भविष्यका लागि लगानी

बालबालिकाको नैतिक शिक्षामा लगानी गर्ने हो भने उनीहरूमा घर, परिवार, समाज र देशप्रतिको उत्तरदायित्वबोध गराउन सहज हुनेछ । |
लगानी भन्नासाथ आर्थिक क्षेत्रमा गरिने लगानी भनेर बुझ्ने गरिन्छ । कृषि, उद्योग, जलविद्युत्, पर्यटन, पूर्वाधार आदि विविध क्षेत्रमा गर्नुपर्ने र गरिने लगानीका बारेमा निकै महत्वका साथ चर्चा हुने गर्छन् । उत्पादन र आर्थिक वृद्धिदरमा प्रत्यक्ष योगदान गर्ने हुँदा सीधै अर्थतन्त्रसँग सरोकार राख्ने क्षेत्रमा गरिने लगानीलाई अत्यन्तै महत्वका साथ हेर्ने गरिन्छ । यसो भनेर सामाजिक क्षेत्रमा गरिने लगानीलाई उपेक्षा गर्नुचाहिँ उचित होइन है । सामाजिक क्षेत्रमा गरिने लगानीले पनि अन्ततोगत्वा आर्थिक वृद्धिदरमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान गरेकै हुन्छ । अतः सामाजिक क्षेत्रमा गरिने लगानीलाई उत्तिकै महत्वका साथ हेरिनु आवश्यक छ । तत्कालीन प्रतिफलका लागि आर्थिक क्षेत्रमा लगानी गर्नु जति आवश्यक छ, भविष्यका लागि लगानी गर्नु पनि उति नै आवश्यक छ भन्ने यथार्थलाई मनन गर्नु जरुरी छ ।
सामाजिक क्षेत्रमा गरिने लगानीको कुरा गर्दा बालबालिकामा गरिने लगानीलाई विशेष महत्वका साथ हेर्नुपर्ने हुन्छ । किनभने बालबालिका भनेका देशका भविष्य हुन् । त्यसैले बालबालिकामा लगानी गर्नु भनेको देशको भविष्यका लागि लगानी गर्नु हो । अहिलेका बालबालिकामा गरिने लगानीले नै देशको भविष्य निर्धारण गर्छ । आर्थिक क्षेत्रमा गरिने लगानीले तत्काल प्रतिफल दिन्छ भने बालबालिकामा गरिने लगानीको प्रतिफल भविष्यमा प्राप्त हुन्छ ।
गत माघ १ गते राष्ट्रपति निवासमा भएको ‘बालबालिकासँग राष्ट्रपति’ नामक भेटघाट कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘आजका बालबालिका भोलिका जिम्मेवार नागरिक हुन् । शिक्षा, स्वास्थ्यलगायत अधिकार सुनिश्चित गर्दै बालबालिकालाई भोलिका असल नागरिक बनाउन उनीहरूमा धेरै लगानी गर्नुपर्छ’ भन्नुभयो । वास्तवमै देशको भविष्य आजका बालबालिकामै निर्भर छ । आजका बालबालिका जसरी हुर्किन्छन् र बढ्छन्, देशको भविष्य त्यसमै निर्भर गर्छ । त्यसैले बालबालिकामा धेरै लगानी गर्नुपर्छ भन्ने राष्ट्रपतिको भनाइ सान्दर्भिक, दूरदर्शी र महत्वपूर्ण लाग्छ ।
बालबालिकाको भविष्यसँग घर, परिवार, समाज र देशको पनि भविष्य जाडिएको हुन्छ । बालबालिकामा गरिने लगानीले नै देश र जनताको भविष्य सुनौलो बन्छ । बालबालिका घर, परिवार, समाज र देशकै पनि कर्णाधार हुन् । त्यसैले बालबालिकालाई शिक्षित, सभ्य र योग्य बनाउनका लागि उनीहरूमाथि उचित लगानी गर्नुपर्छ । पछिल्लो जनगणनाअनुसार अहिले नेपालको कुल जनसंख्यामा ३४.९ प्रतिशत १४ वर्षमुनिका र ३९.८ प्रतिशत १६ वर्षमुनिका बालबालिका रहेका छन् ।
विश्वव्यापी रूपमा भएको स्वास्थ्य शिक्षा र सेवाको विकास तथा विस्तारले बालमृत्युदरमा कमी र औसत आयुमा वृद्धि भएको छ । नेपालमा पनि स्वास्थ्य शिक्षा र सेवामा भएको विकास र विस्तारसँगसँगै ग्रामीणस्तरमै पनि स्वास्थ्य शिक्षाको चेतनाको विस्तारले गर्दा बालमृत्युदर घटेको छ भने मानिसको औसत आयुमा वृद्धि भएको छ । सरकारी तथ्यांकअनुसार अहिले नेपालमा बालमृत्युदर ३९ प्रति हजार र औसत आयु ६६.