होटल व्यवसायी संघ तनहुँमा भट्टराई «

होटल व्यवसायी संघ तनहुँमा भट्टराई

दमौली- होटल व्यवसायी संघ तनहुँको अध्यक्षमा दुर्गा विलास भट्टराई चयन भएका छन् । संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले भट्टराईलाई अध्यक्षतामा चयन गरेको हो । यस्तै समितिको उपाध्यक्षहरूमा रामबहादुर आले, गिरबहादुर थापा, मीनाकुमारी श्रेष्ठ चयन भएका छन् । सचिवमा सोम थापा मगर, सहसचिवमा विनोदकुमार मल्ल, कोषाध्यक्षमा भीमलाल श्रेष्ठ र सहकोषाध्यक्षमा संगीता उच्चै ठकुरी सर्वसम्मत चयन भएको संघले जानकारी दिएको छ । त्यस्तैगरी सदस्यहरूमा भीम मल्ल ठकुरी, उमानाथ भट्टराई, लोकराज पन्थ, सूर्य तिमिल्सिना, विवेक सापकोटा, रोशन बानियाँ, दिपन राई, धनमाया आले, रामकुमार मल्ल, देवनारायण श्रेष्ठ, वसन्तकुमार श्रेष्ठ, चन्द्रकुमार वाग्ले, थानबहादुर थापा (प्रेम), वीरबहादुर श्रेष्ठ, सन्तबहादुर थापा, लोकनारायण श्रेष्ठ, कमलचन्द्र लम्साल चयन भएका छन् ।
साधारणसभा उद्घाटन गर्दै होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले व्यावसायिक हकहितका लागि होटल व्यवसायीहरूको एकता आवश्यक रहेको बताए । पाहुनालाई सम्मानजनक व्यवहार गर्ने, सफा, स्वच्छ र गुणस्तरीय खानपानको व्यवस्था गर्न सके मात्र होटल व्यवसाय फस्टाउँछ उनले भने । भ्रमण वर्षलाई सफल पार्न हाम्रो व्यवसायको महत्वपूर्ण हात हुने हुँदा गुणस्तरका विषयमा सबै होटल व्यवसायीहरू सचेत रहन उनको आग्रह थियो ।
व्यवसायी प्रेमकुमार श्रेष्ठले तनहुँमा सञ्चालित होटलहरूले गुणस्तरीय सेवा सुविधा उपलब्ध गराइरहेको जानकारी गराएका थिए । हाइवेमा सञ्चालित होटलहरूका केही पक्ष सुधार गर्नपर्ने देखिए पनि अधिकांश होटलहरूबाट गुणस्तरीय सेवा प्रदान गर्दै आएको उनको भनाइ थियो ।
तनहुँमा ठूला साना गरी करिब १ हजार होटल सञ्चालन भएका छन् । जिल्ला सदरमुकाम दमौलीमा मात्र ३ सय बढी होटल सञ्चालित छन् । त्यस्तै बन्दीपुरमा ९० भन्दा बढी, आबुँखैरेनीमा १ सय ८० भन्दा बढी र डुम्रेमा १ सय २० भन्दा बढी होटलहरू सञ्चालित छन् । जिल्लाका प्रमुख सहरहरूमा पछिल्लो समयमा होटलहरू खुल्ने क्रम तीव्र रहेको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्