कभर्ड हल निर्माण हुँदै

हेटौंडा उपमहानगरपालिकाको लगानीमा हेटौंडामा प्यारापिटसहितको कभर्ड हल निर्माण कार्य अगाडि बढेको छ ।
यसै आवमा निर्माण सम्पन्न गर्ने गरी हेटौंडा–४ स्थित पुरानो कभर्ड हल रहेको स्थानमा प्यारापिटसहितको कभर्ड हल निर्माण कार्य तीव्र गतिमा अगाडि बढाएको कभर्ड निर्माण उपभोक्ता समिति संयोजक दिपेन्द्र ढकालले जानकारी दिए । हालसम्म प्यारपिट ढलान र फाउन्डेसनको काम सकिएको छ । प्याराफिटसहित कभर्ड हल निर्माणमा करिब एक करोड ११ लाख रुपैयाँ खर्च गरिएको छ । यसवर्ष हेटौंडा उपमहानगरपालिकाले करिब ७५ लाख रुपैयाँ बजेट प्यारापिट र कभर्ड हल निर्माण गर्न छुट्याएको छ । अघिल्लो महिना पूर्वखेलकुदमन्त्री राजेन्द्र केसी र सदस्यसचिव केशव विष्टले प्यारापिट निर्माणस्थलको भ्रमणको क्रममा उपयुक्त बजेट विनियोजन गर्ने प्रतिबद्धता प्राप्त भएको संयोजक तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति उपाध्यक्षसमेत रहेका ढकालले जानकारी दिए । उनका अनुसार यसवर्ष राष्ट्रिय खेलकुद परिषद्बाट करिब २५ लाख रुपैयाँ सहयोग प्राप्त हुने आश्वासन प्राप्त भएको छ । “हामीलाई निर्माण सम्पन्न गर्नका लागि आवश्यक बजेट अभाव छैन । हामी गुणस्तरीय र तोकिएको समयमा काम सम्पन्न गर्ने गरी काम गरिरहेका छौं,” उनले भने ।
करिब सात सय क्षमताको प्यारापिटसहितको कभर्ड हलमा इन्डोर खेल सञ्चालन हुनेछन् । इन्डोरमा ह्यान्ड, बल, भलिबल र बास्केट बलबाहेक सबै खेल हुने बुझिएको छ । मार्सल आर्टसका सबै खेल, बक्सिङ, कुस्ती, टेबलटेनिस, कबड्डी तथा व्याडमिन्टन खेलका लागि योग्य हुनेछ । “हामी मन्त्रालयबाट प्राप्त रकम प्यारापिटमा सिट राख्ने र सेन्थेटिक कार्पेट राख्ने छौं । अन्तर्राष्ट्रिय मापदण्डको बनाउने गरी तयारी भइरहेको छ । हामी कभर्ड हलमा राष्ट्रिय र प्रदेशस्तरको प्रतियोगिता सञ्चालन गर्नेछौं,” ढकालले उक्त स्थानमा कराते र बक्सिङ खेलका लागि नियमित प्रशिक्षणको व्यवस्था मिलाइने बताए । “खाली समयमा अरु सबै खेलले प्रशिक्षण गर्न पाउने गरी समयको व्यवस्था मिलाइनेछ,” उनले भने ।
–केशव समर्पण