दूरसञ्चार प्रविधिले ल्याएको परिवर्तन «

दूरसञ्चार प्रविधिले ल्याएको परिवर्तन

दूरसञ्चार प्रविधिको आविष्कार आजभन्दा १ सय ४१ वर्षपूर्व अर्थात् सन् १८७६ मा भएको थियो । अहिले दूरसञ्चारका क्षेत्रमा पूर्ण परिवर्तन भएको छ । आकाशवाणी तथा टेलिग्राफ इतिहास भएको छ । एनालग प्रविधिलाई डिजिटल प्रविधिले विस्थापन गरेको छ । वायरलाइनको विकल्पमा वायरलेस प्रविधि विकास भएको छ । पहिलो तथा दोस्रो पुस्ताको इन्टरनेटलाई तेस्रो तथा चौथो पुस्ताको इन्टरनेटले प्रतिस्थापन गर्दो छ । अझ भन्नुपर्दा २०२० सम्ममा पाँचौं पुस्ताको इन्टरनेट प्रादुर्भाव हुने ठानिएको छ ।
सन् २०१७ को अन्त्यमा विश्वको जनसंख्या ७ अर्ब ५९ करोड पुग्दैगर्दा करिब ७ अर्ब ७४ करोड मानिसको हातमा मोबाइल, ९७ करोड २० लाख मानिसको हातमा फिक्स टेलिफोन र ३ अर्ब ५७ करोडको हातमा इन्टरेनट सेवा पुगेको छ । यस हिसाबले मोबाइल तथा फिक्स्ड फोनको डेन्सिटी १६६.५ प्रतिशत र इन्टरनेट पेनिट्रेसन ४८ प्रतिशत पुगेको छ ।
सेवाप्रदायक संस्थाहरू पहिलो वा दोस्रो पुस्ताभन्दा तेस्रो तथा चौथोको पुस्ताको दूरसञ्चार सेवामा हौसिएका छन् । पछिल्लो पुस्ताको सेवामा लाभको मात्रा अधिक हुने हुँदा सेवाप्रदायक त्यसतर्फ केन्द्रीभूत भएका हुन् । आममानिसले आयको दुई–तीन प्रतिशत दूरसञ्चारमा क्षेत्रमा खर्चिने गरेको आईटीयूको प्रतिवेदनले देखाएको छ । विश्व जीडीपीमा २०१५ मा १.५ ट्रिलियन अमेरिकी डलर योगदान पुगेकोमा २०१९ मा २.४० ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान छ । दूरसञ्चार प्रविधि सिर्जित आर्थिक योगदान हो यो ।
दूरसञ्चार सेवाक्षेत्रको अग्रणी उद्योग मानिन्छ । मेक्सिकन अर्बपति कार्लोस स्लिमहेलुदेखि लिएर भारतीय अर्बपति अनिल अम्बानीको लगानी यसै क्षेत्रमा छ । अमेरिकाको एटी एन्ड टी, चीनको जेटटिई, हुवावे, भारतको रिलायन्स, एयरटेल, हङकङको टेलिस्टार, कतारको कतार टेलिकम, श्रीलंकाको श्रीलंकन टेलिकम, cको एलटिडिकन, पाकिस्तानको पाकिस्तान टेलिकम, मलेसियाको डिजी, मलेसियाको सिलिकम, बेलायतको बिआइटी, ताइवानको चंगह्वा, अस्ट्रेलियाको टेलिस्ट्रा, सिंगापुरको सिंगटेल, जापानको निप्पोनजस्ता अग्रणी कम्पनीहरूले विश्वको दूरसञ्चार उद्योग हाँकिरहेका छन् । २१ औं शताब्दी सूचना–प्रविधिको युग मानिन्छ । साँच्चै भन्नुपर्दा दूरसञ्चार प्रविधि हाम्रो जीवनशैली बनिसकेको छ । अहिले वयस्कले मात्र के बच्चाबच्चीसमेत दूरसञ्चार प्रविधिबाट सायदै अछुतो छ । भनिन्छ, ‘ए बेबी इज बर्न डिजिटाइज’ । मानिसको आर्थिक जीवनमा मात्र होइन, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा समेत दूरसञ्चार प्रविधि प्राणवायुको पर्याय भएको छ ।
