१५ लाखसम्मको लघुुबिमा हुने «

१५ लाखसम्मको लघुुबिमा हुने

बिमा कम्पनीहरुले अधिकत १५ लाख रुपैयाँसम्मको लघुबिमा लेख जारी गर्न पाउने भएका छन् । बिमा समितिले लघुविमा निर्देशिका—२०७६ जारी गर्दै लघुबिमाको बिमांक रकम र दायरा समेत वृद्धि गरेको हो ।
निर्देशिका अनुसार बिमा कम्पनीहरुले लघुवित्त संस्थाहरुले प्रवाह गरेको कर्जा र सरकारले व्याज अनुदान दिने बैंक तथा वित्तीय संस्थाको सहुलियत कर्जालाई समेत लघुबिमाले समेट्ने गरी बिमांक रकम र क्षेत्र बढाएको हो ।
नयाँ व्यवस्थाअनुसार लघुवित्त संस्थाका ऋणीको हकमा १० लाख रुपैयाँसम्म, बैंक तथा वित्तीय संस्थाबाट कर्जा सहुलियत कर्जा लिएकाको लागि १५ लाखसम्म र अन्य सर्वसाधारणको हकमा ५ लाख रुपैयाँसम्मको बिमांक रकमको लघुबिमा जारी गर्न पाउनेछन् । यसअघि लघुबिमा निर्देशिका २०७१ मा अधिकतम २ लाख रुपैयाँसम्मको लघुबिमा योजना जारी गर्न पाउने व्यवस्था थियो । लघुबिमाको दायरा र क्षेत्रलाई विस्तार गर्नका लागि निर्देशिका संसोधन गरिएको समितिले जनाएको छ ।
निर्देशन अनुसार जीवन बिमा कम्पनीहरुले सावधिक लघु जीवन बिमा र म्यादी लघु जिवन बिमा जारी गर्न पाउनेछन् ।
यसैगरी निर्जीवन बिमा कम्पनीहरुले सम्पती घर, दुर्घटना, स्वास्थ्य, घातक रोग र कृषि लघुबिमा लेख जारी गर्न पाउनेछन् । यसबाहेक बिमा समितिले तोकेका अन्य बिमा पनि जारी गर्न सक्ने व्यवस्था निर्देशनमा छ ।
हालसम्म जीवन बिमा कम्पनीले म्यादी, सावधिक र आजिवन लघु बिमा र निर्जीवनले गार्हस्थ्य, स्वास्थ्य, दुर्घटना, पशु तथा पन्छी, बाली लघुबिमा गर्दै आएका छन् ।
नयाँ व्यवस्थाअनुसार व्यक्तिगत र संस्थागत अभिकर्तामार्फत लघुबिमा बिक्री गर्न पाउने व्यवस्था गरिएको छ । निदेशिका अनुसार सहकारी, गैरसरकारी संस्था, लघुवित्त कम्पनीलगागतका संस्थाहरुले लघुबिमा अभिकर्ताको संस्थागत अभिकर्ता हुन पाउनेछन् ।
निर्देशिका अनुसार कम्पनीहरुले बिमा शुल्कमा छुट प्रदान गर्न वा बिमा शुल्क कटौती गर्न र सहुलियत दिन नपाइने व्यवस्था गरिएको छ । तर बिमा गर्ने व्यक्ति अभिकर्ताको प्रयोग नगरी सिधै गएर प्रत्यक्ष बिमा गराएमा बिमितलाई जीवन बिमाको हकमा ८ प्रतिशत र निर्जीवन बिमामा १० प्रतिशत छुट दिन सकिने निर्देशिकामा उल्लेख छ ।
यस्तै बिमा शुल्क रकममा अतिरिक्त शुल्क लिन नपाइने र एकपल्ट बिमालेख जारी भएपश्चात बिमा अवविभर बिमादर बढाउन वा घटाउन नपाइने व्यवस्थासमेत गरिएको छ ।
लघुबिमाको भुक्तानी सात दिनभित्र बिमकले गरिसक्नुपर्ने र बिमितले सम्पूर्ण कागजात पेश गरेको ७ दिनभित्रैमा दावी रकम भुक्तानी गर्नुपर्दछ । साथै दावी भुक्तानी गर्न नमिल्ने भएमा १५ दिन भित्रमा लिखित जवाफ दिनुपर्ने व्यवस्था समेत निर्देशिकामा छ ।
चालू आर्थिक वर्षको पुससम्म बिमा कम्पनीहरूले ५ लाख ७४ हजार लघुबिमा लेख जारी गरी २३ करोड ४६ लाख रुपैयाँ बिमा शुल्क संकल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्