गाउँमै स्वरोजगार बन्दै युवा

तातोपानी गाउँपालिका–३ तिलाकोटगाउँका करन सुनार आफ्नै जन्मभूमिमा स्वरोजगारका लागि पाखुरा चलाउँदै आएका छन् । सुनार भन्छन्, “रोजगारका लागि विदेशिनु पर्ने अवस्था छैन काम गर्न सके आफ्नै ठाउँमा रोजगार छ ।” उनीजस्तै तिलाकोट गाउँका सयौं युवा आफ्नो जन्मथलोमा पाखुरी खियाएर स्वरोजगार बन्दै आएका छन् । नेपालमा रोजगार छैन भन्दै विदेशिने युवालाई उनीहरू भन्छन्, “विदेशमा बसेर होइन पसिना चुहाउन सके स्वदेशमै रोजगार छ ।”
तिलाकोट गाउँका युवा आफ्नै बालबालिका अध्ययन गर्ने कालिका प्राथमिक विद्यालयको २ कोठे भवन निर्माण गर्दैछन् । जिल्ला शिक्षा कार्यालय जुम्लाको १६ लाख लगानीमा युवाहरू दुईकोठे भवन निर्माणमा जुटेका हुन् । आफ्नै गाउँठाउँको विकास पनि हुने र आयआर्जन पनि हुने भएपछि युवाहरू सकेसम्म स्वदेशमै रोजगार खोज्नु राम्रो भन्छन् अर्काे युवा परिमल नेपाली । उनले भने, “आफ्नै ठाउँमा पसिना बगाउन सके रोजगार यहाँ नै छ विदेशिनु पर्दैन आफ्नै माटोमा सुन फलाउन सकिन्छ ।”
केही महिनाअघि रोजगारीका लागि कतार गएर फर्केका तिलाकोट गाउँकै गोविन्द रावलले भने, “रोजगारका लागि विदेशिनु राम्रो नहुने रहेछ । अर्काको देशमा अनेक समस्या आइपर्ने,” उनले भने, २ वर्ष कतारमा बसें विदेशमा दुःख गर्नुभन्दा स्वदेशमै दुःख गर्नु राम्रो ।” आफ्नो ठाउँमा दुःख गरे विकास पनि हुने र पैसा पनि कमाउन सकिने ।” अहिले आफ्नै जन्मथलोमा पञ्चेश्वर सहकारीमा काम गर्दै आएको उनले बताए । म यसैमा खुसी छु अब रोजगारका लागि विदेश जाने योजना बुनेको छैन ।
तातोपानी गाउँपालिकाका प्रमुख नवराज न्यौपानेका अनुसार हामी अब रोजगारीका लागि युवालाई विदेश जान नपर्ने वातावरण सिर्जना गर्दैछौं । उनले भने, “आफ्नो गाउँ आफैं बनाउँ भन्ने अभियान सुरु गरिसकेका छौं आफ्नो गाउँठाउँको आफैले विकास गर्ने र भएको दुईपैसा पनि आफंैले खाने हो अब युवा जनशक्तिलाई यसरी उत्प्रेरित गरेर वैदेशिक रोजगारीमा जाने युवा शक्तिलाई सचेत पनि गर्दैछौं ।” प्रमुख न्यौपानेले भने, “युवाले रोजगार पाउन् भन्ने उद्देश्यले विकास निर्माणका कामहरू ठेक्कापट्टामा दिएका छैनौं उपभोक्ता समितिमार्फत नै काम गराएका छौं । तर केही उपभोक्ता समितिले इमान्दारिका साथ काम नगर्दा निगरानी बढाउनु पर्ने अवस्था देखिएको छ ।” उनले भने, “युवा शक्ति पनि विकास निर्माणका काममा उत्साहित छन् र आफ्नै गाउँठाउँमा परिचालन गर्नुपर्छ र स्वरोजगार बनाउनका लागि गाउँपालिका पनि लागिपरेको छ ।”
रोकिएन विदेश जाने लहर
सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर थापाका अनुसार जुम्लाबाट रोजगारका लागि विदेशिने युवाशक्ति उत्तिकै छन् । प्रशासनबाट दैनिक ४/५ जनाले राहदानी बनाउन आउने गरेको उनले बताए । जुम्लाबाट सिफारिस लिएर केन्द्रबाट पनि लिने गरेका छन् ।
जुम्लाका बुद्धिजीवी जीवनबहादुर भण्डारीले वैदेशिक रोजगारीका लागि विदेशिने युवाको रेमिट्यान्सले देश बाँचिरहेको छ, तर कयौं नेपाली युवाको जीवनलीला पनि समाप्त हुँदै गएको बताए । अरू देशले मानवपुँजी आयात गर्छन, देशमा वस्तुको उत्पादन निर्यात गरेर, मानवपुँजीलाई आयात गरेर देशलाई अब्बल, समुन्नत बनाएका छन् तर नेपालले भने मानवपुँजी (युवाशक्ति)को निकासी गरेर मृत मानव शरीर आयात गरेर आफूलाई विश्वमा अब्बल सावित गरेको छ ।
–सागर परियार