रेमिट्यान्स र यसको सदुपयोग «

रेमिट्यान्स र यसको सदुपयोग

रेमिट्यान्स घट्दै जानाले गरिबी निवारणको राष्ट्रिय लक्ष्यमा प्रत्यक्ष असर पर्ने र सार्वजनिक आय संकुचित बन्ने अवस्था रहन्छ । रेमिट्यान्स घट्दै जानाले गरिबी निवारणको राष्ट्रिय लक्ष्यमा प्रत्यक्ष असर पर्ने र सार्वजनिक आय संकुचित बन्ने अवस्था रहन्छ । 

 नेपालकोे अर्थतन्त्र चलायमान हनुमा रेमिट्यान्सको ठूलो योगदान रहेको छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा रेमिट्यान्सको हिस्सा धेरै हुने देशहरूमा नेपाल विश्वको तेस्रो स्थानमा पर्छ । गरिबी घटाउने, साक्षरता दर बढाउने, आधारभूत आवश्यकताको पूर्ति गर्ने, कृषि, व्यापार, पर्यटन, ऊर्जा, विकासका पूर्वाधारहरूजस्ता क्षेत्रहरूमा अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण तत्व बनेको छ रेमिट्यान्स । आय आर्जनका अन्य क्षेत्रहरूबाट आशा गरेजति उपलब्धि हासिल गर्न नसकेको अवस्थामा अर्थतन्त्रका सबै क्षेत्र चलायमान बनाउने रेमिट्यान्सले अर्थतन्त्र धान्नुलाई अल्पकालका लागि रामै्र मान्नुपर्छ ।
तर, दीर्घकालमा पनि यसरी नै अर्थतन्त्र रेमिट्यान्समा भर पर्नु राम्रो मानिँदैन । नेपाली युवाहरूको ऊर्जाशील समय विदेशमा सस्तोमा श्रम बेच्ने अनि बुढेसकालमा देशमा बाँकी जीवन बिताउने लाहुरे प्रवृत्तिको अर्थतन्त्र देश विकासका लागि बाधक मानिन्छ ।विदेशमा एक जनाले कमाएको पैसाले नेपालमा पाँच÷छ जनाको परिवार पाल्नुपर्ने बाध्यता छ । विदेशमा दुःख गरेर कमाएको अधिकांश पैसा यहाँ मोटरसाइकल, गाडी, मोबाइल, घर, सुनचाँदीका गरगहना, घडी, कपडा, विदेशी मदिराजस्ता अनुत्पादक क्षेत्रमा खर्च हुने गर्छ । यी वस्तुहरू प्रायः विदेशमा नै उत्पादन हुने हुनाले रेमिट्यान्सको ठूलो हिस्सा पुनः विदेशमा नै जान्छ ।
खाद्यान्न, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य वस्तुहरूमा रेमिट्यान्सको ९० प्रतिशत जति रकम खर्च हुने र बाँकी रकम मात्र उत्पादनमूलक क्षेत्रमा लगानी हुने गरेको छ । रेमिट्यान्सको ठूलो हिस्सा उत्पादनमूलक क्षेत्रमा लगानी नभई उपभोगमा खर्च हुँदा देशमा उत्पादन घट्दै गई व्यापार सन्तुलनमा नकारात्मक असर पर्न जानुका साथै परिवारको जीवनस्तर माथि उठ्न सकिरहेको छैन । रेमिट्यान्सका कारणले देशमा विलासी वस्तुहरूको प्रयोग पनि दिन–प्रतिदिन बढेको छ । वैदेशिक रोजगारीमा गएकाले ल्याएका विलासी वस्तुहरूको देखासिकीमा यहाँ बस्ने उपभोक्ताले पनि त्यस्तै वस्तुहरूको प्रयोग गर्नाले ती वस्तुहरूको माग बढ्दै गएको छ । यी वस्तुहरूको देशमा उत्पादन नहँुदा परनिर्भरतामा वृद्धि भई परजीवी अर्थतन्त्र मौलाउँदै देशमा स्वाधीनताको प्रश्न सधैं दोहोरिरहन्छ । हामी सधैँ उपभोक्ता मात्र भएर बाँच्नुपर्छ, उत्पादक भएर रहने सम्भावना हँुदैन । तसर्थ सधैं रेमिट्यान्समा मात्र निर्भर नभई यसलाई केवल पुलका रूपमा लिएर स्वदेशमै लगानी, उत्पादन, आय र रोजगारी बढाउनेतिर कदम चाल्न सके समुन्नत राष्ट्रको निर्माणमा रेमिट्यान्स कोसेढुङ्गो सावित हुनेछ ।हालै सार्वजनिक एक तथ्याङ्कअनुसार विश्वका १ सय १० मुलुकमा नेपालीहरू रोजगारीका लागि पुगेका छन् । विगत दुई दशकयता वैदेशिक रोजगारीमा गएका नेपालीहरूको संख्या ४४ लाख ५३ हजार ४ सय ४६ छ ।
