमा भाडा तिरेर कार्यालय भएपनि संस्था सहयोगी र दाताहरुकै भरमा चलेको छ । संस्थाले खुलेकै वर्ष (०७४ साल) मा झुमादेवी राजवंशीको उद्दार ग-यो । तीन वर्षदेखि दिशा पिसाबसँगै ओच्छ्यानमा थलिएकी उनलाई संस्थाले उपचारमा चार लाख खर्चियो । उनलाई काठमाडौँको ट्रमा सेन्टर पु-याइयो र उपचार गरियो ।
दाउरा बेचेर जीविको गुजारा गरिरहेकी राजवंशी दाउराको भारीसँगै खेतको आलीबाट लडेपछि ओच्छ्यान परेकी थिइन् । उनको उपचारमा ७ लाख खर्च भयो । ट्रमा सेन्टरका डा. भुपेन्द्र बस्नेतले ३ लाख अस्पतालको तर्फबाट छुट गरिदिए । त्यसमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पहल गरेका थिए । अहिले झुमादेवी साइकल कुदाएर आफ्नो काम मज्जाले आफैँ गरिरहेकी छन् । श्रीमान् पनि नभएकी झुमा अहिले आफ्नो लागि आफैँ कमाउँछिन् ।
सो संस्थाले झापा इटाभट्टाकी निर्मला राईलाई पनि नयाँ जीवन दियो । मेची अञ्चल अस्पताल हुँदै विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगेर उपचार गरेपछि ओच्छ्यान परेकी निर्मला निको भइन् र अहिले आफ्नो काम आफैँ गर्न सक्ने भएकी छन् । संसारले माया मारिसकेकी उनको उपचारमा १० लाख खर्च भयो । उक्त रकम गंगामाया तथा नरबहादुर क्यान्सर पीडित सहयोग संस्थाको अगुवाइमा जुटाइएको हो ।
सो संस्थाले भद्रपुरका क्यान्सर पीडित किसान दासलाई पनि उपचारको प्रबन्ध ग-यो । ५५ हजार चन्दा खोजेर भरतपुर क्यान्सर अस्पतालसम्म पु-याएपनि दासलाई फर्काउन नसकिएको भुपालले सुनाए । उनले भने, “दुई लाखभन्दा बढी नै खर्च भयो होला तर, बचाउन नसकेकोमा निकै दुःख लागेको छ ।” दास क्यान्सररबाट थलिएका थिए । समयमै उपचार हुन नसक्दा उनलाई बचाउन नसकिएको सहयोगमा जुटेकाहरु बताउँछन् ।
झापा लखनपुरकी चन्द्रकला तिवारी तिहारमा रोटी पकाउने क्रममा जलेर सख्त घाइते भइन् । तिहारमा जलेकी उनलाई सोही संस्थाको अगुवाइमा काठमाडौँ लगियो र उपचार गरियो । अहिले उनी निको भएर आफ्नो दैनिकि सहजतापूर्वक बिताइरहेकी छन् । तिवारीलाई निको पार्न सकेकोमा बस्नेत निकै खुशी छन् । भने, “हामीले पहल ग-यौँ, सहयोग जुट्यो, उहाँ निको हुनुभयो ।”
झापा कचनकवलकी साबित्रा राजवंशीको दुवै आँखाको ज्योति गुमेको लामै समय भएको थियो । उनलाई मेची आँखा अस्पताल बिर्तामोड ल्याउने र उपचार गराउने काम सोही संस्थाको अगुवाइमा भयो । अहिले राजवंशीको आँखाको ज्योति आएको छ । उनी हिँडडुल गर्न र काम गर्न सक्ने भएकी छन् ।
हल्दिबारी गाउँपालिका जलथल कञ्चनश्री बजारका नरेन्द्र एक्तेन सानै उमेरमै कुप्रो भएका थिए । उनलाई पनि सो संस्थाले वीर अस्पताल काठमाडौँ पु-यायो र उपचार ग-यो । उनी पनि अहिले निको भएका छन् । आफ्नो काम गरिरहेका छन् । उमेरमै कुप्रो पर्नुको पीडा नरेन्द्रलाई राम्ररी थाहा छ । उनी संस्थाको सेवाप्रति निकै खुशी छन् ।
संस्थाले ब्लड क्यान्सरबाट मृत्युसँग संघर्ष गरिरहेका सलब दंगाललाई पनि सहयोग गर्न भ्याएका छन् । १० वर्षीय बालक गोपिचन्द्र दंगाल (सुगम)को उपचारमा संस्थाले देशविदेशबाट ९ लाख पचास हजार संकलन ग-यो । संस्थाको अगुवाइमा सो रकम संकलन भएको बस्नेतले बताए । सुगमको उपचारमा २५ लाख रुपैयाँ बढी खर्च भएको छ । उनी अहिले उपचारपछि घर फर्किएका छन् ।
कात्तिक २५ गते घर जलेर बाँसको झाँङ मुनी पुगेका लिलाप्रसाद कोइरालाको परिवार यतिबेला टिनको छानो भएको घरमा बस्ने अन्तिम तयारीमा छ । सो संस्थाले देउसी खेलेर उठाएको ६० हजार र झापा कांग्रेस ३ नम्वर क्षेत्रीय सभापति नविन विमलीले २५ हजार बराबरको जस्ता पाता उपलब्ध गराएपछि कोइराला परिवार खुला आकास मुनीबाट घर भित्रिएको हो । तीन जनाको कोइराला परिवारलाई केही दिन अघि टिन हस्तान्तरण गरिएको अभियानमा जुटेका बिमलीले सुनाए ।
गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाले गरेका यी केही कामको उदाहरण हुन् । ११० जनालाई विभिन्न सेवा गरिसकेको यो संस्था अहिले सहयोगी र दानवीर हातहरुकै कारण चलिरहेको छ । यसलाई चलाउन दिगो आर्थिक स्रोतको अभाव छ । भूमिहिन भुपालले शुरु गरेको यो संस्था चलाउन सरकारले सहयोग गर्नु विपन्न र दुःखमा रहेकालाई अभिभावकीय आश्रय दिनु हो ।

 

प्रतिक्रिया दिनुहोस्