नयाँ सरकारले पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्छ

नेपालमा भर्खरै मात्र निर्वाचनमार्फत् नयाँ सरकार गठन भएको छ । पर्यटन क्षेत्रले पनि नयाँ सरकारसँग धेरै अपेक्षा राखेको छ । आर्थिक समृद्धि र स्थिरताको नारा दिएर बनेको नयाँ सरकारले पर्यटनको पूर्वाधार खडा गर्दै वार्षिक लाखौ पर्यटक नेपाल आउने आशा पर्यटन क्षेत्रको छ । चुनावी घोषणापत्रमा सन् २०२८ भित्र वार्षिक ५० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य राखिएको छ । गत महिना मात्रै ट्राभल एन्ड टुर एजेन्टहरूको साझा संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनमार्फत सीएन पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । कार्यसमिति सदस्य, कोषाध्यक्ष, द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुँदै अध्यक्षमा निर्वाचित सीएन पाण्डे सन् २०३० सम्ममा नेपालमा वार्षिक ५० लाख पर्यटक सजिलै भित्राउन सकिने दाबी गर्छन् । नयाँ सरकारसँग धेरै अपेक्षा रहेको बताउने पाण्डे सरकारको ध्यान पूर्वाधार निर्माणमा हुनुपर्नेमा जोड दिन्छन् । नयाँ बनेको स्थिर सरकारले विमानस्थल निर्माण, सडक निर्माण तथा नेपाल वायुसेवा निगमलाई बलियो बनाउन सके अन्य काम व्यवसायीले गर्नेसमेत दाबी पाण्डे गर्छन् । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्यसमा पनि चौबीसै घण्टा सञ्चालन नहुँदा आउन चाहेका पर्यटकसमेत नेपाल आउन नपाएको पाण्डे बताउँछन् । प्रस्तुत छ, नयाँ सरकारले पर्यटन क्षेत्रमा गर्नुपर्ने काम तथा अबको नेपालको पर्यटनका सम्भावनाका विषयमा केन्द्रित रहेर कारोबारका लागि केदार दाहालले पाण्डेसँग गरेको कुराकानीको सार :
चुनाव सम्पन्न भएर लामो समयपछि सम्भवतः स्थिर सरकार बनेको छ । यसबाट पर्यटन क्षेत्रले के अपेक्षा गरेको छ ?
नेपालको राजनीति विगत लामो समयदेखि अस्थिर हुँदा पर्यटन क्षेत्र पनि अस्थिर नै रहेको थियो । अहिले लामो समयपछि राजनीतिक स्थिरता जुन देखिने संकेत गरेको छ, यसमा पर्यटन मात्रै नभएर सबै क्षेत्र पक्कै पनि आशावादी बनेकै छन् । अझ विशेष गरेर पर्यटन क्षेत्र भनेको देशको अवस्थाअनुसार अगाडि बढ्ने भएकाले पनि पर्यटन क्षेत्रले धेरै अपेक्षा राखेको छ । नेपालको सन्दर्भमा पर्यटन क्षेत्र देशको अवस्थाजस्तै अगाडि बढेको पाइएको छ । मुलुक द्वन्द्वमा फसेको समयमा पनि पर्यटन संकटमा परेको थियो । बन्द, हड्तालले देश आक्रान्त भएको समयमा पनि पर्यटन क्षेत्र अस्थिर रहेको थियो, तर पनि जब देश अलि सहज ढंगले अगाडि बढेको छ, त्यही समयमा पर्यटन पनि सहज अगाडि बढेको छ । यो पछिल्लो लगानी र पर्यटक आगमनदरले प्रस्ट हुन्छ । अस्थिर भएको ठाउँमा कुनै पनि देशका पर्यटक घुम्न नजाने भएकाले नयाँ सरकार र स्थिर सरकारसँगै अब पर्यटकमैत्री हुन्छन् । पूर्वाधार विकासमा जोड दिन्छन् भन्ने आशा र अपेक्षा रहेको छ ।
राजनीतिक दलहरूले चुनावअगाडि पर्यटनलाई प्राथमितामा राख्ने गरेका छन् । तर, जब कार्यान्वयनको चरण आएपछि पर्यटन क्षेत्रलाई बेवास्ता गर्ने गरेका छन् । यसपटक प्राथमिकतामा पर्छ भन्ने सुनिश्चतता छ ?