यीमध्ये सबैभन्दा धेरै मलेसियामा १३ लाख ४९ हजार १ सय २९, कतारमा १० लाख ४७ हजार १ सय २३, साउदी अरबमा ७ लाख ७५ हजार १३, युएईमा ६ लाख ६२ हजार ८८, कुबेतमा ३ लाख ६६ हजार ९ सय १६ र बहराइनमा १ लाख १ हजार १ सय ७८ जना नेपाली गएका छन् । नेपालबाट बर्सेनि ४ देखि ५ लाख युवा वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांक भए पनि केही समययता यो संख्यामा कमी आएकोे छ । यसो हुनुको मुख्य कारण देशमा गएको विनाशकारी भूकम्पपछि धेरै नेपाली युवा आफ्नो परिवारसँगै बस्न चाहेका र देशमा पुनर्निर्माण अभियान अगाडि बढ्यो भने देशभित्रै रोजगारीका अवसर सिर्जना हुने आशा राखी पनि देशमै बस्न चाहेका छन् ।नेपालको संवधान, २०७२ मा रहेको संघीय शासन पद्धतिको कार्यान्वयनको सुरुवातीमा रहेकाले देशको ठूलो स्रोतका रूपमा रहिरहेको रेमिट्यान्समा आइरहेको कमीले नवीन शासकीय पद्धतिको कार्यान्वयनलाई नै चुनौतीपूर्ण बनाउन सक्ने स्थिति पनि देखा पर्न सक्छ ।केही समयअघि विश्व बैंकले ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै हालकै अवस्था रहिरहेमा नेपाल भित्रिने रेमिट्यान्स घट्न सक्ने र यसले नेपाली अर्थतन्त्रमा भूकम्प र नाकाबन्दीपछिको अर्को दयनीय अवस्था देखा पर्न सक्नेतर्फ औंलाएको छ ।
विश्व बैंकले गरेकोे एक प्रक्षेपण अनुसार नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर भएकाले गर्दा रेमिट्यान्स आप्रवाहमा हालको वृद्धिदर कायम भएको तर हालै विश्वमा देखा परेको कोरोना भाइरसको प्रकोपको समस्या लामो समयसम्म रहिरहेमा आगामी वर्ष यसमा अझै कमी आउन सक्ने देखिन्छ ।घट्दै गएको रेमिट्यान्सको सदुपयोग हुन नसक्नु नेपालको अर्थतन्त्रका लागि गम्भीर समस्या हो ।
सरकारले रेमिट्यान्सबाट प्राप्त रकम सदुपयोगका लागि ऋणपत्र, पूर्वाधार कम्पनी, श्रम बैंकजस्ता विभिन्न योजनाहरू ल्याएको भए तापनि यी कुनैबाट भने जस्तो सफलता प्राप्त हुन सकेको छैन । यसरी हेर्दा अहिले नेपालको अर्थतन्त्रमा केही समस्या आउने सम्भावना देखिन्छ । रेमिट्यान्स घट्दै जानाले गरिबी निवारणको राष्ट्रिय लक्ष्यमा प्रत्यक्ष असर पर्ने र सार्वजनिक आय संकुचित बन्ने अवस्था रहन्छ । आयात धान्ने प्रमुख स्रोतका रूपमा रहेको रेमिट्यान्स घट्नु भनेको उपभोग्य वस्तुको आयात गर्न सक्ने क्षमता घट्नु पनि हो । यस्तो अवस्थामा अत्यावश्यक वस्तुहरूको आयातमा कठिनाइ उत्पन्न भई बजारमा यी वस्तुहरूको चरम अभाव हुन सक्छ । त्यति मात्र होइन, रेमिट्यान्समा कमी हुनेबित्तिकै मानिसहरूको क्रयशक्तिमा कमी आउँछ । यदि क्रयशक्तिमा कमी आउने हो भने उपभोक्तामुखी व्यापारमा निर्भर हाम्रो राजस्वको लक्ष्य पूर्ति हुन सक्दैन, जसले गर्दा बजेट घाटा बढ्छ । 
