भण्डारी दोस्रो कार्यकाल राष्ट्रपति बन्ने पक्का, कांग्रेसबाट राईको उम्मेदवारी

नयाँ राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस नेतृ कुमारी लक्ष्मी राईको उम्मेदवारी परेको छ । फागुन २९ हुने निर्वाचनका लागि राष्ट्रपति भण्डारी र राईले निर्वाचन कार्यतालिका अनुसार बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
संविधान कार्यान्वयनपछि हुन लागेको निर्वाचनमा भण्डारी र राईको उम्मेदवारी परे पनि भण्डारी नै राष्ट्रपति निर्वाचित हुने निश्चितझैं छ । उनलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्र (बाम गठबन्धन)को समर्थन छ । राईलाई भने नेपाली कांग्रेसको समर्थन छ ।
वर्तमान राष्ट्रपति रहेकी भण्डारी निर्वाचित हुँदा उनी दोस्रो कार्यकालका लागि निर्वाचित हुनेछिन् । यसअघि रामवरण यादव राष्ट्रपति थिए । गणतन्त्र स्थापनापछि तेस्रो पटक राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
संविधानमा संघीय संसद् गठबनपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुरूप राष्ट्रपतिको निर्वाचन हुन लागेको हो । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरकफरक लिंग वा समुदायको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ ।
उम्मेदवारी दर्ता गर्न भण्डारीसँगै उम्मेदवारी प्रधानमन्त्री केपी शर्मा ओली समेत संसद् भवन पुगेका थिए । प्रधानमन्त्री पुगेको केही समयभित्रै भण्डारी संसद् भवनस्थित राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोननय दर्ता गरेकी हुन् ।
भण्डारीको प्रस्तावकमा एमाले नेता माधव नेपाल, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ र माओवादी नेतृ ओनसरी घर्ती छन् । त्यस्तै, समर्थकमा गृहमन्त्री एवं माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, एमाले नेता गोकर्ण विष्ट, रवीन्द्र अधिकारी छन् ।
मंगलबार राति बसेको एमाले स्थायी समिति बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, “नेपालको संविधानको मूल भावना र मर्मअनुसार राम्रो काम गरेको छु, यहाँहरू सबैले मूल्याकंन गर्नुहुने नै छ । जे गरेको छु, सबैको आँखा अगाडि नै छ, बाहिरी मनले होइन, भित्रि मनले विचार गर्नुपर्छ ।”
भण्डारीविरूद्ध उम्मेदवारी दर्ता गराएकी राईको प्रस्तावकमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, देवेन्द्रराज कँडेल र पार्वती डीसी चौधरी छन् । मेखलाल श्रेष्ठ राधा घले लगायत समर्थक छन् । बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठले राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । एमालेले भण्डारीलाई निरन्तरता दिने निर्णय गरेपछि कांग्रेसले महिला उम्मेदवारलाई नै प्राथमिकतामा राख्दै राईलाई अघि सारेको हो ।
दुवै भोजपुरे
राष्ट्रपतिका दुवै उम्मेदवार महिलामात्रै होइनन्, भोजपुरबासीसमेत हुन् । भण्डारी भोजपुरस्थित मानेभन्ज्याङकी हुन् भने राई छिनामखुकी हुन् । भण्डारी एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारी पत्नी हुन् । उनी एमालेको उपाध्यक्षसमेत भइसकेकी छन् ।
राई सहिद देवानसिंह राईकी छोरी हुन् । उनी दोस्रो संविधानसभामा सांसद् थिइन् । उनी कांग्रेस पूर्वकेन्द्रीय सदस्यसमेत हुन् । उनका बाबु देवानसिंह बिपी कोइराला सरकारका मन्त्री थिए ।
कसले हाल्न पाउँछन् मत ?
राष्ट्रपति निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सदस्यले मत हाल्न पाउने व्यवस्था छ । कानुनअनुसार संघीय संसद्का सदस्यको मतभार ७९ छ भने प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता रहेको आयोगले जनाएको छ । आयोगका अनुसार मनोनयन दर्तासँगै बुधबारदेखि नै आचारसंहिता लागू भएको छ । आयोगले राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले प्रचारप्रसारमा ४ लाख खर्च गर्न पाउने सीमा तोकेको छ ।