६ वर्ष रहेको छ । नेपालमा छिटोछिटो भएको जनसांख्यिक परिवर्तनले सन् २०२८ सम्ममा नेपाल ‘ढल्दो उमेरको समाज’ र सन् २०५४ सम्ममा ‘वृद्ध समाज’ बन्ने प्रक्षेपण गरिएको छ । अहिलेका बालबालिका युवा र वयस्क हुने समयमा उनीहरूले ज्येष्ठ नागरिकको सेवा गर्दै समाजको र देशको पनि विकास गर्न सक्षम बनाउन र उनीहरूको उत्पादकत्व बढाउनका लागि अहिले नै आवश्यक नीति, योजना तथा कार्यक्रम तर्जुमा गरी उनीहरूमाथि उचित लगानी गर्नु आवश्यक हुन्छ । यसका लागि बालबालिकाको जिम्मेवारी बाकेको मन्त्रालय र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ ।
अहिलेका बालबालिका नै भोलिका डाक्टर, इन्जिनियर, वकिल, प्रशासक, प्राध्यापक, प्राज्ञ र प्राविधिक बन्ने हुन् । देश चलाउन र देशलाई समृद्ध बनाउन आवश्यक पर्ने यस्ता जनशक्ति अहिलेका बालबालिकाबाटै तयार हुने हुन् । यिनै जनशक्तिले देशको चौतर्फी विकासमा टेवा पु¥याउने हुन् । भविष्यमा यस्तो जनशक्ति तयार पार्न अहिले नै बालबालिकामा लगानी गर्नुपर्छ । अहिलेका बालबालिकालाई घर, परिवार, समाज र देशले असल मार्गदर्शन गर्न सकेन र तिनले जिन्दगीको बाटो हराए वा बाटो बिराए भने तिनले भविष्यमा देशका लागि केही गर्न सक्दैनन् । बरु ती आफैं देशका लागि आर्थिक भार मात्रै बन्छन् । यो यथार्थलाई मनन गर्न सकिएन भने देशको भविष्य अन्धकार हुनेछ ।
बालबालिकामा लगानी गर्नु भनेको मानव पुँजीमा लगानी गर्नु हो । भविष्यका लागि लगानी गर्नु हो । घर, परिवार, समाज र देशको भविष्य उज्ज्वल बनाउन अहिले नै बालबालिकाको शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्छ । बालबालिकामा लगानी गर्नु भनेको आर्थिक लगानीमात्रै होइन । उनीहरूको हेरचाह, सिकाइ र सामाजिकीकरणमा ध्यान दिनु पनि लगानी नै हो । बालबालिकामा लगानी गरियो भने उनीहरूले राम्रोसँग हुर्कने, सिक्ने र योग्य मान्छे बन्ने अवसर पाउँछन् । त्यसैले अहिले बालबालिकामा गरिएको लगानीले भविष्यमा राम्रो प्रतिफल दिन्छ । यस्तो लगानीले बालबालिकाको भविष्य सुरक्षित हुन्छ भने देशकै भविष्य पनि सुरक्षित हुन्छ ।
नेपालले संयुक्त राष्ट्रसंघको ‘बालअधिकारसम्बन्धी महासन्धि १९८९’ लाई अनुमोदन गरेको छ । उक्त महासन्धिले बालबालिका तथा किशोरकिशोरीका आधारभूत आवश्यकताहरूलाई आर्थिक र सामाजिक तथा मौलिक अधिकारका रूपमा अनुमोदन गरेको छ । साथै राज्य तथा सरकारले यी अधिकारहरूलाई स्रोत र साधनले उपलब्ध भएसम्म सुनिश्चित गर्नुपर्ने भनी स्थापित पनि गरेको छ । यसैगरी नेपालको संविधान २०७२ को धारा ३९(२) मा ‘प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ’ भन्ने उल्लेख गरिएको छ भने धारा ३९(३) ‘प्रत्येक बालबालिकालाई प्रारम्भिक बालविकास तथा बालसहभागिताको हक हुनेछ’ भन्ने उल्लेख गरिएको छ । बालविकासको कुरा गर्दा लगानीको कुरा स्वतः जोडिएर आउँछ । तर नेपालमा बालविकासका लागि राज्यले उचित बजेटको प्रबन्ध भने गर्न सकेको छैन । चालू आर्थिक वर्ष २०७६-७७ मा कुल राष्ट्रिय बजेट रु. १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखमध्ये महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकमा जम्मा रु. ७८ करोड ५ लाखमात्रै विनियोजन गरिएको छ, जुन कुल राष्ट्रिय बजेटको ०.०५ प्रतिशतमात्रै हो । यति न्यून बजेट विनियोजन गरेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक कसको कति हित र विकास गर्न सकिन्छ ? सोचनीय छ ।
