एनआरएनए महिला फोरमको सक्रियतामा पुनस्र्थापना कार्यक्रम

वैदेशिक रोजगारीबाट फर्केका पुरुषभन्दा महिलालाई समाजमा पुनस्र्थापना गर्न चुनौती रहेको सरोकारवालाले बताएका छन् । अझ विदेशबाट आपतविपतमा परेर उद्धार गरिएका महिलालाई घरपरिवारभित्रै पुनस्र्थापित गराउनु झनै चुनौती रहेको बताइनछ ।
वैदेशिक रोजगारीमा गएका मध्ये विशेषगरी महिलाको पुनस्र्थापनामा लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) महिला फोरमले लामो समयदेखि पहल गर्दै आएको छ । एनआरएनए महिला फोरमले यसको स्थापनासँगै महिला अधिकार, पुनस्र्थापना र उद्यमशिलताका सवालमा सरोकारवाला निकायसँग काम गर्दै आएको छ । फोरमले महिलाको सशक्तिकरण र पुनस्र्थापनामा केन्द्रित रहेर काम गर्न सरकार तथा सरोकारवाला निकायलाई सहयोग र समन्वयन गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एनआरएनए महिला फोरमले आयोजना गरेको कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्टले वैदेशिक रोजगारीबाट फर्केका महिलाको सहज पुनस्र्थापनाका लागि उद्यमशिलताका लागि संघले लामो समयदेखि काम गर्दै आएको बताए । फोरमले १०८ औं महिला दिवसको अवसरमा राजधानीमा आयोजना गरेको वैदेशिक रोजगारीबाट फर्केका महिलाको पुनस्र्थापना विषयक अन्तरक्रियामा अध्यक्ष भट्टले उद्यमशिलताले महिलाको सशक्तिकरण हुने बताउँदै यस क्षेत्रमा काम गर्न सबैलाई अनुरोध गरेका छन् । सो अवसरमा अध्यक्ष भट्टले वैदेशिक रोजगारीबाट फर्केका महिलाको पुनस्र्थापना र सशक्तिकरणका लागि सरकारले न्यून ब्याजदरमा ऋण उपलब्ध गराएर समाज र परिवारमा पुनस्र्थापना गराई पुनः वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था सृजना गर्नुपर्ने बताए । “स्वदेशमा सानातिना तर मूल्यवान वस्तु उत्पादन गरेर एनआरएनएको पहलमा विदेशमा बिक्री गर्ने व्यवस्था मिलाउन सकिन्छ,” उनले भने। “नेपाली हस्तकलाका सामान उत्पादन गर्न सके विभिन्न देशमा रहेका एनआरएनए सञ्जालमार्फत् नेपालको व्यपार अन्तर्राष्ट्रिय बजारमा प्रबद्धन गर्न मद्दत पुग्छ ।” सो अवसरमा महिला फोरमकी संयोजक रजनी प्रधानले महिलाको सशक्तिकरणसहित उनीहरुको स्वास्थ्य, रोजगारी र उद्यमशिलता विकासमा लामो समयदेखि एनआएनए महिला फोरमले काम गर्दै आएको जानकारी दिइन् ।
वैदेशिक रोजगारीमा जाने महिलाको तथ्यांक हेर्दा १८ देखि ३५ वर्ष उमेर समूहका नेपाली महिला धेरै वैदेशिक रोजगारीमा जाने गरेको देखिन्छ । सो उमेर समूहमा लगभग ७० प्रतिशत महिला जीवनयापनकै लागि बाध्य भएर वैदेशिक रोजगारीमा जाने गरेका छन् । यसमध्ये पनि ८० प्रतिशत महिला यूएई जाने गरेका छन् । एनआरएनए महिला उपाध्यक्ष सपिला राजभण्डारीले सबै साधनस्रोत र पहँुच भएका महिलाले सहयोग र पीडामा रहेका महिलाका लागि केही सहयोग गरेर महिला दिवस मनाउन सबैसँग अपिल गरिन् । उनले वैदेशिक रोजगार सबैको अधिकार भएकाले यसलाई रोक्नु भन्दा सुरक्षाको लागि काम गर्नुपर्ने बताइन् । शक्ति समूहकी संचालक चरिमाया तामाङले महिलालाई उद्यमशिल बनाई उनीहरुले उत्पादन गरेका सामान विदेशमा बेच्ने संयन्त्रको विकास गर्न एनआरएनएले सहजिकरण गर्नुपर्ने बताइन् । यसरी नै वैदेशिक रोजगारीमा विगत लामो समय बिताएर आएकी सिता रुपाखेतीले घर आँगनभन्दा बाहिर जान नसकेका महिलाले केही बुझ्न र सिक्न विदेश जानुपर्ने सुझाब दिइन् । महिला उद्यमी महासंघकी महासचिव दर्शना श्रेष्ठले महिला आफ्नै सशक्तिकरण नभएसम्म उसको आर्थिक र अन्य क्रियाकलापमा सहभागि हुन नसक्ने बताइन् । महासंघले वैदेशिक रोजगारीबाट आएका महिलालाई नयाँ व्यवसायमा सहभागी गराउने काममा सहयोग गरिरहेको बताइन् ।
सो अवसरमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले नेपाली महिलाको पुनस्र्थापनाका लागि सरकार एनआरएनएसँग सहकार्य गरेर अघि बढ्ने बताए । सोही अवसरमा एनआरएनए महिला उपाध्यक्ष सपिला राजभण्डारीले वैदेशिक रोजगारीबाट फर्केका महिलाको पुनस्र्थापनाका लागि पाइलट प्रोजेक्टको रुपमा कम्तिमा २० जना महिलालाई भए पनि यो वर्षसम्म पुनस्र्थापना परियोजनामा ल्याउने बताइन् । वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन प्रसाद आचार्यले वैदेशिक रोजगारीबाट कति महिला फर्किए भन्ने तथ्यांक सरकारसँग नभए पनि अब यस्ता कामदारको तथ्यांक राख्ने प्रक्रियाका लागि काम भइरहेको बताए । सो अवसरमा एनआरएनए, फेडेरेसन अफ वुमन इन्टरपेन्र्स एसोसिएसन र नमुना कलेजको सहकार्यका सञ्चालन भएको सिप विकास तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।