एक महिनापछि पदमा फर्किइन् राज्यमन्त्री झा «

एक महिनापछि पदमा फर्किइन् राज्यमन्त्री झा

वीरगन्ज-प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिएकी डिम्पल झाले एक महिनापछि पुनः पदवहाली गरेकी छन् । २०७५ साउन ९ गते प्रदेश २ को सरकारले तेस्रो पटक सरकार विस्तार गर्दा राजपाबाट राज्यमन्त्रीमा डा.झाले शपथ लिएकी थिइन् ।
प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा, पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको आफ्नो प्रयासका बाबजुद पनि स्थिति अनुकूल हुने अवस्था नरहेकाले राज्यमन्त्री पदबाट राजीनामा गरेको घोषणा गरेकी झा फागुन १२ गते पुनः पदमा वहाली भएकी हुन् । प्रदेश सरकारले मनमौजी तरिकाले काम गरेको र राज्यमन्त्रीलाई सौतेनी व्यवहार गरेको भन्दै पदबाट राजीनामा दिएकी थिइन् । डा. झा राजपा नेपालका अध्यक्ष मण्डल सदस्य अनिलकुमार झाकी श्रीमती हुन् ।
पदबहाली अघि राज्यमन्त्री झा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल सोमबार भौतिक पूर्वाधार विकास मन्त्रालयमा पुगेर भावी रणनीति र कार्यदिशाको बारे छलफल गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेकपासँग दुई सिटमा तालमेल गरेको राजपाले निर्वाचनमा सफलता पाएपछि प्रदेशको सत्ता साझेदार दल राजपाबाट मन्त्री भएकी झाको एकाएक राजीनामा आएपछि प्रदेश २ मा सरकार परिवर्तनको आंकलन गरिएको थियो । चक्रीय प्रणालीमा राजपाको नेतृत्व अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले लिएपछि सत्ता परिवर्तन एकाएक रोकिएको हो ।
अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको नेतृत्वमा नेकपासँग राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर सत्तारोहणमा हौसिएको राजपा महेन्द्र राय यादवको नेतृत्वमा पुगेपछि फेरी समाजवादीसँगको एकीकरणको हल्ला चल्न थालेको छ । राजपाका शीर्ष नेताहरुको भारत भ्रमणका क्रममा प्रदेश २ मा सरकार परिवर्तनको निकै चर्चा भएको थियो । राजपाका अध्यक्ष मण्डलका सदस्यहरुबीच नेकपाको सरकारमा सहभागि भएर प्रदेश २ को सरकार परिवर्तन गर्ने वा नगर्ने भन्नेमा एकमत हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्