महिला दिवसले नछोएको भोटखोला

सदाझैं यस वर्ष पनि ८ मार्चका दिन नेपालमा १०८औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमका साथ मनाइँंदैछ । ‘आर्थिक सशक्तीकरणसहितको सामाजिक जागरण ग्रामीण तथा सहरी महिलाको जीवनस्तर रूपान्तरण’ भन्ने राष्ट्रिय नाराका साथ राज्यले यसपालि यो दिवस मनाउँदै गर्दा संखुवासभाको उत्तरी क्षेत्रमा रहेका महिला, आमा समूहहरुलाई भने यस किसिमका दिवसले कत्ति पनि छुन सकिरहेको छैन । सदरमुकाम खाँदबारीदेखि १६२ किमि उत्तरमा पर्ने हिमाली क्षेत्रमा अवस्थित भोटखोला क्षेत्रका महिला शिक्षा र स्वास्थ्य सेवालगायत राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित छन् । भौगोलिक जटिलताका कारण विकट हिमाली क्षेत्रमा बसोबास गर्ने उनीहरूको घरदैलोसम्म राज्यले विकासको लहर पु¥याउन अझै दशकौं समय खर्चनुु पर्ने परिस्थिति छ ।
भोटखोला क्षेत्र संखुवासभाको अत्यन्तै विकट हिमाली क्षेत्र हो । केन्द्रीय, प्रादेशिक र स्थानीय तहको निर्वाचनसँगै देशव्यापरूपमा विकासको चाहना बढे पनि भोटखोला क्षेत्रका स्थानीयवासी र महिला तथा आमा समूहहरू भने आफैं अग्रसर भई गाउँको विकासमा जुट्दै आएका छन् । लामो समयदेखि सरकारी बजेट त्यस क्षेत्रमा नपुगेपछि उनीहरू पुस्तौंदेखि यसरी नै विभिन्न समूह बनाएर आफ्ना गाउँको विकास निर्माणको काममा आफैं जुट्ने गरेका हुन् । मानव अधिकार, महिला अधिकारलगायतका अधिकारवादी संघसंस्थाको पहुँच पुग्न नसकेको उक्त क्षेत्रमा महिलाहरू अत्यन्तै सक्रीय रहँदै आएका छन् ।
पुरुष प्रधान अन्य जातीय समुदायमा भन्दा यस क्षेत्रका बासिन्दामा पुरुषको भूमिका महिलाको तुलनामा कम रहँदै आएको छ । घरको कामधन्दा महिलाले मात्र गर्नुपर्छ भन्ने सहरी र संभ्रान्त समुदायकोे बुझाइभन्दा फरक परिवेशमा यहाँका महिला सामाजिक काममा अग्रसर भएको पाइन्छ । यहाँका महिला पुरुषसँगको परनिर्भरताबाट धेरै हदसम्म मुक्त र स्वतन्त्र रहनुका साथै आर्थिक कारोबारमा महिलाको निर्णायक भूमिका रहँदै आएको महिला तथा बालबालिका कार्यालय संखुवासभाका निमित्त महिला विकास अधिकृत कल्पना खनालको भनाइ छ ।
त्यस क्षेत्रका बासिन्दाहरू पूर्णरूपमा कृषि पेशामा निर्भर छन् । धानखेती कम हुने त्यस क्षेत्रमा खाद्यन्नका लागि प्रमुुख बालिका रूपमा रहेकोे आलु, कोदो, मकै, जुनेलो, फापरलगायतका अन्नबाली लगाइने गरिन्छ । त्यस क्षेत्रको मुख्य आम्दानीको स्रोत भने अलैंची र जडिबुटी रहँदै आएको छ ।
गाउँमा आइपर्ने हरेक क्रियाकलापमा महिलाको सहभागिता उदाहरणीय बन्ने गरेको छ । महिलाको तुलनामा घरभित्रको काममा बढी पुरुष नै संलग्न हुेन गर्छन् । त्यहाँका महिला तथा आमा समूह हरेक सामाजिक कार्यमा सामूहिक रूपमा लाग्ने गर्छन् भने पुरुषहरू उनीहरूको पदमार्गका सहयोगीका रूपमा मात्र रहँदै आएको कार्माराङ सेतीकन्या महिला विकास समितिकी अध्यक्ष दिलकुमारी राईले बताइन् ।
सदरमुकाम खाँदबारीबाट करिब ५० किमिको दूरीमा पर्ने नुमदेखि उत्तरको भागमा रहेको करिब १२० किमिभित्रका हेदाङ्ना, पाथीभरा, पावाखोला, चेपुवा, च्याम्ताङ, नामासे, हटियागोला, हुङ्गुङ, छुम्सुर, रिदाक, थुदाम, किमाथांकालगायतका क्षेत्रमा महिला समूह, भोटिया आमा समूह, सेर्पा आमा समूहजस्ता समूहमा आबद्ध भई विकास निर्माणलगायत सामाजिक कार्यमा लाग्दै आएको स्याक्सिला महिला विकास समूह गोलाका अध्यक्ष दुर्गा गुरुङले बताए ।
आमा समूहहरूले त्यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । नामासे आमा समूह, फूलबारी आमा समूह, कुवापानी कप्ताने आमा समूह, फिन्जुङ आमा समूह, लालिगुराँश आमा समूहजस्ता दर्जनौं आमासमूह त्यस क्षेत्रमा क्रियाशस्ल रहेको महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष लक्ष्मी ढुंगाना बताउँछिन् । उनीहरू शिक्षा र स्वास्थ्य अधिकारबाट करिब पूर्णरूपमा वञ्चित रहेकाले त्यस क्षेत्रका महिलासम्म पुग्ने गरि राज्यले विशेष कार्यक्रम लैजान आवश्यक रहेको अध्यक्ष ढुंगानाको भनाइ छ ।
स्थानीय महिला तथा आमा समूहले घोरेटोबाटो, गुम्बा, धर्मशाला, कुवा धारो, पाटीपौवा, सामुदायिक भवन निर्माणलगायत आर्थिक क्रियाकलापसमेत सञ्चालन गरेका छन् । सामाजिक सुव्यवस्था कायम राख्न आमा समूहले त्यस क्षेत्रमा समुदायस्तरीय विभिन्न आचार संहिता र नीति नियमसमेत निर्माण गर्दै आएका छन् । सामूहिक नीतिनियम पालना नगर्नेलाई सामूहिक कारबाहीसमेत गरिने गरेको किमाथांका महिला विकास समूहकी अध्यक्ष गर्मु शेर्पा बताउँछिन् ।
–कृष्णराज शाक्य