जापानमा कोरोना : व्यापार, पर्यटनदेखि शिक्षा र ओलम्पिकमा असर «

जापानमा कोरोना : व्यापार, पर्यटनदेखि शिक्षा र ओलम्पिकमा असर

जापानमा कोरोना भाइरसबाट संक्रमितको संख्या बढेर ९ सय नजिक पुग्दा ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । मंगलबारसम्ममा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढेर ५ पुगेको जापानका स्वास्थ्यमन्त्री कोइची हागिउदाले पुष्टि गरेका छन् । मंगलबार खानागावा प्रिफेक्चरमा कोरोना भाइरसबाट संक्रमित ८० वर्षीय महिलाको निधन भएको छ ।
मृतक महिलाको योकोहामा तटमा रोकिएको कोरोना संक्रमण फैलिएको डाइमन्ड प्रिन्सेस पानीजहाजबाट उद्धार गरी उपचार भइरहेको थियो । हालसम्म यो पानीजहाजमा संक्रमित पाइएका ४ जनाको मृत्यु भएको छ । उक्त पानीजहाजका ३७ सय ११ यात्रुमध्ये ७ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसबाहेक जापानभर गरेर हालसम्म १ सय ६० जना कोरोना भाइरस संक्रमित पाइएका छन् ।
जसमध्ये १ सय १ सय ४६ जना चिनियाँ पर्यटकसहित विदेशी पर्यटक रहेको जापानी अधिकारीहरूले बताएका छन् । यसैगरी चीनको वुहानबाट उद्धार गरी ल्याइएका जापानीमध्ये १४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । मंगलबारसम्ममा संक्रमितमध्ये २६ जना स्वास्थ्य उपचारपछि घर फर्किएका छन् । उपचार भइरहेका मध्ये १६ जनाको अवस्था गम्भीर रहेको जापानी अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न समाचार संस्थाले उल्लेख गरेका छन् ।
अनलाइनमा काम गराउन थाले कम्पनीहरूले : जापानभर कोरोना भाइरसको संक्रमण बढेपछि कैयौं जापानी कम्पनीले आफ्ना कर्मचारीहरूलाई अनलाइनमै घरमा बसेर काम लगाउन थालेका छन् ।
जापानका उद्योगमन्त्री हिरोसी काजियामाले व्यावसायिक क्षेत्रमा कोरोनाको संक्रमण बढ्दै गएमा थप असर पार्ने भन्दै यसलाई नियन्त्रण गर्न कम्पनीहरूले अनलाइनमा आधारित रहेर कर्मचारीहरूलाई काम लगाउन अनुरोध गरेका छन् ।
मन्त्री हिरोसीले कोरोना भाइरसको संक्रमण फैलन नदिने उपायहरूमध्ये यो प्रमुख रहेको भन्दै सम्भव भएसम्म कम्पनीहरूलाई कर्मचारीलाई अनलाइनमा काम गराउन आग्रह गरेका छन् ।
यसैगरी मन्त्री हिरोसीले स्वस्थ नभएका कर्मचारीलाई काममा आउन बाध्य नबनाउन तथा कोरोना भाइरसको संक्रमणजन्य संकेत पाइएका कर्मचारीलाई स्वास्थ्य परीक्षणका लागि पठाउन तथा आराम गर्न लगाउन कम्पनीहरूलाई अनुरोध गरेका छन् ।