मोबाइल, कम्प्युटर, ल्यापटप, आइप्याड, ट्याबलेट, नोटबुकको प्रयोग बढ्दो छ । मौसम जान्न, भाषा परिवर्तन गर्न, मिति जानकारी लिन, कुनै स्थान पत्ता लगाउन, कुनै चिजको अर्थ थाहा पाउन, कुनै चिज प्रयोग गर्ने तरिका जान्न, कुनै चिजको भिडियो हेर्न कम्प्युटर, विश्वको ताजाताजा जानकारी लिन एन्ड्रोइड मोबाइल सहयोगी बन्दो छ । एन्ड्रोइड मोबाइलले आममानिसको जीवनशैलीमा आयामिक परिवर्तन आाएको छ । अहिले सबथोक अटोमेसन भएको छ । चीनमा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले निश्चित लेन प्रयोग गर्नुपर्ने प्रावधान हुनु मोबाइलप्रतिको क्रेज नै होे । आइप्याड प्रयोग गर्न किड्नीसमेत बिक्री गरेको नजिर हुनु क्रेजको अर्को दृष्टान्त हो । इन्टनेट उपयोग गर्ने अनेकन प्रविधि विकास भएकै कारण आगामी पाँच वर्षमा थप ३ अर्ब मानिस इन्टरनेटमा अनुबन्धन हुने अनुमान छ ।

दुर्बल पाटाहरू
डिजिटल डिभाइड : मोबाइल र फिक्स्डसहित विश्वमा टेलिडेन्सिटी ११६.५ प्रतिशत पुगेको भए पनि विकसित मुलुकमा एक व्यक्तिले एकभन्दा बढी दूरसञ्चार उपभोग गर्दा अफ्रिका तथा एसियाका कतिपय मानिसले दूरसञ्चार सेवाको मुखसम्म देख्न पाएका छैनन्; अर्थात् १० मध्ये ८ मानिसले विकासोन्मुख मुलुकमा दूरसञ्चार सेवा उपभोग गरेका छन् । इन्टरनेट उपभोगको अवस्था झनै नाजुक छ । विश्वका ५२ प्रतिशत अर्थात् ३ अर्ब ९४ करोड मानिस इन्टरनेट सेवाबाट वञ्चित छन् ।
एक्टिभ सब्सक्राइबर: मोबाइल सेवा सब्सक्राइबर गर्नु र सब्सक्राइबर एक्टिभ अवस्थामा हुनु फरक–फरक कुरा हुन् । सब्सक्राइब गरेका ग्राहक एक्टिभ हुँदैनन् भने सब्सक्राइभ गर्नुको कुनै अर्थ रहँदैन । २०१७ मा मोबाइल डेन्सिटी १०३.५ प्रतिशत पुुगिरहँदा एक्टिब ब्रोडब्यान्ड सब्सक्राइबर ५६.४ प्रतिशत मात्र छ । यसको अर्थ विश्वका आधा मानिसले मात्र वर्तमान समयमा ठेट रूपमा मोबाइल ब्रोडब्यान्ड उपयोग गरिरहेका छन् भन्ने पुष्टि हुन्छ ।
डाटा स्पिड : इन्टरनेट सेवामा स्पिड महत्वपूर्ण कुरा हो । तथापि युरोप, अमेरिका र पूर्वी एसियाली मुलुकमा इन्टरनेटको गति उच्च भए पनि अफ्रिका तथा एसियाली मुलुकहरू अड्की–अड्की चल्ने इन्टरनेटबाट आक्रान्त छन् । ब्रोडब्यान्ड इन्टरनेटको बेन्चमार्क अमेरिकामा २५, दक्षिण कोरियामा २९ एबीपीएस हुँदा नेपाल तथा भारतको ५ सय १५ केबीपीएस मात्र हुनु यसैका प्रमाण हो । २०१६ मा इन्टरनेटको पिक कनेक्सन दर भारतमा २५ एमबीपीएस हुँदा सिंगापुरमा त्योभन्दा ६ गुना अधिक अर्थात् १ सय ४६ एमबीपीएस हुनु अर्को दृष्टान्त हो ।
