उपेन्द्र यादवको नेतृत्वमा फोरम सरकारमा सहभागी हुन्छ : मुख्यमन्त्री राउत

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले एक-दुई दिनभित्रै संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने विश्वास दिलाएका छन् । उनले भने, “संविधान संशोधनको लागि विभिन्न धारा-उपधारामा संशोधन गर्ने प्रतिबद्धता आउँदैछ, हामी दुई दिनभित्रै सरकारमा सहभागी हुन्छौं ।” बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मुख्यमन्त्री राउतले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा फोरम नेपाल सरकारमा सहभागी हुने जानकारी दिए । उनले भने, “उपेन्द्रजीकै नेतृत्वमा फोरम सरकारमा सहभागी हुन्छ, हिजो पार्टीले सरकारमा जाने निर्णयसमेत गरिसकेको छ ।”
प्रदेश नम्बर २ लाई समृद्ध बनाउनको लागि आफूले दत्तचित्त भएर काम गर्ने पनि प्रतिबद्धता उनले व्यक्त गरे । मुख्यमन्त्री राउतले भने, “मुख्यमन्त्रीको रूपमा मैले शपथ लिएकै दिन केही प्रतिबद्धता जनाएको थिएँ । सोहीअनुसार म जनताको सेवामा उत्रिनेछु । मेरो पहिलो प्राथमिकता भनेको नै सुशासन कायम गर्दै प्रदेशलाई व्यापक विकासको माध्यमबाट समृद्ध बनाउनु हो, यसको लागि मसँग सक्षम टिम छ ।”
अरु प्रदेशको तुलनामा २ नम्बर प्रदेशमा शिक्षा, स्वास्थ्य र बाटोघाटोको व्यापक समस्या रहेको उनको गुनासो थियो । मुख्यमन्त्री राउतले भने, “हाम्रो प्रदेशमा शिक्षा र स्वास्थ्यको अवस्था दयनीय छ । मानव विकासको सूचकांकको हिसाबमा पनि हाम्रो प्रदेशमा शिक्षा र स्वास्थ्यको अवस्था धेरै तल छ । यसलाई स्तरोन्नति गर्नु हाम्रो दायित्व हो, त्यतातिर हाम्रो पर्याप्त ध्यान जान्छ ।”
२ नम्बर प्रदेशमा कृषिको पनि धेरै ठूलो सम्भावना भएको उल्लेख गर्दै उनले थपे, “कृषिको व्यापक सम्भावना छ, जनताले मल, खाद्य र बीउ–बिजन समयमै पाएका छैनन् । कुनै जमाना यस्तो थियो, हामी खाद्यान्न विदेशतिर निर्यात गथ्र्यौं, तर अहिलेको अवस्था आयात गर्नुपर्नेमा छ ।”