दोलखा भीमेश्वर मन्दिरमा क्षमापूजा «

दोलखा भीमेश्वर मन्दिरमा क्षमापूजा

दोलखा-अघिल्लो हप्ता दोलखाको भीमेश्वर मन्दिरको शिलामा पसिना आएपछि राष्ट्रपतिको तर्फबाट मंगलबार क्षमा पूजा गरिएको छ । शिलामा आएको पसिना पुछेको कपास सहित महाँप्रसाद राष्ट्रपति कार्यालय शितल निवास पु-याइएपछि राष्ट्रपतिको तर्फबाट मंगलबार क्षमा पूजा गरिएको हो । सरकारका तर्फबाट दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा सहितको टोली र स्थानीय गुठियार, पुजारी र जनप्रतिनिधिहरुले संयुक्त रुपमा क्षमापूजा गरेका थिए ।
राष्ट्रपथिको प्रतिनिधित्व गर्दै गृह मन्त्रालयले क्षमा पूजाका लागि २ वटा बोका सहित आवश्यक दक्षिणा पठाएको थियो । राष्ट्रपति कार्यालयबाट पनि आवश्यक दक्षिणा प्राप्त भएको भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ । गृह मन्त्रालयको तर्फबाट २ वटा काला बोका र स्थानीयको तर्फबाट २ वटा गरी ४ वटा बोकाको बलि दिएर क्षमापूजा गरिएको भिमेश्वर २ का वडा अध्यक्ष समेत रहेका स्थानीबासी बिराजमान श्रेष्ठले जानकारी दिए । मंगलबार बिहान ९ बजेबाट सुरु गरिएको क्षमापूजामा ११ आवर्ती रुद्री पाठ तथा राष्ट्रमा कुनै अशुभ घटना नहोस् भन्दै महापूजा गरिएको थियो । गृह मन्त्रालयको तर्फबाट दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले मंगलबार विहान ९ बजेदेखि ५ घण्टासम्म लगातार कर्ताका रुपमा भीमेश्वरको शिलामा पूजा गरेका थिए ।
पूजा गरेको प्रसाद बुधबार राष्ट्रपति कार्यालय पठाउने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।बिहिबार बिहान ६ः२५ देखी ८ः३० सम्म झण्डै २ घण्टा मन्दिरको शिलामा पसिना आएको थियो । भीमेश्वरको शिलामा पसिना आउनुलाई राष्ट्रमा परिवर्तन हुने सूचकका रुपमा हेरिने जनविश्वास रहेकोले राष्ट्रको तर्फबाट क्षमा पूजा गर्ने प्रचलन रहेको स्थानीय गुठियारहरुले जनाएका छन् । भीमेश्वरको शिलामा पसिना आएपछि पसिना पुछेको कपास राष्ट्रपतिलाई लगेर बुझाएको छ । स्थानीयको तर्फबाट लगेको कपास राष्ट्रपति विद्यादेवी भण्डारीले ग्रहण गरेकी हुन् ।  

प्रतिक्रिया दिनुहोस्