बाँके, बर्दियामा सेयर बजारप्रति आकर्षण «

बाँके, बर्दियामा सेयर बजारप्रति आकर्षण

पछिल्लो समयमा आएर बाँके र बर्दियाका व्यवसायीहरूको सयर बजारप्रति आकर्षण बढेको पाइएको छ । स्टक एक्सचेन्जका दुइटा ब्रोकर कम्पनी गत वैशाख यता नेपालगन्जमा आएपछि सेयर बजारप्रति व्यवसायीको आकर्षण बढेको हो ।
नेपाल स्टक एक्सचेन्ज सदस्य नं. ४५ इम्पेयियल सेक्युरिटिज् प्रालिका प्रबन्ध निर्देशक भक्तिराम घिमिरेले पछिल्लो केही समययता बाँके, बर्दियामा लगानीको वातावरण बनिरहेको जनाउँदै पश्चिममा सेयर बजारको आकर्षण बढ्नु उत्साहजनक रहेको बताएका छन् ।
उनले नेपालगन्जमा शाखा बिस्तार गरेसँगै यसले बिस्तारै सकारात्मक परिणाम देखाउन थालेको जनाए । नेपालगन्जमै कार्यालय खोलेको अर्को ब्रोकर नं. ४६ को कालिका सेक्युरिटिज् प्रालिका प्रमुख नरेन्द्र सिजापतिले नेपालगन्जमा सेयर बजारको भविष्य निकै सुन्दर र आशावादी रहेको बताए । ब्रोकर एसोसिएसनका निवर्तमान अध्यक्षसमेत रहेका सिजापतिले नेपालको सेयर बजार प्राइमरी स्टेजमा अन्तर्राष्ट्रिय स्तरको भएको जनाउँदै तर राजधानी बाहिर अझै अपेक्षित रूपमा विकास हुन नसकेको बताए ।
सेयर बजारप्रति उद्योगी व्यवसायीलगायत अन्य लगानीकर्ताको आकर्षण बढ्दै गएपछि नेपालगन्जमा सेयर बजार सचेतनासम्बन्धी सरोकारवालाहरूले लगानीकर्ताका लागि प्रशिक्षणात्मक कार्यक्रम समेत गर्न थालेका छन् ।
यसैबीच नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सीडीएस एन्ड क्लियरिङले नेपालगन्ज उद्योग वाणिज्य संघको समन्वयमा नेपालगन्जमा लगानीकर्ता सचेतना तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
प्रशिक्षणमा बाँके, बर्दियाका २ सय बढी लगानीकर्ताहरूको सहभागिता थियो । सो प्रशिक्षणमा बोल्दै नेपाल स्टक एक्सचेन्जका वरिष्ठ अधिकृत मुराहरी पराजुलीले लगानीकर्ताको उल्लेख्य सहभागिता र उठेका जिज्ञासाहरूबाट पुँजी बजारप्रतिको आकर्षण एकदमै बढेको छ भन्ने कुरा प्रष्ट भएको बताए ।
उनले नेपालगन्जमा सेयर बजारको पूर्वाधार फैलँदै गएकोमा खुसी व्यक्त गर्दै काठमाडौं बाहिर कुल कारोबारको १५ प्रतिशत सेयर बजार फैलिएको बताए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालगन्ज प्रदेश नम्बर ५, ६ र ७ को केन्द्रविन्दु भएकोले यहाँ लगानीका सम्भावना धेरै रहेको जनाए ।
नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका निर्देशक विमल खनालले कम्पनीको अवस्था विश्लेषण गरेर मात्र लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका छन् । पुँजी बजारको नियमनकारी निकाय, नेपाल धितोपत्र बोर्डका निर्देशक डा. नवराज अधिकारी, उपनिर्देशक निरञ्जय घिमिरेलगायतले लगानीकर्ताका आधारभूत विषयमा जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्