विगत र अहिलेको समय फरक छ । यस पटक सबै राजनीतिक दलको चुनावी घोषणापत्रमा आर्थिक समृद्धिको कुरा समेटिएको छ । नेपालमा राजनीतिक क्रान्ति सकिएकाले अब मुलुकको विकास गर्नुको विकल्प नभएको निष्कर्ष पार्टीहरूमा रहेको मैले पाएको छु । अहिले प्रत्येक पार्टीले चुनावी घोषणापत्रमा पर्यटनबाट विदेशी मुद्रा भित्राउनका साथै १० वर्षभित्र पर्यटक संख्या ५० लाख पुराउने सम्मका लक्ष्य राखेका छन्, जुन पहिलो पटक हो । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र तथा अन्य पार्टीहरूलाई पनि हामीले धेरै विषयमा सुझाव दिएका थियौं । विगतमा सरकार परिवर्तन भइरहने र प्रत्येक नीति–नियमहरू, विषयहरू बुझाउन समस्या भएको थियो । अब भने स्थिर सरकार बन्ने र एकपटक सुझाव दिएपछि कार्यान्वय हुन्छ भन्ने विश्वास छ । अझ अहिले जुन गठबन्धन सरकार बन्दै छ उहाँहरूले अबको १० वर्षमा ५० लाख पर्यटक पुराउने लक्ष्य चुनावी घोषणापत्रमा राख्नुभएको छ । यदि सो मर्मअनुसार काम गर्न सक्नुभएन भने अर्को चुनावमा समस्या पक्कै हुनेछ । त्यसमा हामी व्यवसायीका तर्फबाट सहयोग गर्नेछौं ।
तपार्इंहरूले सन् २०३० सम्ममा वार्षिक ५० लाख पर्यटक भित्राउने लक्ष्य राख्नुभएको छ, त्यो सम्भव छ ? के–के गर्न आवश्यक छ ?
वास्तवमा हामीले त सन् २०३० मा ५ मिलियन अर्थात् ५० लाख पर्यटकको लक्ष्य राखेका छौं । तर, अहिले बनेको सरकारले सन् २०२८ मा ५० लाख भनेको छ । त्यसैले पनि सोहीअनुसार सरकारले काम गर्छ भन्ने हामीलाई विश्वास छ । हामीलाई के विश्वास छ भने अहिले आइरहेको पर्यटक आगमनदरको ३० प्रतिशत वार्षिक वृद्धि भएमा आगामी सन् २०३० सम्ममा ५० लाख पर्यटक वार्षिक रूपमा नेपाल आउनेछन् । त्यसका लागि कम्तीमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन आवश्यक छ । त्यस्तै नेपाल वायुसेवा निगमसँग १० वटा जहाज आवश्यक पर्छ भने द्रुत मार्गहरू बनेको हुनुपर्छ । कम्तीमा सातै प्रदेशमा ५ हजार मानिस धान्न सक्ने सभाहल आवश्यक पर्छ । आजको डिजिटल मार्केटमा प्रवद्र्धन सोही अनुसार अगाडि जानु आवश्यक छ ।
नेपालमा पर्यटन व्यवसाय सुरु भएको झन्डै १ सय वर्ष पूरा भइसकेको छ । तर, हामीले १० लाख पर्यटक भित्राउन सकेका छैनौं । अब १० वर्षमा यति धेरै पर्यटक भित्राउन सम्भव होला ?
पर्यटन क्षेत्रको समस्या विगतमा जे थियो अहिले पनि त्यही छ । हाम्रोमा समस्या समाधान हुनेतर्फ होइन, बरु थपिँदै गएको छ । हाम्रो पर्यटनको पहिलो सर्त भनेको कनेक्टिभिटी नै हो । एउटा भएको अन्तर्राष्ट्रिय विमानस्थल कैयौं वर्षदेखि विस्तार हुन सकेको छैन । ५० लाख पर्यटक नेपालमा ल्याउन कुनै समस्या छैन । तर, त्यसका लागि पूर्वाधार विकास र पर्यटन क्षेत्रमा देखिएको जटिलता निदान हुनुपर्यो । पर्यटनलाई प्राथमिकतामा मात्र होइन, राष्ट्रिय उद्योगका रूपमा हेरिनुपर्छ । द्वन्द्व सकियो, पर्यटक आगमन निकै बढ्यो । अब हामीले राजनीतिक स्थायित्वसँगै पूर्वाधारको विकासमा जोड दिनैपर्छ । एउटा विमानस्थललाई २४ घण्टा सञ्चालन गर्न सकेका छैनौं । अब सरकारले पूर्वाधार विकासमा समयसीमा तोकेर गर्नुपर्छ । केही नगर्दा अहिलेको अवस्थामा साढे ९ लाख पर्यटक आए भने पूर्वाधार विकास र प्रोडक्ट विस्तार गर्ने हो भने ५० लाख पर्यटक ल्याउन गाह्रो छैन ।
पर्यटनको विकास गर्न सरकार र निजी क्षेत्रमा केमा केन्द्रित हुनुपर्छ ?
