सुनको मूल्य८० हजार नाघ्यो «

सुनको मूल्य८० हजार नाघ्यो

स्थानीय बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । एकै दिन तोलामा १ हजार ५०० रुपैयाँ बढेर ८० हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार प्रतितोला ७८ हजार ८०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चीनबाट सुरु भएको नोबल कोरोना भाइरसको प्रभावले आर्थिक कारोबार हुन नसकेकाले सुनको मूल्य बढ्न गएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जानकारी दिए । “विश्वभरी नै फैलिएको कोरोना भाइरसको प्रभावले गर्दा सुनको मूल्यमा प्रत्यक्ष असर पारेको छ,” उनले भने,“आगामी दिनमा सुनको मूल्य अझै बढ्ने देखिएको छ ।”
लगानीको सुरक्षित क्षेत्र सुन देखिएकाले लगानीकर्ता सुनमा लगानी गर्दै गएकाले पनि मूल्य बढ्न गएको उनको भनाइ छ । सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गर्दै गएपनि सुनको कारोबार ठप्पजस्तै भएको छ । लगनको सिजन भएपनि मूल्य बढेकाले कारोबार नै ठप्प भएको व्यवसायीको भनाइ छ । अघिल्ला वर्ष यो सिजनमा दैनिक ३० देखि ४० किलो सुनको बिक्री हुने गरेकोमा अहिले दैनिक १० देखि १५ किलोमा सीमित भएको व्यवसायीको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १ हजार ६ सय ६५ डलरमा कारोबार भएको छ । कोरोना भाइरसका कारण चिनियाँ अर्थतन्त्र प्रभावित भएको छ। क्रमिक रुपमा विश्व सेयर बजारमा गिरावट आएसँगै लगानीको सुरक्षा खोज्दै लगानीकर्ता सुनको कारोबारमा आकर्षित भएका छन् ।
सुनको मूल्य अझै बढ्नसक्ने संकेत देखिएपछि बजारमा खरिदबिक्री प्रभावित भएको छ। सेयर लगानीकर्ता क्रमिक रूपमा सुन कारोबारमा आकर्षित भएसँगै सुनले मूल्यवृद्धिमा रेकर्ड कायम गरेको हो। यस्तै, असली चाँदी तोलामा ५ रुपैयाँले बढेर सोमबार चाँदी प्रतितोला ९ सय २५ पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्