क्षेत्रीय विकास आयोजना कार्यान्वयनका लागि बजेट बाँडफाँट

सहरी विकास तथा भवन निर्माण विभाग आयोजना कार्यान्वयन कार्यालय (आरयूडीपी) ले ७ नं. प्रदेशका एक उपमहानगरपालिका र तीनवटा नगरपालिकामा क्षेत्रीय विकास आयोजना कार्यान्वयनका लागि बजेट बाँडफाट गरेको छ । बुधबार धनगढीमा आयोजित गोष्ठीमा कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका तथा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र महेन्द्रनगर नगरपालिकाका लागि बजेट बाँडफाट गरेको हो ।
आव ०७५/७६ देखि चारवटै सहरमा काम सुरु गर्ने गरी बजेटको बाँडफाट गरिएको क्षेत्रीय सहरी विकास आयोजना क्षेत्रीय आयोजना कार्यान्वयन इकाइका परियोजना निर्देशक चक्रवर्ती कंठले बताए । उनका अनुसार चारवटै नगरपालिकामा आव ०७५/७६ देखि निर्माण सुरु गरी सन् २०२२ भित्र सम्पन्न गर्ने लक्ष्य छ ।
सडक तथा ड्रेन, फोहरमैला व्यवस्थापन, फोहर पानी व्यवस्थापन, पुनर्वास, सामाजिक आर्थिक विकास कार्यक्रम गरी धनगढी उपमहानगरपालिकाभित्र ३ अर्ब १९ करोडको बजेट रहेको छ । ७० प्रतिशत एसियाली विकास बैंक (एडीबी) बाट नेपाल सरकारले सहुलियत दरमा ऋण लिई सम्बन्धित नगरपालिकालाई अनुदान दिने व्यवस्था रहेको बताइएको छ । सडक तथा ड्रेनका लागि एक अर्ब २६ करोड, फोहरमैला व्यवस्थापनका लागि ५७ करोड, फोहर पानी व्यवस्थापनका लागि ४५ करोड, पुनर्वासका लागि ३० करोड, सामाजिक आर्थिक विकास कार्यक्रमका लागि १६ करोड, कन्टिन्जेन्सीका लागि ४१ करोड तथा सवारी र अन्य उपकरणका लागि १ करोड रुपैयाँ गरी कुल ३ अर्ब १९ करोड बजेट बाँडफाट गरिएको छ ।
त्यस्तै गोदावरी नगरपालिकाभित्रका तत्कालीन वडा ३, ४ र १३ एकीकृत फोहरमैला व्यवस्थापन साइटका लागि पहिचान गरिएको छ भने विभिन्न वडामा झण्डै २० किमि सडक निर्माण गरिनेछ । गोदावरी नगर क्षेत्रमा सडक तथा ड्रेन निर्माणका लागि ८४ करोड, फोहरमैला व्यवस्थापनका लागि ४२ करोड, फोहरपानी व्यवस्थापनका लागि १५ करोड, नगरपालिका भवन निर्माणका लागि ११ करोड, सवारी तथा उपकरणका लागि १ करोड, सामाजिक आर्थिक विकासका लागि ८ करोड, कन्टिन्जेन्सी शीर्षकमा २५ करोड गरी कुल एक अर्ब ८९ करोड छुट्याइने भएको छ । त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकाका लागि कुल ९७ करोड छुट्याइएको छ भने महेन्द्रनगर नगरपालिकाभित्रका लागि ३ अर्बको बजेट छुट्याइएको छ ।
–हिमेश विक