विद्यालयहरू बन्द हुन थाले : कोरोना भाइरसको संक्रमण फैलिएको जापानको होक्काइदो तथा चिबा क्षेत्रमा आधा दर्जन प्राथमिक विद्यालयहरू बन्द भएका छन् । दुई स्कुले विद्यार्थीमै संक्रमण पाइएपछि होक्काइदोमा विद्यालयहरू बन्द हुने क्रम बढेको तथा अभिभावकहरूले आफ्ना बालबालिकालाई विद्यालय पठाउन आनाकानी गर्न थालेको बताइएको छ । राजधानी टोकियो नजिकको चिबा प्रिफेक्चरमा समेत एक व्यक्तिको निधन र अन्य केहीमा संक्रमण पाईएपछि केही विद्यालय बन्द गरिएका छन् । भाइरस संक्रमण फैलने आशंकाका बीच विद्यालयहरू बन्द हुने क्रम बढे पनि सरकारी अधिकारीहरूले बन्द गर्नुपर्ने अवस्था नआइसकेको भन्दै सुरक्षात्मक अन्य उपाय अपनाउन विद्यालयहरूसँग सहकार्य थालेको जनाएका छन् ।
होटलहरू खाली हुँदै : जापान आउने विदेशी पर्यटकको संख्यामा फेब्रुअरी महिनामा कम्तीमा २० प्रतिशत कमी आएको अनुमान गरिन थालिएको छ । एक चौथाइ पर्यटक ओगटेको चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि चिनियाँ पर्यटकको आगमनमा ७० प्रतिशतले कमी आएको अनुमान जापानी पर्यटन क्षेत्रमा गरिएको छ ।
जापानमा कोरोना भाइरसको संक्रमण फैलंदै जाँदा अमेरिकाले सुरक्षा चेतावनी जारी गरेपछि अमेरिकासहित युरोपेली पर्यटकको संख्यामा समेत लगातार गिरावट आइरहेको जापानी समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।
जापान आफैंले कोरोना भाइरसको संक्रमण फैलिएको ताइवान, चीनको अधिकांश भूभागसहित हङकङ तथा इरान, दक्षिण कोरियाको केही भाग एवं इटलीबाट आउने पर्यटकमा समेत कडाइ तथा रोक लगाइरहँदा पर्यटक आगमनमा थप कमी आएको छ ।
यसको असर जापानमा सञ्चालित होटल तथा रेस्टुराँ व्यवसायमा प्रत्यक्ष पर्न थालेको छ । सधैं भरिभराउ हुने पर्यटकीय क्षेत्रका होटलहरूले समेत जापानको व्यस्त पर्यटकीय सिजन मानिने फेब्रुअरीमा छुटका अफर लगाउन थालेका छन् । रेस्टुराँहरूमा गरिने ठूला भोज तथा कम्पनीका पार्टी र बैठकहरू रद्ध गरिएका छन् भने व्यस्त क्षेत्रहरूमा पर्यटकहरू नजाने समस्याले पर्यटकीय क्षेत्रहरू सुनसान देखिन थालेका छन् । यसको असर क्रमश: सेयर बजारमा देखिँदा सेयर बजार ओरालो लाग्न थालेको छ ।
ओलम्पिक अनिश्चित बन्दै : कोरोना भाइरसको संक्रमण फैलँदै जाँदा जापानमा तीन महिनापछि हुने २०२० टोकियो ओलम्पिक अनिश्चितताको भूमरिमा रुमल्लिन पुगेको छ ।
ओलम्पिक आयोजक कमिटीले निर्धारित समयमै ओलम्पिक खेल हुने बताउँदै तयारी अघि बढाइरहेको छ । तर ओलम्पिक मसाल जुलुससहित म्याराथनलगायत खेलमा दर्शक घटाउने उपायसहित खेल स्थलमा कसरी कोरोना संक्रमण हुन नदिने भन्ने अर्को चिन्ता आयोजकलाई थपिएको छ । यस्तोमा विश्व ओलम्पिक कमिटीले खेल आयोजनाबारे केही मुख नखोले पनि खेल निर्धारित मितिमा हुन्छ भन्न सकिराखेको छैन । ओलम्पिक पदकमा अगाडि रहेको अमेरिका आफैंले अत्यावश्यकबाहेक जापान भ्रमण नगर्न सूचना जारी गरेको तथा चीनमा कोरोनाको महामारी भइरहँदा खेल निर्धारित समयमा नहुने आशंकालाई थप बल मिलेको छ ।
गोकर्ण अधिकारी

प्रतिक्रिया दिनुहोस्