किसानको गोलभेंडा खेती मोह

पछिल्लो समय अर्घाखाँचीका कृषक उन्नत जातका गोलभेंडा खेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लागतमा बढी उत्पादन हुने र बजारको अभाव पनि नरहेकाले किसानहरु गोलभेंडा खेतीतर्फ आकर्षित भएका हुन् । अन्य बाली या तरकारीभन्दा मेहनत धेरै लागे पनि गोलभेंडाबाट उत्पादन र आम्दानीसमेत बढी हुने भएकाले जिल्लाका कृषकहरु यसतर्फ लागेका हुन् ।
धातिवाङका नमराज पौडेलले गोलभेंडा खेतीबाट राम्रो आम्दानी हुने गरेको बताए । कृषि विकास कार्यालयले उन्नत जातको गोलभेंडा खेती गर्न ५० प्रतिशत अनुदानमा टनेल वितरण गर्दै आएकोमा संघीय संरचनापछि स्थानीय तहले वितरण गर्न लागेका छन् ।
पाणिनी गाउँपालिका–६ धातिवाङमा बस्ने किसान नमराज पौडेलले २ रोपनी जग्गामा टनेल बनाएर बेमौसमी गोलभेंडा लगाएका छन् । उनले व्यावसायीक गोलभेंडा खेती गर्न लागेको ३ वर्ष भयो । राम्रोसँग टनेल लगाएर गोलभेंडा खेती गर्ने हो भने अरु खेतीबाट भन्दा धेरै आम्दानी गर्न सकिने उनले बताए । “एक बोट बराबर कम्तिमा पनि २० किलो गोलभेंडा उत्पादन हुने र एक कठ्ठामा कम्तिमा पनि पाँच हजार किलो उत्पादन गर्न सकिन्छ,” उनले भने, “गोलभेंडा खेतीमा फाइदा नै फाइदा छ, तर कृषकले माटो र मलखाद्य, रोग किरा र भेराइटीको व्यवस्थापन भने राम्रोसँग गर्न सक्नुपर्छ ।”