आहा रारा गोल्डकपको पुरस्कार राशि वृद्धि

पोखरा- कोरोना भाइरसका कारण पोखरामा हुने आहा रारा गोल्ड कपमा विदेशी टिम प्रभावित भएका छन् । यही फागुन २२ गतेदेखि पोखरामा संचालन हुने १८ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७६ मा विभिन्न देशका क्लबहरुसँग सहारा क्लवले समन्वय गरे पनि अन्तिम समयमा आएर भारतको एक टिममात्र सहभागी हुने भएको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए ।
चैत एक गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा भारतको गान्टोक सिटी फुटबल क्लबसहित १० टिमको सहभागिता हुने भएको छ । प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन रुसलान थ्रिस्टार क्लब, विभागीय टोली गत वर्षको उपविजेता त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल आयल निगम मनाङ मस्र्याङदी क्लब, ब्रिगेड व्बाइज क्लब, संकटा क्लब, झापा ११ फुटबल क्लब र आयोजक सहारा क्लब सहभागि हुने भएको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए ।
उक्त प्रतियोगिताको पुरस्कार राशिमा यस वर्ष वृद्धि गरिएको छ । पुरस्कार राशिमा वृद्धि गरी प्रतियोगिताका विजेतालाई ३ लाख नगद पुरस्कार वृद्धि गरी १० लाख एक हजार रुपैयाँ साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने भएको अध्यक्ष थापाले बताए । त्यसै गरी उपविजेतालाई एक लाख ५० हजार वृद्धि गरी ५ लाख १ हजार रुपैयाँ साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ । यसअघि प्रतियोगिताका विजेताले ७ लाख एक हजार र उपविजेताले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।
उक्त प्रतियोगिता सम्पन्न गर्न ९९ लाख ३८ हजार ५ सय रुपैयाँ खर्च हुने क्लवले जनाएको छ । प्रतियोगिताबाट एक करोड १८ लाख १ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । उनका अनुसार प्रतियोगिताबाट बचत हुने १९ लाख रुपैयाँ सहारा एकेडेमीको लागि खर्चिने भएको छ ।