पहिलो भनेको पूर्वाधार नै हो । पर्यटनको पहिलो पूर्वाधार भनेको विमानस्थल हो । यसमा अब सबैको ध्यान मात्र जाने होइन, निर्माण हुन आवश्यक छ । अहिले पर्यटक रोक्ने काम त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ, जसको धेरै पर्यटक ल्याउने क्षमता नै छैन । एयरलायन्सहरू कति आउन खोजिरहेका छन्, तर हामी अनुमति दिन नसक्ने अवस्थामा पुगेका छौं; जसका लागि विमानस्थलसँगै नेपाल वायुसेवा निगमले ठूला जहाजमार्फत ठूला पर्यटक बजारमा सीधा उडान गर्न आवश्यक छ । अहिले १ सयभन्दा बढी उडान लुक्लामा हुने गरेको छ । खै पूर्वाधार खडा गरेको ? नेपालमा खै ठूला एयरलायन्सहरूले लामो दूरीबाट उडान गर्न सकेको ? पहिलो सर्त भनेको पूर्वाधार नै हो । चीनमा ६० वटा अन्तर्राष्ट्रिय विमनस्थल तयार हुँदैछन् । भारतमा २० वटा अन्तर्राष्ट्रिय विमानस्थल तयार हुँदैछन् । हामीले अन्य क्षेत्रीय विमानस्थलसँगै चर्चामा रहेको निजगढ विमानस्थल निर्माणमा पनि विशेष ध्यान दिनु आवश्यक छ ।
हामीले ५० लाख पर्यटकको कुरा गरिरहँदा सधैं विवाद हुने विषय गुणस्तर कि संख्या भन्ने हुन्छ । हामी केमा केन्द्रित हुन आवश्यक छ ?
नेपालको सन्दर्भमा दुवै हो । हामीलाई संख्या पनि धेरै चाहिएको छ र गुणस्तर पनि चाहिएको छ । नेपाल खुला अर्थतन्त्रमा चलिरहेको मुलुक हो । संसार नै हेर्ने हो भने विश्वमा पर्यटकको खर्च समानुपातिक रहेको छ । संख्या वृद्धि भएपछि गुणस्तर आफैं वृद्धि हुन्छ । गुणस्तरीय पर्यटक नेपाल आउन आतुर छ । त्यसका लागि व्यवसाय गर्नेहरू पनि लागिपरेका छन् । सरकारले गर्ने पूर्वाधार निर्माण गर्न आवश्यक छ । माग र आपूर्ति नियमअनुसार पर्यटनमा पनि लागू हुन्छ । सोहीअनुसार अगाडि बढ्नु नै उपयुक्त हुन्छ ।
पर्यटन सुरु भएको यति समयसम्म पनि हामीले गन्तव्य विस्तार गर्न नसक्नुको कारण के हो ? मुख्य दोषी को हो ?
यसमा दोषी सरकार पनि होइन । व्यवसायी पनि दोषी होइनन् । नेपालमा द्वन्द्वमा फस्न पुग्यो, जसका कारणले पूर्वाधार विस्तार हुन सकेको थिएन । जसका कारण नजिक र सहज ठाउँमा प्रर्वद्धन भएको हो । तर, पछिल्लो समय रारा, बर्दिया, मुस्ताङलगायतका ठाउँमा पर्यटकको संख्या अत्यधिक वृद्धि हुन थालेको छ । अब स्थानीय तथा प्रदेश सरकार तयार भएका छन् । अब आशा गरौं, देशमा नयाँ पूर्वाधारसँगै नयाँ गन्तव्यहरूको विकास हुनेछन् ।
अबको हाम्रो पर्यटन बजार कुन हो ?
भिजन योजना भनेकै यसकै लागि आवश्यक छ । त्यसैले त पहिले लक्ष्य राख्ने र लक्ष्यलाई कसरी पूरा गर्ने भन्ने योजना चाहिन्छ । भारतीय पर्यटक नेपालमा जति आउनुपर्ने आउन सकेको अवस्था छैन । अब हामीले नयाँ मन्त्री आएपछि भारतीय ठूला सहरमा प्रवद्र्धनका कार्यक्रम राख्ने तयारी गरेका छौं, जसबाट भारतीय पर्यटकको संख्या वृद्धि हुन्छ ।
अबको हाम्रो मुख्य ध्यान भनेको बुद्धिष्ट पर्यटक नेपाल कसरी ल्याउने भन्नेमा जानुपर्छ । विश्वका धेरै बुद्धिष्ट नेपाल आउन चाहन्छन् । त्यसैले उनीहरूलाई ल्याउने कार्यक्रम र नेपालमा पूर्वाधार आवश्यक पर्छ । नेपालमा थाइल्यान्ड, म्यानमार, चीन, कम्बोडियालगायतका मुलुकका पर्यटक आउन चाहन्छन् । विश्वमा २४ प्रतिशत जनसंख्या बुद्धिष्ट छन् । यसका लागि चीन ठूला सहरमा हाम्रो सीधा उडान हुन आवश्यक छ । त्यस्तैगरी भारतबाट हिन्दूहरूलाई ठूलो संख्यामा नेपाल ल्याउन सकिन्छ । भारतबाट मुख्य सहरमा हामीले सीधा उडान गर्न आवश्यक छ । अहिलेको पर्यटन बजार भनेको एसिया नै हो । हाम्रा युरोपियन र अमेरिकन पर्यटक भनेका सदावहार हुन्, जो नेपालको हिमाल हेर्न आउने गर्छन् ।
नेपालमा व्यवसायीले तयार गरेका पूर्वाधारले अहिले वार्षिक कति पर्यटक धान्न सक्छ ?
