महासंघलाई उपाध्यक्षको निर्वाचन गर्न बाटो खुल्यो

नेपाल उद्योग वाणिज्य महासंघमा रिक्त जिल्ला–नगर उपाध्यक्षको निर्वाचन गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएको छ । शुक्रबारका लागि निर्धारित निर्वाचन रोक्न महासंघका पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठ अदालत गए पनि उनको पक्षमा अन्तरिम आदेश भएन । श्रेष्ठले आफूलाई निलम्बन गर्ने निर्णय बदर गर्न मागसम्बन्धी मुद्दा बिचाराधीन रहेकाले नयाँ निर्वाचन नगर्न अन्तरिम आदेश माग गरेका थिए । तर, सर्वोच्चमा बुधबार भएको सुनवाइपछि नयाँ निर्वाचनका लागि बाटो खुलेको छ ।
न्यायाधीशद्वय मीरा खड्का र डम्बरबहादुर शाहीको इजलासले श्रेष्ठको मागबमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय सुनाएको छ । श्रेष्ठले महासंघका अध्यक्ष भवानी राणा र महासंघ पदाधिकारीले अदालतको अवहेलना गरेको भन्दै कारबाहीको माग गर्दै अर्को रिट दायर गरेकोमा समेत उक्त मुद्दामा सुनवाइ हुँदा अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला इजलासले गरेको छ । यससँगै महासंघमा श्रेष्ठलाई अघि सारेर विवाद सिर्जना गर्ने केही व्यक्तिहरूको सुनियोजित प्रयाश पराजीत भएको महासंघ अध्यक्ष भवानी राणाले बताइन् । “सम्मानित अदालतको आदेशपछि अब निर्धारित मितिमै उपाध्यक्षको निर्वाचन हुनेछ र नयाँ उपाध्यक्ष पाएपछि महासंघका काम कारवाहीले गति लिनेछन्,” राणाले भनिन् ।
श्रेष्ठ गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेसँगै उनको पद खारेज भएको हो । महासंघ पदाधिकारी बैठकले उनलाई स्पष्टीकरण सोधेको थियो भने कार्यकारिणी समितिले उनको पद रिक्त भएकाले अर्को निर्वाचन गर्ने निर्णय गरेको थियो । उनी महासंघमा उम्मेदवारी दर्ता गर्दा नै मेयरको टिकट पाउने चर्चा सुरु भइसकेको थियो । महासंघबाट निलम्बित श्रेष्ठ हाल नेपाल चेम्बर अफ कमर्सको ४ नम्बर प्रदेश संयोजकमा मनोनित भएका छन् ।
श्रेष्ठले फागुन १४ गते महासंघको नेतृत्वले अदालतको अवहेलना गरेकोमा कारबाहीको माग गर्दै रिट दायर गरेका थिए । उनको रिटमाथि फागुन १६ गते न्यायाधीश चोलेन्द्रशमशेर राणको एकल इजलासले विपक्षी नेपाल उद्योग बाणिज्य महासंघलाई कारणदेखाउ आदेश जारी गर्ने निर्णय सुनाएको थियो । अदालतले वादी(प्रमोद श्रेष्ठ)ले दाबी गरेअनुसार अदालतको अवहेलनामा महासंघको नेतृत्वलाई किन कारबाही नगर्ने भन्दै त्यसको जवाफ ५ दिनभित्रमा पठाउन आदेश दिएको थियो । महासंघको लिखित जवाफपछि अर्को सुनवाई गर्दै अदालतले बुधबार निर्वाचनको बाटो खोलिदिएको हो ।
प्रतिस्पर्धामा प्रधान र केसी
महासंघको रिक्त जिल्लानगर उपाध्यक्ष पदमा यसअघिको कार्यसमितिमा जिल्लानगरबाटै उपाध्यक्ष रहेका किशोर प्रधान र हाल कार्यकारिणी सदस्य रहेका निरक केसीबीच प्रतिस्पर्धा हुने भएको छ । मोरङका प्रधान यसअघि वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छासँग पराजित भएका हुन् भने सुर्खेतका केसी करिब ७ वर्षअघि जिल्ला नगर उपाध्यक्षमा हालकी अध्यक्ष भवानी राणासँग पराजीत भएका थिए ।
चैतमा सम्पन्न निर्वाचनमा जिल्ला नगर उपाध्यक्ष पराजीत भए पनि अबको चुनावमा भने आफ्नो जीत सुनिश्चित भएको प्रधानको दावी छ । २५ वर्षभन्दा लामो समय महासंघ र व्यवसायमा आवद्ध भएकोले आफ्नो आवश्यकता महासंघमा रहेको उनले बताए । आफूले जितेमा सवैको सहमति र सहकार्यमा महासंघलाई अगाडि बढाउने उनले बताए । यस्तै, अर्का प्रतिस्पर्धी केसीले आफूले दुर्गम क्षेत्रबाट प्रतिनिधित्व गरेको भन्दै महासंघमा यस क्षेत्रको पनि सशक्त उपस्थिति आवश्यक रहेको बताए । महासंघको सुदृढीकरण, विधिको शासन, कुण्ठित अधिकारको प्रत्याभूति र संस्थाको प्रतिष्ठाको लागि आफूले जित्नुपर्ने उनको तर्क छ । अहिलेको नेतृत्व कमजोर भएको र केही व्यक्ति मात्रै हावी भएकोले त्यसको अन्त्यका लागि आफ्नो उम्मेदवारी भएको उनले बताए ।