क्यान–इन्फोटेक मेला सुरु

एक नम्बर प्रदेशका पुराना ठूला सहरलाई रूपान्तरण गर्दै स्मार्ट सिटीको रूपमा विकास गरिने मुख्यमन्त्री शेरधन राईले बताएका छन् । सूचना प्रविधिको उच्चतम प्रयोग गर्न सकिने आधुनिक सहरको रूपमा विकास गर्ने विषयमा प्रदेश सरकारको ध्यान गएको मुख्यमन्त्री राईले बताएका छन् ।
सुनसरीको इटहरीमा बुधबारबाट सुरु भएको एक नम्बर प्रदेश स्तरीय क्यान–इन्फोटेक मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले धरान सहरलाई त्यस्तो स्मार्ट सिटीको रूपमा विकास गर्न सम्भाव्यताको खोजी गरिने योजना सुनाए । उनले भने, “धरान सहरलाई एउटा छरितो, सुविधा सम्पन्न, आकर्षक स्मार्ट सिटीमा बदल्न सकिन्छ कि भन्नेमा प्रदेश सरकारको ध्यान गएको छ ।”
सूचना प्रविधि सरकारको प्राथमिकतामा रहेको भन्दै मुख्यमन्त्री राईले सय दिनको कार्यसूचीमा पनि सूचना प्रविधिलाई राखिएको जानकारी दिए । प्रदेशको शिक्षा नीतिलाई सूचनामैत्री बनाउने पनि उनले बताए ।
पूर्वमै पहिलो पटक प्रदेशस्तरीय विश्व बजारमा आएका आधुनिक प्रविधिका बारेमा जानकारी दिन प्रविधि मेलाको आयोजना गरिएको हो । स्थानीय जनता स्कुलको मैदानमा आयोजित क्यान इन्फोटेक मेलामा प्रविधिसँग सम्बन्धित ९६ वटा स्टलहरु राखिएका छन् । मेलामा आइटी कम्पनी, इन्टरनेट प्रदायक कम्पनी, कम्प्युटर, ल्यापटप, मोबाइलसँग सम्बन्धित कम्पनीहरुले बजारमा ल्याएका नयाँ प्रोडक्टलाई प्रदर्शनीमा राखेका छन् ।
मेलामा नयाँ–नयाँ प्रविधिका बारेमा जानकारी लिनका साथै कम मूल्यमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको क्यान सुनसरीले जनाएको छ । विश्व बजारमा आएका नयाँ प्रविधिहरुको प्रत्यक्ष रूपमा हेर्न र जानकारी दिन प्रविधि मेलाको आयोजना गरिएको मेला आयोजक समितिका संयोजक सन्देश राईले जानकारी दिए ।
५ दिनसम्म चल्ने सूचना प्रविधि मेलालाई पूर्वका विभिन्न सहरका प्रविधिप्रेमी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको क्यान महासंघका केन्द्रीय सदस्य ठाकुर श्रेष्ठले बताए । मेलाको आयोजनाले प्रविधिकै व्यापार व्यवसाय गर्दै आएका पूर्वका व्यवसायीलाई पनि व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने आयोजकको दाबी छ । प्रविधिका बारेमा सुनेका पूर्वलीहरुले त्यसको अवलोकन गर्दै त्यसको प्रत्यक्ष अनुभव गर्न सक्ने क्यान सुनसरीका अध्यक्ष बलराम भण्डारीले बताए ।