आजदेखि साझाको ‘सेमी–लो फ्लोर’ बस सञ्चालनमा «

आजदेखि साझाको ‘सेमी–लो फ्लोर’ बस सञ्चालनमा

बुधरबारदेखि राजधानीको एउटा रुटमा अहिले गुड्दै आएका भन्दा भिन्दै बस सञ्चालनमा आउने भएको छ । त्यो बस हो, साझा यातायातले ल्याएको ‘सेमी लो फ्लोर’ बस । उक्त बस अस्पताल धेरै भएको रुटमा सञ्चालन गर्नका लागि साझा यातायातले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । लगनखेलस्थित पाटन अस्पतालबाट बाँसबारीको न्युरो अस्पतालसम्म आपाङ्मैत्री बस गुड्ने भएको छ ।
नेपाली सडकमा उक्त बस पहिलो पटक गुड्न लागेको हो । बस संचालनका लागि सबै तयारी पूरा भएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । “मुख्य गरी बिरामीलाई लक्षित गरी यो बस सञ्चालनमा ल्याएका हौं । यो बस ह्वीलचेयर प्रयोगकर्ताका लागि निक्कै उपयोगी छ,” पाण्डेयले भने, “तथापी यो बसमा सबैले यात्रा गर्न सक्ने छन् ।” यो बस सेवको उद्घाटन बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गर्ने छन् ।
यो बसमा अपांगता भएका व्यक्तिलाई चढ्न र ओर्लन अरूको सहयोगको आवश्यकता पर्ने छैन भने साना बालबालिका, गर्भवती महिला वा अशक्त र ज्येष्ठ नागरिकले आवत÷जावत गर्न असहज नहुने साझाको भनाइ छ । सो सुविधा उपलब्ध भएपछि अस्पताल जानका लागि होस् वा अन्य ठाउँमा जानका लागि होस् ज्येष्ठ नागरिक अपांग, अशक्तले बसमा अन्य व्यक्तिको सहारा लिनुपर्ने छैन । साझा यातायातले केही साताअघि पहिलोपटक होचो (सेमी लो फ्लोर) भएको बस ल्याएको थियो ।
उक्त बस साझाले पाटन अस्पताल, निदान हस्पिटल, त्रिपुरेश्वरको आँखा अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल हुँदै बाँसबारीको गंगालाल र न्युरो अस्पतालसम्मको रुटमा सेवा दिन लागेको जनाएको छ । साझाले टेन्डरमार्फत करिब ३५ लाख रुपैयाँमा भित्राएको यो बसमा ४१ जनाले सिटमै बसेर यात्र गर्न सक्छन् । भारतीय कम्पनी अशोक लेल्याण्डले सहुलियत दरमा ल्याएको यो बस अरू बसको तुलनामा धेरै महँगो रहेको जनाएको छ ।
होचो बस भएकाले यो खाल्डाखुल्डी सडकमा गुड्न भने असहज हुनेछ । लगनखेलबाट बाँसबारीसम्म सडक तुलनात्मक रुपमा अन्यभन्दा राम्रो भएको र यो रुटमा अस्पताल धेरै पर्ने भएकाले यही रुट रोजिएको पाण्डेयको भनाइ छ । साझाका अरु बसमा जस्तै यसमा पनि ७० वर्ष कटेका ज्येष्ठ नागरिकले निःशुल्क रूपमा यात्रा गर्न पाउने छन् ।
यो बसमा एउटा मात्रै खुड्किलो हुने भएकाले बिरामी र अपांगता भएका व्यक्ति सजिलै उक्लन÷ओर्लन सक्छन् । यसमार्फत ह्वीलचेयर पनि सजिलै उक्लन र ओर्लन सक्ने साझाले जनाएको छ । यसमा ‘क’ र ‘ख’ वर्गका अपांग र पाँच वर्षका बालबालिकाले निःशुल्क रूपमा यात्रा गर्न पाउँछन् । साझाले उपत्यकाभित्र चल्ने र बाहिरका लागि थप २९ वटा नयाँ बस ल्याउन लागेको छ । २५ वटा सिटी र ४ वटा डिलक्स ल्याएपछि साझा बसेको संख्या ७५ पुग्नेछ । हाल साझा यातायातका करिब ४६ वटा सब सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्