भूकम्पपीडितको दोस्रो किस्ता निकासीमा समस्या

खोटाङमा भूकम्पीडितको दोस्रो किस्ताको रकम निकासामा समस्या भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चासो नदिएका कारण जिल्लाका भूकम्पीडितको दोस्रो किस्तावापतको रकम निकासामा समस्या भएको हो ।
प्राधिकरणले दोस्रो किस्ता रकम निकासाका लागि इन्जिनियर नपठाउँदा भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम भुक्तानी गर्न नसकिएको जनाइएको छ । प्राधिकरणले जिल्लाका केही गाउँपालिकामा इन्जिनियर हालसम्म नपठाउँदा र फिल्डमा रहेका इन्जिनियरलाई पनि कम्प्युटर ट्याब नदिँदा रकम निकासामा समस्या भएको जिल्ला समन्वय समितिका आवास अनुदान फोकल पर्सन रवीकिरण आचार्यले बताए । उनले भने, “हामीसँग दोस्रो किस्ता रकम वितरण गर्न कुनै समस्या छैन्, बजेट पनि प्रशस्त छ, तथापि प्राधिकरणले इन्जिनियर नपठाएका कारण समयमै दोस्रो किस्ता वितरण गर्न सकिएको छैन् ।” लाभग्राहीलाई पहिलो किस्तामा ५० हजार, डीपीसीको काम सकिएपछि दोस्रो किस्तामा १ लाख ५० हजार र छाना हाल्ने बेलामा तेस्रो किस्तावापत ७५ हजार तथा शौचालय निर्माणपछि २५ हजार रकम खातामा उपलब्ध गराइने भए पनि पीडितहरूलाई पहिलो किस्ता रकममा झारो टारिएको छ ।
आवास पुनर्निर्माणको काम सुरु गर्नका लागि पहिलो किस्तावापतको रकम उपलब्ध गराइए पनि दोस्रो किस्ताको रकम समयमा उपलबध नगराएका कारण भूकम्पपीडितको आवास निर्माणकार्य अलपत्र परेको छ । वर्षायाम सुरु हुने समय आइसक्दासमेत सम्बन्धित निकायले रकम दिने वातावरण नबनाएका कारण भूकम्पपीडित थप पीडित हुने भएका छन् । भूकम्पपीडितले घर निर्माणका लागि प्राधिकरणले भने बमोजिमको काम गरे पनि रकम अभावमा निर्माणाधीन घर अलपत्र बनेका छन् । पहिलो चरणको रकम प्राप्त भएपछि आवास निर्माणमा लागेका भूकम्पीडितको समयमै घरको मूल्यांकन नगरिनु र दोस्रो किस्तावापतको रकम भुक्तानी नहुनुले आवास निर्माणमा समस्या भएको भूकम्पपीडितले गुनासो गरेका छन् । वराहापोखरी गाउँपालिका र एसेलुखर्क गाउँपालिकामा हालसम्म प्राधिकरणले इन्जिनियर नपठाउँदा उक्त ठाउँका भूकम्पपीडित पहिलो किस्ता रकम लिनबाट नै वञ्चित छन् ।
जिल्ला समन्वय समितिको कार्यालयबाट कतिपय भूकम्पपीडित पहिलो किस्ता लिनबाट वञ्चित भएका कारण तत्त्काल गुनासो फारम भरेर आवश्यक कागजात पठाउन अनुरोध गरिएको भए पनि वडासचिव र प्रशासकीय अधिकृतहरूले चासो नदिएका कारण उनीहरू पहिलो किस्ता रकम पाउनबाट वञ्चित हुनुपरेको फोकल पर्सन रवीकिरण आचार्यको भनाइ छ ।
यस्तै, विदेशमा रहेका घरमूलीको नाममा आवास अनुदान सम्झौता गरेका, आवास अनुदान सम्झौतापछि विदेसिएका, अनुदान सम्झौतापछि मृत्यु भएका, बुढेसकालका कारण सदरमुकाममा रहेको बैंकसम्म आउन नसक्ने लगायतका समस्याका कारण कतिपय भूकम्पपीडित परिवारले हालसम्म आवास अनुदानवापतको पहिलो किस्ता पाउन सकेका छैनन् ।
भूकम्पबाट कमप्रभावित १७ जिल्लामध्ये खोटाङमा सबैभन्दा बढी आवास अनुदान वितरण भएको दाबी गरिएको छ । जिल्लाका ८ हजार ४४३ लाभग्राहीमध्ये ८ हजार १५१ घर परिवारलाई पहिलो किस्ताको प्रतिपरिवार ५० हजारका दरले ४० करोड ७५ लाख ५० हजार आवास अनुदान वितरण गरिसकिएको छ । योसँगै जिल्लामा पहिलो किस्तावापत ९७ प्रतिशत रकम वितरण भएको जनाइएको छ ।
–उत्तम चौलागाईं