नेपालमा बालअधिकारको सुनिश्चितता गर्दै बालबालिकाको हितमा कार्य गर्न बालबालिकासम्बन्धी ऐन २०७५ को तर्जुमा गरिएको छ । ऐनको परिच्छेद २ मा ‘बालबालिकाको अधिकार’ शीर्षकमा विभिन्न १५ थरी अधिकारहरूको सुनिश्चितता गरिएको छ । ऐनमा बालबालिकाप्रति घरपरिवार र राज्यको दायित्वका बारेमा पनि उल्लेख गरिएको छ । यसैगरी बालअधिकार तथा बालकल्याण सम्बन्धी संस्थागत व्यवस्था पनि गरिएको छ । ऐनमा गरिएको यस्तो व्यवस्थाले बालअधिकार सुनिश्चित गर्दै बालबालिकाको सर्वाङ्गीण विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।
युनिसेफले बालबालिकाहरूको मस्तिष्कको विकास सुरुवाती वर्षहरूमा तीब्रगतिमा हुने तथ्य प्रमाणित छ भन्दै प्रारम्भिक बालविकासका गुणस्तरीय कार्यक्रमहरूमा लगानी गरिने हरेक १ अमेरिकी डलरले भविष्यमा ६ देखि १७ गुणासम्म प्रतिफल दिने उल्लेख गरेको छ । यसकारण पनि बालबालिकामा लगानी गर्नु आवश्यक छ । लगानीको अर्थ पैसा खर्च गर्नु मात्रै होइन, उनीहरूको हेरचाह, शिक्षा र स्वास्थ्यको विकासमा ध्यान दिनु पनि हो । बालबालिका स्वस्थ, शिक्षित र सभ्य भए भने असल नागरिक बन्नेछन् । असल नागरिकले नै देशको सुख, शान्ति र समृद्धिमा योगदान गर्न सक्छन् ।
गर्भाधानदेखि दुई वर्षसम्मको समयावधि अर्थात् बालबालिकाको सुरुका १ हजार दिनहरूमा दिइने उचित हेरचाह र पोषणले उनीहरूको हुर्कने, सिक्ने र गरिबीबाट उम्किनसक्ने क्षमतामा ठूलो प्रभाव पार्छ । परिवार, समुदाय र देशकै गरिबीको चक्र भङ्ग गर्न पनि यसले सहयोग गर्नुका साथै समाजको दीर्घकालीन स्वास्थ्य, स्थिरता र समृद्धिमा पनि प्रभाव पार्छ भन्दै युनिसेफले बालबालिकामा लगानी बढाउनुपर्ने आवश्यकतामा जोड दिंदै आएको छ ।
बालबालिकामा लगानी गर्नुको अर्थ उनीहरूलाई पैसा कमाउन सक्ने बनाउनु मात्रै होइन । उनीहरूको चारित्रिक र नैतिक विकासमा पनि ध्यान दिनुपर्छ । संसार नै भौतिक सुखको पछि दौडेको अवस्थामा मानवीयता संकटमा पर्न थालेको छ । पैसाकै पछि लाग्नाले हुर्केका छोराछोरीले बूढा भएका बाबुआमालाई नहेर्ने प्रवृत्ति बढेको छ । बूढा बाबुआमाको पालनपोषणका लागि पनि कानुनले नै बाध्य पार्नुपर्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्था सिर्जना हुनु राम्रो होइन । बालबालिकाको नैतिक शिक्षामा लगानी गर्ने हो भने उनीहरूमा घर, परिवार, समाज र देशप्रतिको उत्तरदायित्वबोध गराउन सहज हुनेछ ।
ज्ञानविज्ञानको क्षेत्रमा हरेक दिन नयाँ–नयाँ आविष्कार भइरहेका छन् । यस्तो आविष्कारलाई जीवनमा आत्मसात् गर्न सकेमात्रै हाम्रो जीवन सहज, सुखी र समृद्ध बन्छ । अनि हामी सक्षम नागरिक बन्न सक्छौं । यसका लागि सर्वप्रथम समयअनुकूलको शिक्षा आवश्यक पर्छ । बालबालिकालाई यस्तो शिक्षा प्रदान गर्न राज्यले उचित लगानी गर्नुपर्छ । अहिले बालबालिकामाथि लगानी गर्न कन्जुस्याइँ गरियो भने यसले देशको भविष्यमाथि खेलबाड अथवा बेइमानी गरेको ठहरिन्छ ।
प्रतिफलको आशा गर्ने हो भने लगानी त गर्नैपर्छ । लगानीमा कन्जुस्याइँ गर्ने हो भने चाहेको प्रतिफल पाउन सकिन्न । सुन्तला खान सुन्तलाकै बीउ रोप्नुपर्छ । कागतीको बीऊ रोपेर सुन्तला फल्ने आशा गर्नु मुर्खता मात्रै हुन्छ । त्यसैले बालबालिकामा उचित लगानी गर्नुपर्छ । बालबालिकाका लागि घर, परिवार, समाज र राज्यले गर्ने समय, श्रम र पुँजी लगानीले भोलि अवश्य सुख, शान्ति र समृद्धिसहितको सुनौलो बिहानी आउनेछ ।