एसीसी इस्टर्न रिजन क्रिकेटमा नेपालको दोस्रो हार «

एसीसी इस्टर्न रिजन क्रिकेटमा नेपालको दोस्रो हार

थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग पराजित भएको छ । बैंककको टेडथाई क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो । लगातारको दुई हारसँगै एशिया कप छनोटमा पुग्ने नेपालको सम्भावना न्यून हुँदै गएको छ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा मलेशियासँग २२ रनले पराजित भएको थियो ।
पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई १५५ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा नेपाल १८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटियो । शुरुआती ब्याट्सम्यान कुशल मल्ल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४.४ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो शुरुआत दिलाए पनि त्यसपछि निरन्तर विकेट गुम्दा नेपाल हार बेहोर्न बाध्य बन्यो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिनुभयो भने कुशल १९ रनमा आउट भए । यस्तै अविनाश बोहराले १२ रन जोड्दा आरिफ शेखले १० रन बनाए । करण केसीले ७, विनोद भण्डारी र दिपेन्द्र सिंह ऐरी ५÷५ रन जोड्दा पारस खड्का ४ रनमा पेभेलियन फर्किए । पवन सर्राफ १ रनमा आउट हुँदा सन्दीप लामिछाने शून्य रनमा आउट भए ।
बलिङतर्फ हङकङका हरुन मोहमद अर्साद एक्लैले ५ विकेट लिए भने अफ्ताफ हुसेनले ३ तथा इशान खानले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्