Logo

राजधानीका लागि जग्गा उपलब्ध गराउन महानगर तयार

विराटनगर महानगरपालिकाले प्रदेश राजधानीको स्थायी संरचनाका लागि आवश्यक जग्गा उपलब्ध गराउने भएको छ ।
प्रदेश–१ का सभामुख प्रदीपकुमार भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै प्रदेश राजधानीका लागि आवश्यक जग्गा उपलब्ध गराउन महानगरपालिका तयार रहेको जनाएको हो । विराटनगर महानगरले नगरका विभिन्न स्थानमा रहेका ऐलानी तथा सरकारी स्वामित्वका जग्गाहरू प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि प्रयोग गर्न प्रस्तावसमेत गरेको छ । महानगरका मेयर भीम पराजुलीले विराटनगर विभिन्न वडामा सरकारी स्वामित्वका पर्याप्त जग्गा रहेकाले त्यस्ता जग्गामा राजधानीका स्थायी संरचना बनाउन सकिने बताए । उनले प्रदेश सरकारलाई आवश्यक परे थप जग्गासमेत महानगरपालिकाले खरिद गरेर उपलब्ध गराउने स्पष्ट पारे । “प्रदेशको संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन महानगरपालिका तयार छ,” पराजुलीले भने, “महानगर क्षेत्रभित्र थुप्रै ऐलानी र सरकारी स्वामित्वको जग्गा छ । प्रदेश सरकारले चाहेअनुसारको जग्गा उपलब्ध हुन्छ ।”
सभामुख भण्डारीले प्रदेश राजधानीका लागि स्थायी संरचना निर्माण गर्न प्रदेश सरकारसँग छलफल गर्ने बताए । भण्डारीले प्रदेशसभाका लागि बैठक हल साँघुरो भएकाले तत्कालै हलको व्यवस्था गर्नेबारे प्रदेश सरकारसँग छलफल पनि भइसकेको जानकारी गराए । राजधानी तोकिइसकेकाले त्यसैअनुरुपका संरचना बन्नु जरुरी रहेको भण्डारीको भनाइ छ । महानगरपालिकाले बुझाएको ज्ञापनपत्रमा महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानका जग्गामा प्रदेशको स्थायी संरचना निर्माणको प्रस्ताव गरिएको छ । वडा नम्बर १ देखि १९ सम्मका उपयुक्त जग्गामा प्रदेश सरकारले स्थायी संरचना निर्माण गर्नसक्ने महानगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्