नेपालमा अहिले आएका पर्यटक र भएको होटल संरचनाबीच तादात्म्यता छैन । होटलको संख्या धेरै नै छ । अहिले नै २०/३० लाख पर्यटकलाई राख्न सकिने होटल छन् । पर्यटकको आगमन एकै पटक हुँदैन । यो बिस्तारै बढ्दै जाने कुरा हो र हामीले पर्यटकका लागि आवश्यक पर्ने होटल पूर्वाधार विकास गर्दै जान सकिन्छ । योजना र प्याकेजिङ राम्रो हुनुपर्यो । पहिले नै पर्यटक धेरै आए भने के गर्ने भन्ने होहल्ला हुन्छ । पर्यटक आएपछि तिनलाई राख्न र आवतजावत गराउन होटल र यातायात आवश्यकताअनुसार व्यवसायीले बनाउँछन् नै । यसका लागि कुनै चिन्ता गर्नु पर्दैन ।
अबको पर्यटन प्रवद्र्धनको फोकस कस्तो हुनु आवश्यक छ ? ब्रोसर बाँडेर पर्यटक नेपाल त आउँदैनन् ।
विश्वमा अहिले डिजिटल मार्केटिङ चलेको छ । हाम्रो फोकस त्यतैतर्फ हुन आवश्यक छ । आजभोलि घुम्ने पर्यटक भनेको सबै कुरा पहिले नै जानकारी लिएर आउने गर्छन्, जसको नेपाल पर्यटन बोर्डले पनि ट्विटर, फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालदेखि चीन, भारतलगायतका टेलिभिजन अनलाइन पोर्टलहरूमा विज्ञापन गर्न आवश्यक छ । त्यस्तैगरी ठूला मार्टहरू नेपालमा सञ्चालन हुन आवश्यक छ । अबको युग भनेको डिजिटल मार्केटिङ नै हो । एक क्लिकमा नेपालको कुन क्षेत्रमा कस्तो भौगोलिक अवस्था छ ? कस्तो प्याकेज कुनले दिएको छ भन्ने सबै इन्टरनेटमार्फत जानकारी लिन्छन् । यसका लागि भनेको डिजिटल मार्केटिङ नै हो ।
सन् २०१७ समग्रमा कस्तो रह्यो ? सन् २०१८ को अपेक्षा के रहेको छ ?
नेपालको इतिहासमा सबैभन्दा धेरै पर्यटक सन् २०१७ मा आउनु नै सुखद पक्ष हो । ९ लाख ५० हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो स्वर्णिम वर्ष थियो । सन् २०१८ मा पनि पर्यटक आगमनदर उत्साहजनक हुन्छ भन्ने अपेक्षा छ ।
नेपालमा अझै पनि धेरै टिकेटिङकै भरमा चलेका ट्राभल कम्पनी रहेका छन् । अब पनि सम्भव छ ?
होइन, धेरै ट्राभल कम्पनीले प्याकेज नै बिक्री गर्ने हो । खालि टिकेटिङ भनेको प्याकेजभित्र पर्ने विषय हो । ट्राभल कम्पनीहरू इनबाउन्ड, आउटबाउन्ड टुर प्याकेज बिक्री गर्ने गरेका छन् । दुवै विषय एकै सिक्काका दुई पाटा हुन् । दुवै विषय एक–अर्कामा निर्भर रहन्छन् ।
टिकेटिङको विषयमा कम्पनी र एयरलायन्सबीच विवाद आइरहन्छ नि ?
एयरलायन्स कम्पनी र टिकेटिङ कम्पनीबीच केही विषयमा विवाद हुन्छन् । यो नेपालमा मात्रै नभएर विश्वभर हुने गरेको छ । कहिले कमिसनको विषय, सेवा–सुविधा, यात्रुका विषयमा विवाद हुने गरेको छ । यो समस्या आइरहन्छ, समाधान पनि भइरहेका छन् ।