महिलाको बल जाँच्न रस्साकस्सी

गाउँघरमा परम्परागत रूपमा विभिन्न खेलहरु खेलिन्छ । यस्ता खेल प्रायः चाडपर्व र मेलाहरुमा बढी खेलिन्छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भने रस्साकस्सी (डोरी तान्ने खेल) खेलिन्छ, त्यो पनि महिला–महिलाको बीचमा ।
होलीको अवसरमा बाँफिकोटमा आयोजना गरिएको सहिद विवेक चमत्कार स्मृति मेलामा पनि यही खेल आकर्षणको केन्द्र भयो । मेला भर्न आएकाहरुको यही महिलाको रस्साकस्सी खेलमा नै आँखा थियो । स्यार्पुदह किनारमा महिला रस्साकस्सी (डोरी तान्ने खेल) आयोजना गरिएको थियो । रस्साकस्सी खेलमा एउटा लामो डोरी हुन्छ भने त्यही डोरीलाई दुई समूह बनाएर आ–आफ्नो कोर्टतिर तान्ने गरिन्छ । जुन समूहले डोरी तानेर आफ्नो कोर्टमा ल्यायो, त्यही समूह विजयी हुने गरेको छ, जसमा ३ देखि ६ जना सम्मको समूह हुन्छ ।
उक्त मेलामा कमला केसी बोहरा नेतृत्वको स्थानीय महिला समूह विजयी भएको थियो । महिला समूहले दुवै पटक स्थानीय गीता पुरी नेतृत्वको आमा समूहलाई डोरी तानेर पराजित गरेका हुन् । विजयीलाई गाउँपालिकाको तर्फबाट एक हजार दुई सय नगद पुरस्कार प्रदान गरिएको थियो ।
–मेगराज खड्का