हाल नेपालमा सञ्चित कुल वैदेशिक मुद्रामा रेमिट्यान्सको ठूलो योगदान रहेको छ । यस्तो अवस्थामा देशको शोधनान्तर अवस्था कमजोर हुने, चालू खाता नोक्सानीमा आउन सक्ने, बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्न सक्नेसम्मका असर पर्न सक्ने सम्भावना पनि विश्व बैंकले आंैल्याएको छ । यस्तो सम्भावनालाई मध्यनजर राखेर नेपालले उपयुक्त मौद्रिक तथा आर्थिक नीतिको अवलम्बन गर्न विश्व बैंकले सुझाव दिएको छ ।वैदेशिक रोजगारीमा गएका जनशक्तिमध्ये ७५.५ प्रतिशत अदक्ष रहेको तथ्यांक छ । यो जनशक्तिले सीप सिकेर वैदेशिक रोजगारीमा जाने हो भने रोजगारीबाट पुँजीका साथै प्रविधि र ज्ञान भित्र्याउने र उक्त ज्ञान, सीप तथा प्रविधिको सम्मिश्रणबाट लगानी, आम्दानी र बचत गर्ने सम्भावना रहन्छ । यसो हुन सके मात्र हाम्रो अर्थतन्त्र बलियो हुन जान्छ ।रेमिट्यान्सलाई सदुपयोग गर्ने महत्वपूर्ण क्षेत्र भनेको जलविद्युत् आयोजनामा लगानी हो । यसका लागि सरकारले मध्यस्तरको जलविद्युत् आयोजना निर्माण गर्ने र रेमिट्यान्सबाट प्राप्त रकम लगानी गर्नेलाई निश्चित प्रतिशत लाभांश दिने योजना ल्याउन सक्छ । यसो गर्न सके प्रशस्त विद्युत् उत्पादन भई लोडसेडिङको समस्या सदाका लागि समाप्ति हुनुका साथै कलकारखाना चलाउन आवश्यक विद्युत् उपलब्ध भई देशमै आवश्यक वस्तु उत्पादन हुन थाल्थ्यो । यसले विदेशी वस्तु आयातमा कमी आउनुका साथै बढी भएको बिजुली विदेशमा बेची वैदेशिक मुद्रा आय आर्जनको ढोका खुल्ने थियो ।रेमिट्यान्सलाई सदुपयोग गर्ने अर्को महत्वपूर्ण क्षेत्र भनेको कृषि हो । यो क्षेत्र आन्तरिक खपत र निर्यात दुवै तर्फ सम्भावना बोकेको क्षेत्र हो । रेमिट्यान्सलाई व्यावसायिक कृषिमा लगाानी गर्ने हो भने त्यहाँबाट उत्पादित बस्तु स्वदेशमा खपत गर्ने र बाँकी रहेको निर्यात गर्ने ठूलो सम्भावना रहन्छ । हाल विदेशमा गएका धेरै युवाहरू त्यहाँ कृषिमा काम गरिरहेका छन् ।
स्वदेशमा नै लगानीको वातावरण सिर्जना गर्ने हो भने तिनीहरू नेपाल फर्केर त्यहाँ सिकेको श्रम र ल्याएको पुँजी दुवै यहाँ प्रयोग हुन सक्छ । नेपालले बर्सेनि अर्बौं रुपैयाँको तरकारी आयात गर्ने गरेकोमा त्यसलाई पनि प्रतिस्थापन गर्ने गरी व्यवसायिक कृषिमा लगानी गर्न सके एकातिर व्यापार घाटा कम गर्न सकिन्छ भने अर्कातिर विभिन्न अवरोधका कारण ताजा तरकारी उपभोग गर्न नपाउने अवस्थाको अन्त्य हुन्छ । त्यसै गरी पशुपालनमा पनि लगानी गर्न सकेमा मासु र दुग्धजन्य पदार्थमा हामी आत्मनिर्भर बन्नुका साथै निर्यात पनि गर्न सकिने अवस्थाको सिर्जना हुन्छ ।देशमा सबै तहको चुनाव सम्पन्न भई स्थायी सरकार बनिसकेको अवस्थामा रेमिट्यान्सबाट आएको रकम लगानी गर्न चाहनेलाई निश्चित समयसम्म कर छुटको व्यवस्था गर्ने हो भने पनि लगानीकर्ता प्रोत्साहित हुन्छन् । त्यसैगरी रेमिट्यान्सलाई सदुपयोग गर्नका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डजस्तै अर्को निकाय गठन गर्न पनि सकिन्छ ।
उक्त निकायले उत्पादनमूलक क्षेत्रमा लगानी गरिदिने र नाफाको सुनिश्चितता दिन सहयोगी भूमिका खेल्ने हो भने रेमिट्यान्सको सदुपयोगमा सहयोग पुग्छ ।वैदेशिक रोजगारीमा जानेहरूले रेस्टुराँ व्यवसायकोे राम्रो ज्ञान हासिल गर्ने गरेको पाइएको छ । उनीहरूले विदेशमा सिकेको यो सीप हामीले उपयोग गर्नुपर्छ । एउटा विदेशी व्यक्ति खाडी राष्ट्रमा पुगेर नेपाली कुकले पकाएको खाना स्वाद मानेर खान्छ भने सोही गुणस्तरको खाना स्वदेशमा नै बनाएर खुवाउन सके पर्यटकलाई आकर्षित गरी नेपाल भ्रमण वर्ष सफल हुने थियो ।
 (लेखक त्रिवि अर्थशास्त्रका उपप्राध्यापक हुन् ।)

डा.दिलनाथ दंगाल

प्रतिक्रिया दिनुहोस्