भूकम्प प्रभावितले पाएनन् सहुलियत कर्जा

सिन्धुलीका भूकम्प प्रभावितले अझैसम्म सहुलियत कर्जा पाउन सकेका छैनन् । विभिन्न बहाना देखाउँदै बंैकहरूले कर्जा नदिएपछि प्रभावितहरू समस्यामा परेका छन् ।
सरकारले भूकम्प प्रभावितलाई सहुलियत कर्जा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिए पनि जिल्लाका भूकम्प प्रभावितहरू भने अझैसम्म सहुलियत कर्जा नपाएको गुनासो गर्छन् । सरकारी सहुलियत कर्जाको कुनै टुंगो नलागेपछि भूकम्प प्रभावितहरू चर्को ब्याजमा ऋण काढेर धमाधम घर बनाउन थालेका छन् ।
कमलामाई नगरपालिका–४ की मुगा तामाङले अनुदानले मात्रै घर नबन्ने भएपछि ऋण काढेर बनाउनु परेको बताइन् । बैंकले सहुलियतको ऋण दिने भनेको सुने पनि बैंकमा बुझ्न जाँदा ऋण दिन नसकिने बताउने गरेको भन्दै उनले भनिन्, “ऋण नदिएपछि जति नै धेरै ब्याजमा भए पनि ऋण काढ्न परिहाल्यो ।”
पहिलो किस्ता वापतको अनुदान रकम नयाँ घरको जग हाल्दै सकिएपछि ऋण काढ्नुपर्ने बाध्यता रहेको भूकम्प प्रभावितहरूको गुनासो छ । अर्का भूकम्प प्रभावित सुरेन्द्र सापकोटाले पनि सहुलियतको ऋण पाउने आसमा ऋण काढेर घर निर्माण गरिरहेका छन् । “पहिले चाँही सहुलिय ऋण दिन्छौं भनेर सरकारले आशा देखायो, खै अहिलेसम्म पाएका छैनौं,” उनले भने ।
राष्ट्रिय बाणिज्य बैंक जिल्ला शाखा सिन्धुलीका प्रबन्ध निर्देशक पवनकुमार सापकोटाले विभिन्न समस्या देखाउँदै सहुलियत कर्जा प्रवाह गर्न नसकेको बताए । सरकारी कारोबार, कार्यालयमा कामको चाप र कर्मचारी अभावका कारणले भूकम्प प्रभावितलाई कर्जा प्रवाह गर्न ढिलाई भएको उनको भनाई छ । कर्मचारी पदपूर्ति भएपछि छिट्टै प्रभावितलाई २ प्रतिशत ब्याजमा आवास पुनर्निर्माणको कर्जा प्रवाह गर्ने उनले बताए ।
दोस्रो किस्ता नआउँदा पुनर्निर्माण सुस्तायो
सरकारले घर बनाउन दिने ३ लाख रुपैयाँ अनुदान रकमको दोस्रो किस्ता आउन ढिला हुँदा सिन्धुलीको पुनर्निर्माण फेरि सुस्ताउँदै गएको छ । घरको डिपीसी सकेर दोस्रो किस्ताका लागि फारम भरेका भूकम्प प्रभावितहरू कहिले दोस्रो किस्ता आउँछ र बाँकी घर पूरा गर्न पाईन्छ भन्ने पर्खाइमा छन् । पहिलो किस्ता लिएकाहरूले घरको डिपीसी सकेर दोस्रो किस्ताका लागी फारम भरेको तीन महिना बित्दासमेत रकम निकासा नभएको भन्दै दुःखेसो गरेका छन् ।
कमलामाई नगरपालिका–२ भद्रकाली कुसुमटारका रामकुमार योञ्जनले दोस्रो किस्ताका लागि फारम भरेको दुई महिना पुरा भयो । तर अहिलेसम्म उनले रकम नपाएको गुनासो गरे । समयमा पैसा नआउँदा घर बनाउन समस्या भएको उनको गुनासो छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख बासुदेव हुमागाईंले दोस्रो किस्ता बापतको अनुदान रकम आउन ढिला भएको स्वीकार गरे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट कोलेनिकामा फुकुवा आउनु पर्ने तर प्राधिकरणबाट फुकुवा आउन ढिला भएका कारण दोस्रो किस्ता पनि ढिलो भएको उनले बताए ।
सिन्धुलीमा ३४ हजार ९ सय ८८ जना लाभग्राही छन् । त्यसमध्ये ३३ हजार ३४ जनाले अनुदान सम्झौता गरी पहिलो किस्ता पनि पाइसकेका छन् । १५ हजारभन्दा बढी घर निर्माणको चरण रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति सिन्धुलीको सचिवालयले जनाएको छ ।
–कृञ्जला पुलामी