चोरिएका ९ सय वर्ष पुराना मूर्ति फिर्ता हुँदै

नेपालबाट २ दशकअघि चोरी भएर अमेरिका पुगेका दुई महत्वपूर्ण मूर्तिहरू नेपाल फर्काइने भएको छ । उमामहेश्वर र भगवान बुद्धको उभिएको पूर्णकदको मूर्ति नेपाल फिर्ता गर्ने समझदारीपत्रमा न्यूयोर्कस्थित नेपाली कन्सुलर जनरल मधुकुमार मरासिनी र मेट्रोपोलिटन म्यूजियम अफ आर्ट न्यूयोर्कका अध्यक्ष डेनियल विसबीच सोमबार भएको मरासिनीले जनाए ।
वरिष्ठ कलाविद् स्व. लैनसिंह वाङ्देलको सन् १९८९ मा प्रकाशित पुस्तक स्टोलन इमेजेज अफ नेपालमा उल्लेख भएअनुसार उमा महेश्वरको मूर्ति सन् १९८३ मा नै सो संग्रहालयलाई कसैले प्रदान गरेको थियो । यस्तै, भगवान बुद्धको उभिएको पूर्णकदको मूर्ति पनि तीन वर्षअघि सन् २०१५ मा कसैले सो संग्रहालयलाई प्रदान गरेको थियो ।
बार्हौंदेखि तेर्हौं शताब्दीमा बनेको विश्वास गरिएको उमा महेश्वर (शिव पार्वती) को मूर्ति टंगालहिटी, पाटनबाट हराएको थियो भने एघारौं शताब्दीमा बनेको विश्वास गरिएको बुद्धको पूर्णकदको मूर्ति भने काठमाडौंको यटखाटोलबाट हराएको थियो । दुवै मूर्ति आगामी अप्रिलभित्र नेपाल आइपुग्ने जनाइएको छ ।
ती दुवै मूर्ति चोरेर ल्याएको जानकारी प्राप्त हुनासाथ संग्रहालयले आफ्नो प्रदर्शनी कक्षबाट हटाएको थियो ।