डिजिटल दासता : दूरसञ्चार प्रविधिमा भएको विकासले बाबु–नानी कम्प्युटर खेलमा एकोहोरिँदा पढाइ बिग्रँदो छ । सामाजिक सञ्जालका कारण नवपुस्ता एकलकाँटे बन्दो छ । सबै थोक भर्चुअल प्लेसमा सबथोक पाउन सकिन्छ भन्ने सोचका कारण सिर्जनशीलता मर्दो छ । नयाँ पुस्ताद्वारा साइबर अपराधको हर्कत हुँदो छ । किशोरकिशोरीमा अश्लील चित्रको लत लाग्दो छ । थिंक ट्यांकसमेत डिजिटल दास बनिरहेका छन् । आज बाबु र छोरा, श्रीमान र श्रीमतीबीचको सम्बन्ध, रसरङ र भावना विशृंखलित हुँदो छ । स्मरण रहोस्, अहिले फेसबुकमा मात्र २ अर्ब मानिस अनुबन्धित छन् ।

सबल पाटाहरू
कृत्रिम बौद्धिकता :दूरसञ्चार प्रविधिमा भएको विकासका कारण ई–एजुकेसन, ई–बैंकिङ, ई–सपिङ, डिस्टेन्ट लर्निङ, भिडियो कन्फ्रेन्सिङ, टेलिमेडिसिन, अनलाइन सपिङ, भर्चुअल अफिस सम्भव भएको छ । उपभोक्ताले सञ्चारको उपयुक्त माध्यम छनौटको अवसर प्राप्त गरेका छन् । समय, पैसा, मसी र कागज बचत भएको छ । कार्यको गुणवत्ता र उत्पादकत्व अभिवृद्धि भएको छ । एन्ड्रोइड टेक्नोलोजी विकासका कारण आर्टिफिसियल इन्टेजेन्सी, भर्चुअल पर्चेज, भर्चुअल ट्राभल, गुगल क्लास, गुगल भिडिओ सम्भव भएको छ । ऊर्जा कम खपत गर्ने प्रविधि विकास हुँदा विश्वव्यापी ऊष्णता कम गर्न मद्दत मिलेको छ ।
क्लाउड प्रपर्टी :मोबाइल ब्रोडब्यान्डमा चलाउनु भनेको डाटाको सम्बन्ध क्लाउडसँग हुनु हो । अहिले क्लाउड सबथोक भएको छ । क्लाउडको उपयोग गर्न सक्ने व्यक्ति अर्बपति बनेका छन् । अहिले क्लाउडलाई कागजात बचाएर राख्ने सुरक्षा घरका रूपमा उपयोग गरिँदो छ ।
निःशुल्क एप्लिकेसन :फेसबुकमा आबद्ध हुन, युटुबमा भिडियो हेर्न, भाइबर, मेसेन्जरमार्फत कल गर्न, विकिपिडियाबाट कुनै कुराको जानकारी लिन र गुगलबाट जुनकुनै कुरा खोजी गर्न छुट्टै रकम वा शुल्क तिर्नु पर्दैन । इन्टरनेटको महसुल तिरे पुग्छ । इन्टरनेट र एप्लिकेसन फरक–फरक लागतका दूरसञ्चार प्रविधिहरू हुन् । इन्टरनेट वा इन्टरनेटजन्य कुनै एप्लिकेसनले उपलब्ध गराउने सूचना इन्टरनेटमा खर्चिने लागतको तुलनामा अति नगन्य छ ।
स्मार्ट विश्व: दूरसञ्चार प्रविधिले कठिनभन्दा कठिन कार्यलाई अटोमेसन तथा रोबोटाइजेन गरेको छ । दूरसञ्चार प्रविधिले विश्व स्मार्ट बन्दो छ । स्मार्ट सिटी, स्मार्ट एग्रिकल्चर, स्मार्ट इनर्जी, स्मार्ट ड्राइभिङ हाईब्रिड कार यसैको करामत हो । दूरसञ्चार प्रविधिमा भएको विकासले रोजगारीका नवीन अवसरहरू पैदा भएका छन् । यसैले दूरसञ्चार प्रविधिलाई अबको आर्थिक भविष्य ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस्